हेटौँडाः नेपाली कांग्रेसको पहिलो वाग्मती प्रदेश अधिवेशन मंसिर १६ (आज) बाट हेटौँडामा हुँदैछ। कांग्रेसको केन्द्रीय महाधिवेशनको केही समय अघि हुने वाग्मती प्रदेश अधिवेशनलाई कांग्रेसले महत्वपूर्ण ढंगबाट हेरेको छ।
केन्द्रीय अधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवाविरुद्ध सस्थापन इतरका सबै प्रतिस्पर्धी एक भइरहेको सन्दर्भमा वागमती प्रदेशमा पनि सोहि तस्बिर देखिने भएको हो। आज सस्थापन इतरको समूह अन्तर्गतको रामचन्द्र पौडेल समूहले नुवाकोट कांग्रेसका पूर्व सभापति जगदिश्वर नरसिंह केसीलाई उम्मेद्वार बनाएको छ भने कृष्णप्रसाद सिटौला समूहले भीमसेनदास प्रधानलाई सभापतिमा अघि सारेको छ। यता शेरबहादुर देउवा प्यानलबाट कांग्रेस मकवानपुरका सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँले उम्मेद्वारी घोषणा गरेका छन्।
यो पटक हुने अधिवेशनमा देउवा इतरका समूह एक हुने देखिएको भए पनि तीनजनाको उम्मेद्वारी घोषणापछि भिडन्त भने त्रिपक्षीय देखिएको हो। तर, अन्तिमसम्म सिटौला र पौडेल पक्षले एकजनामात्र उम्मेद्वार खडा गर्ने संभावना उच्च रहेको नेपाली कांग्रेसका एकजना नेताले बताए।
उनले भने ‘अहिले हेर्दा संस्थापन इतरको दुई उम्मेद्वार देखिएको भए पनि मनोनयन दर्ता गर्दासम्म त्यो एक मात्र हुने संभावना छ, नेताहरु आन्तरिक छलफलमै हुनुहुन्छ।’
नेपाली कांग्रेसको बागमती प्रदेश तहमा संस्थापन इतरको समूह बलियो देखिएकोले यो पटक इन्द्रबहादुर बानियाँलाई विजयी बन्नु फलामको चिउरा चपाउनु जस्तै भएको ती नेताको दाबि छ।
सस्थापन इतरको समूहबाट महामन्त्रीका उम्मेद्वार बनेका माईकल रामचन्द्र अर्याल पनि यो अधिवेशनबाट आफुहरु विजयी हुने बताउछन् । उनि भन्छन् ‘कांग्रेसको वर्तमान सभापति देउवा जि बाट कांग्रेसको भलो हुने देखिएन, त्यो आम कांग्रेसजनले बुझेका छन, तसर्थ यो पटक हाम्रो बागमती प्रदेशमा देउवा इतरको समूहले जित्ने विश्वास छ । ’