PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भाइरल बनेको हवाई जहाज धकेलेको दृश्य पछाडि यस्तो थियो कहानी



रासस

भाइरल बनेको हवाई जहाज धकेलेको दृश्य पछाडि यस्तो थियो कहानी

  • प्रेम रौले -

चारपाङ्ग्रे हलुका सवारीसाधनलाई मानिसहरुले धकेलेको त तपाईं हामी सबैले देखेका छौं। तर बुधवार बाजुराको कोल्टी विमानस्थलमा एउटा फरक दृश्य देखियो, यात्रुहरुले नै जहाज धकेलिरहेको।

जिल्लाको पूर्वी उत्तरी भेगको कोल्टी विमानस्थलमा यात्रु लिन गएका जहाज आकाशमा उडिरहेको थियो। यात्रु विमानस्थलमा जहाज आउन थालेपछि एयरपोर्टमा भरिन थाले तर विमानस्थलमा जहाज अवतरण गर्न सकिरहेको थिएन।

जहाज अवतरण गर्न नसक्दा यात्रु आत्तिन थालेका थिए। विमानस्थल खाली हुँदा पनि जहाज अवतरण गर्न नसक्नुको के कारण हुन सक्छ भन्ने यात्रु एकापसमा कुरा गर्न थालेका थिए। त्यसैबेला एक जना यात्रुले विमानस्थलतिर हेर्दै भने, 'विमानस्थलको बिचमा त हवाइजहाज राखिएको छ।' त्यो जहाज थियो तारा एयरलाइन्सको। जहाजको टायर पड्किएर धावनमार्गको बीचमा हुँदा अर्को जहाज अवतरण गर्न सकेको थिएन। जहाज अवतरण गर्न नसकेर धावनमार्गमा रहेको तारा एयरको ९ एन एभीइको जहाजलाई यात्रुले धकेलेर सुरक्षित स्थानमा राखेपछि अर्को जहाज अवतरण भएको थियो।

तारा एयरलाइन्सको उक्त जहाजको टायर पड्किएर बिच धावनमार्गमा रहेको र सो जहाजलाई यात्रुले धकेल्दै गरेको भिडियो र फोटो भाइरल बनेको छ। कोल्टीबाट धनगढी जाने यात्रु खगेन्द्र खड्काका अनुसार धावनमार्गमा राखिएको जहाजको टायर पड्कियो। जसले गर्दा अर्को जहाज उडाउन समस्या भएपछि धक्का लगाएर उक्त जहाजलाई साइड लगाएको उनले बताए। उनका अनुसार जहाजको पर्खाइमा रहेका यात्रु, सुरक्षाकर्मी र स्थानीयवासीको सक्रियतामा धावनमार्गमा टायर पड्किएर अरु जहाज अवतरणमा समस्या हुँदा धकेलेर अन्यत्र राखिएको हो।

धावनमार्गबाट जहाज हटाएपछि बुधबार नै अर्को जहाज चढेर धनगढी आइपुगिसकेको उनले बताए। जहाजलाई यात्रु, सुरक्षाकर्मी र स्थानीय मिलेर ट्याक्सी–वेबाट धकेलेर किनारा लगाएको खड्काको भनाइ छ। तारा एयर यति एयरलाइन्सको भगिनी कम्पनी हो। उक्त जहाजले हुम्लाको सिमकोटबाट ९ एन–एभीइ जहाज बाजुरा विमानस्थलमा अवतरण गरेको थियो। जहाज धावनमार्गबाट ट्याक्सी–वेमा पुगिसकेपछि पछाडिको टायर पड्किएको बताइएको छ। यस विषयमा बुझ्न कोल्टी विमानस्थलमा फोन गर्दा त्यहाँ सम्पर्क भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell