PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बार र न्यायाधीशको छलफलकै बिच प्रधान न्यायाधीशलाई फोन, जबराको जवाफ : कार्यवाहकको विवादमा नअल्झिउँ, भोलि मै आउँछु



पहिलोपोस्ट

बार र न्यायाधीशको छलफलकै बिच प्रधान न्यायाधीशलाई फोन, जबराको जवाफ : कार्यवाहकको विवादमा नअल्झिउँ, भोलि मै आउँछु

काठमाडौं : प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोरोना भाइरस संक्रमित भएर अहिले बलम्बुस्थि सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन्। उनको अनुपस्थितिमा कायममुकायम प्रधान न्यायाधीशको जिम्मेवारी कसको हो भन्ने विषयका कारण सर्वोच्चमा पेसी तोकिए पनि न्याय सम्पादन हुन सकेको छैन।

यसबिच सर्वोच्चका न्यायाधीश र नेपाल बार एशोसिएशनका पदाधिकारीबिच आज फेरि छलफल भएको थियो। बुधवार गोला प्रणालीबाट पेसी तोकेपछि इजलास बसेको थियो। तर, बारले कायम मुकायम प्रधान न्यायाधीश को हो? भन्दै प्रश्न उठाएपछि बेन्च बस्न सकेको थिएन। आज न्यायाधीश र बारको बैठकबाट पनि कुनै निष्कर्ष निकाल्न सकेन।

आजको बैठकमा बारले कायम मुकायमको विवाद नटुंगिएसम्म इजलासमा नबस्न न्यायाधीशहरुलाई आग्रह गरेको थियो। न्यायाधीशहरुले भने प्रधान न्यायाधीशको राजीनामा र इजलासलाई अलग रुपमा लिन बारलाई आग्रह गरेका थिए।

छलफलको बिचमा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधान न्यायाधीशलाई फोन गरी उनको स्वास्थ्य अवस्थाबारे बुझेका थिए। त्यसक्रममा जबराले 'कार्यवाहकको कुरामा नअल्झिन' भन्दै आफू अदालत आउने जवाफ दिएको स्रोतले बतायो। कार्कीले उनको स्वास्थ्य अवस्थाका अलावा जारी छलफलबारे पनि प्रधान न्यायाधीश जबरालाई ब्रिफ गरेका थिए।

'हरिकृष्ण श्रीमानले फोन गर्नुभयो। प्रधान न्यायाधीशले कार्यवाहकको कुरातिर नअल्झिउँ। भोलिबाट म आउँछु भन्नु भएछ,' छलफलमा उपस्थित बार एशोसिएशनका एक पदाधिकारीले भने।

संवैधानिक रुपमा प्रधान न्यायाधीशको अनुपस्थितिमा वरिष्ठ न्यायाधीश स्वत: कायम मुकायम हुने व्यवस्था छ। संविधानको धारा १२९ ले प्रधानन्यायाधीशको अनुपस्थितिमा कायम मुकायम के हुने व्यवस्था गरेको छ। यसअघि प्रधान न्यायाधीशको अनुपस्थितिमा कार्यवाहक तोक्ने र कार्यवाहक नतोकी स्वत: वरिष्ठ न्यायाधीश कार्यवाहक भएको नजिर समेत छ। तर, कायम मुकायम प्रधान न्यायाधीश को हुने भन्ने विवादमा न्यायलय फस्दा गोला प्रणालीबाट पेसी तोक्न सुरु गरिएपनि न्याय सम्पादनको कार्य सुरु हुन सकेको छैन।

प्रधान न्यायाधीशले 'भोलि आउँछु' भन्ने जवाफ फर्काएपछि नेपाल बार र सर्वोच्च बार छलफलमा जुटेका छन्। न्यायाधीशहरुले केही पेसीको इजलासमा बसेका छन्।

गोला प्रथाबाट आज १० इजलास गठन भएका छन्। तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell