PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

कांग्रेस महाधिवेशनको निर्वाचनमा २९ वटा मतपत्र, एक जना प्रतिनिधिले भोट हाल्दा लाग्छ १ घन्टा!



पहिलोपोस्ट

कांग्रेस महाधिवेशनको निर्वाचनमा २९ वटा मतपत्र, एक जना प्रतिनिधिले भोट हाल्दा लाग्छ १ घन्टा!

काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशनमा नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतपत्र नै २९ वटा हुने बताइएको छ। कांग्रेस महाधिवेशनका प्रचार प्रसार संयोजक तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार मतदान गर्न एक प्रतिनिधिलाई एकघन्टा लाग्न सक्छ।

कांग्रेस महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा २५ गते हुँदैछ। महाधिवेशनमा ४ हजार भन्दा धेरै प्रतिनिधि सहभागी हुँदैछन्। बिहीवार झम्सिखेलमा पार्टी प्रवक्ता शर्माले दिएको जानकारी अनुसार इलेक्ट्रोनिक निर्वाचन हुने या नहुने तय भइसकेको छैन। 'यसबारे छलफल जारी छ। अहिलेसम्म कागजी मतदान नै हुने कुरा छ,' शर्माले भने।

मतदानका लागि भृकुटीमण्डप, महेन्द्र पुलिस क्लब र राष्ट्रिय सभामा स्थान तय गरिने उनले जानकारी दिए। 'उत्साह एकता र रुपान्तरण, सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन' लाई नारा बनाइएको छ। आज दिउँसो ४ बजे पार्टी सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको लोगो सार्वजनिक गर्ने छन्।

'२९ मतपत्र हुन्छ। एकजनालाई २० मिनेटदेखि एक घन्टासम्म समय लाग्न सक्छ मतदान गर्न,' शर्माले भने।

नेपाली कांग्रेसमा ८ लाख ४० हजार १ सय ६ क्रियाशील सदस्य रहेका छन्। यीमध्ये प्रदेश १ मा १ लाख ७४ हजार ८ सय १३, प्रदेश २ मा १ लाख ९ सय ९९, वाग्मती प्रदेशमा १ लख ८६ हजार ३ सय ३५, गण्डकी प्रदेशमा १ लाख १८ हजार १ सय ४५, लुम्बनी प्रदेशमा १ लाख ३१ हजार १ सय १७, कर्णाली प्रदेशमा ५३ हजार ५ सय ९६ तथा सुदूर पश्चिम प्रदेशमा ७५ हजार १ सय १ क्रियाशील सदस्य रहेको शर्माले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell