PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

राप्रपाको नजरमा अन्य राजनीतिक दल: कांग्रेस र कम्युनिस्टमा सैद्धान्तिक विचलन, राजसंस्था गणतन्त्र पक्षधरलाई पनि मान्य हुने



पहिलोपोस्ट

राप्रपाको नजरमा अन्य राजनीतिक दल: कांग्रेस र कम्युनिस्टमा सैद्धान्तिक विचलन, राजसंस्था गणतन्त्र पक्षधरलाई पनि मान्य हुने

काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालका ठूला राजनीतिक शक्तिमा सैद्धान्तिक विचलन आएको आरोप लगाएको छ। पार्टीको एकता महाधिवेशनमा राप्रपाका एक अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदनमा यस्तो आरोप लगाइएको छ।

‘नेपालका दुई प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूको जन्म भारतीय भूमिमा भएको हो,’ प्रतिवेदनमा भनिएको छ, ‘नेपालका राजनीतिक दलका नेताहरूले भारतमा तत्काल प्रचलित विचार र दर्शनलाई सात सालको परिवर्तनपछि नेपालमा भित्राउने काम गरे। भारतले युरोपबाट शासन प्रणाली र विचारलाई कपी गर्‍यो। अनि हामीले भारतले पश्चिमबाट साभार गरेको प्रणाली र सिद्धान्तको कपीको पनि कपी गर्‍यौँ।‘

विश्वमा प्रजातन्त्र र उदार खुला बजारमुखी आर्थिक व्यवस्था एक अर्काका परिपूरकका रूपमा स्थापित भइसकेको अवस्थामा नेपालका कांग्रेस र कम्युनिस्ट दुवै दलहरू यो विश्वव्यापी राजनीतिक र वैचारिक संक्रमणलाई आत्मसात् गर्न नसकेकोसमेत प्रतिवेदनमा आरोप लगाइएको छ।

‘कथित समाजवाद र साम्यवादको ‘ब्रान्ड’ को मोह पनि त्याग्न नसक्ने अनि नयाँ र परिवर्तित मान्यतालाई पनि खुला हृदयले अंगीकार गर्न नसक्ने द्वैध मानसिकताको सिकार भएका छन् कांग्रेस र कम्युनिस्ट पार्टीहरू,’ प्रतिवेदनमा भनिएको छ, ‘अझ स्पष्ट भन्ने हो भने यही द्विविधाको परिणामस्वरूप यी दुवै दलहरूमा व्यापक सैद्धान्तिक विचलन कायम भएको छ। प्रमुख राजनीतिक दलहरूको वैचारिक विचलनले समेत देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणको कार्यमा नकारात्मक प्रभाव पारेको छ।‘

नेपालका कांग्रेस कम्युनिस्टमा सैद्धान्तिक विचलन आएसँगै राप्रपाको काँधमा महत्त्वपूर्ण जिम्मेवारी आएकोसमेत प्रतिवेदनमा भनिएको छ।

‘सुरुदेखि नै धर्म निरपेक्षता, गणतन्त्र र संघीयताको विचार र बाटो गलत भएको मान्यता राख्ने दल भएको नाताले पनि अहिले विकल्पको खोजी हुन लागेको अवसरमा राप्रपाले सर्वस्वीकार्य वैचारिक अवधारणा र शासन प्रणालीको प्रस्ताव नेपाली जनतासमक्ष प्रस्तुत गर्न सक्नु पर्दछ,’ प्रतिवेदनमा भनिएको छ, ‘यस जिम्मेवारी बोध गर्दै राप्रपाले नेपाली संस्करणको मौलिक प्रजातन्त्र र राष्ट्र निर्माणको वैकल्पिक बाटो जनसमक्ष प्रस्तुत गरेको छ। परिवर्तनकारी शक्ति र विचार एवं परम्परागत शक्ति र विचार बिचको समान्जस्यता र समन्वय नै राप्रपाद्वारा प्रस्तुत विकल्पको सार हो।‘

प्रतिवेदनमा कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राज्य व्यवस्था, शासकीय स्वरूप र संरचना राप्रपाले दिएको विकल्पको मूल विशेषता भएको बताइएको छ। ‘राष्ट्रियता, प्रजातन्त्र र उदारवादको वृहत् चिन्तनमा आधारित “सम्वर्द्धनवाद”को दर्शन राप्रपाको वैकल्पिक मार्गचित्र र अवधारणाको श्रोत हो,’ प्रतिवेदनमा भनिएको छ।

राप्रपाले निरन्तरतासहितको परिवर्तनलाई ‘सम्वर्द्धनवाद’को मुख्य विशेषता भनेको छ। ‘निरन्तरताको जगमा खडा भएको परिवर्तन मात्र टिकाउ हुन्छ। हामी अहिले जुन विशाल वृक्ष देख्दछौँ त्यो एक सूक्ष्म बीजको विकसित रूपान्तरण हो,’ प्रतिवेदनमा भनिएको छ, ‘मार्क्सवादी, साम्यवादी र आफूलाई क्रान्तिकारी भन्न रुचाउनेहरू क्रमभंगताको चर्चा गर्छन्। क्रमभंगता वा छलाङ मार्ने सोच प्रकृतिको सामान्य नियम विपरीत छ। त्यस्तो सोचले समाजमा अस्थिरता र अराजकता सिर्जना गर्दछ। त्यस्तो सोचबाट निसृत विषय, प्रसंग, मान्यता वा संरचना टिकाउ हुँदैन।‘

राप्रपाले निरन्तरतासहितको परिवर्तन भन्दै राजसंस्थासहितको लोकतन्त्रको वकालत गरेको छ। ‘विगत बाह्र वर्षको देशको घटनाक्रम तथा राजनैतिक अभ्यासबाट समेत राप्रपाले लिएको राजासहितको प्रजातन्त्रको औचित्यलाई बारम्बार पुष्टि गरी रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘राजादेखि माओवादी लगायतका सबै पक्ष, वर्ग र समुदाय अटाउने सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास नै वर्तमान समयको आवश्यकता हो र त्यो सम्भव छ भन्ने राप्रपाको दृढ विश्वास रहेको छ।‘

थापाले प्रस्तुत गरेको प्रतिवेदनमा सार्वभौमसत्ता जनतामा निहीत रहने, देशको शासन जनताबाट निर्वाचित प्रनितिनिधिहरुले गर्ने तथा संसद्को परिधि र नियन्त्रण अन्तर्गत राष्ट्रियता र सांस्कृतिक एकताको प्रतीकको रूपमा संवैधानिक राजसंस्था रहने मान्यतालाई राप्रपाले आत्मसात् गर्ने उल्लेख छ।

‘२०६२/६३ को जनआन्दोलन पछिको परिवर्तन एवं नेपालको संविधान जारी भएपश्चात् नेपाल वैधानिक रूपमा गणतन्त्रमा प्रवेश गरेको तथ्यप्रति पनि राप्रपा सचेत रहेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘त्यसर्थ, अबको राजसंस्था परिवर्तनका पक्षधरहरूलाई समेत चित्त बुझ्ने सहमति र सम्झौताको साझा संस्था हुनेछ।‘



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell