चितवन: गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुलजार बन्यो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो। महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसान बनेको छ।
रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए।
'महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन्,' उनले भने, 'सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ।'
रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उनले भने: एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो।
यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडाले बताए। मङ्सिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो। त्यसो त मङ्सिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो। जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताए। उनले भने:नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए।
महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ।
क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले एमाले नेता कार्यकर्ता सबै फर्किएपछि सौराहा सुनसान भएको बताए।
'सामान्य चहलपहल भए पनि महाधिवेशनमा अत्यधिक भीडभाड भएकाले अहिलेको उपस्थिति सामान्य लागेको छ।' उनले भने।
उनको भनाइमा सौराहामा दैनिक १० हजार नेता कार्यकर्ता बसेका थिए। जसले गर्दा कपाल काट्ने शैलुन, चिया पसलदेखि ठूला होटलसम्म सबैको व्यापार राम्रो भएको उनको भनाइ छ। उनले भने:सौराहामा मात्रै २० करोड रुपैयाँको व्यापार भएजस्तो लाग्छ।
महाधिवेशन अवधिमा एक अर्ब रुपैयाँ हाराहारीको कारोबार भएको पार्टीको मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले बताए।
पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ। देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै ५० करोड रुपैयाँ हाराहारी खर्च गरेको भन्दै उनले अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको बताए।
महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ। समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले दाबि गरे।