PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमआरपीका लागि टोकन वितरण बन्दः अब ई-पासपोर्ट मात्र जारी गरिने, कहाँबाट लिँदा कति लाग्छ दस्तुर?



विधुर ढकाल

एमआरपीका लागि टोकन वितरण बन्दः अब ई-पासपोर्ट मात्र जारी गरिने, कहाँबाट लिँदा कति लाग्छ दस्तुर?

काठमाडौँ: राहदानी विभागले विद्युतीय राहदानी वितरणलाई अगाडि बढाउँदै मेसिन रिडेवल पासपोर्ट (एमआरपी) वितरण रोक्ने भएको छ। 

विभागले मंसिर १५ गतेदेखि एमआरपीका लागि टोकन वितरण बन्द गरेको छ। 

यद्यपि, यसअघि नै एमआरपीको लागि टोकन लिइसकेकाको हकमा भने विद्युतीय राहदानीका लागि निवेदन दिनुपर्ने छ। 

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ। १६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरुको हकमा राष्ट्रिय परिचयपत्र आवश्यक पर्ने विभागका प्रवक्ता शरदराज आरनले जानकारी दिए। 

विदेशबाट निवेदन दिने र १६ वर्ष मुनिका नागरिकको हकमा भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन।

हाल सबैको हकमा राष्ट्रिय परिचयपत्र उपलब्ध नभएको अवस्थामा जुनसुकै जिल्ला प्रशासन कार्यालयहरुमा राष्ट्रिय परिचयपत्रका लागि निवेदन दिन सकिने व्यवस्था गरिएको छ। निवेदन दिनासाथ परिचयपत्र प्राप्त नभए पनि निवेदन दिँदा प्राप्त गरेको परिचयपत्र नम्बर भएमात्र पनि विद्युतीय राहदानी बनाउन सकिने विभागले जनाएको छ। 

यद्यपि, एमआरपी बहाकको हकमा नयाँ विद्युतीय राहदानी बनाउन तत्काल भने आवश्यक छैन। विद्युतीय राहदानी लागू भएपछि एमआरपीले पनि काम दिन्छ। आइकाओले एमआरपी प्रयोग हुने अन्तिम मिति घोषणा गरिसकेको छैन। 

विद्युतीय राहदानीका लागि आवेदन फारम अनलाइनबाट नै भर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा तपाईँको हातमा एमआरपीभन्दा आधा समय अगावै पर्छ। तपाईँले राहदानीको आवेदन घरबाटै भरेर दस्तुर तिरेर राहदानी लिन आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरु र विदेशस्थित नियोगमा जान सकिने विभागले जनाएको छ।

विश्वमा हाल चलेको सबैभन्दा सुरक्षित र भरपर्दो विद्युतीय राहदानी नै हो। यो राहदानी बहाकले विद्युतीय गेटहरुमा पनि आफैँ स्क्यान गरेर जान सक्छन्। लाइभ इन्‍रोलमेन्ट गर्नुपर्ने हुनाले एमआरपी जस्तै तस्विरहरु नमिलेर दु:ख पाउने अवस्था पनि यसले अन्त्य गरेको छ।

कति लाग्छ विद्युतीय राहदानीका लागि?

विद्युतीय र मेसिन रिडेबल राहदानीहरुको दस्तुर एउटै रहेको विभागले जनाएको छ। 

६६ पृष्ठको साधारण राहदानीको दस्तुर भने फरक छ। विभागमा पहिले १ दिने २ दिने र ३ दिने सेवा भएकोमा हाल संशोधित राहदानी नियमावली अनुसार विभागले दुई कार्य दिनभित्र जारी हुने गरी एउटै द्रुत सेवा कायम गरेको छ। 

दुई दिनमा लाग्ने गरेको साविककै १२ हजार दस्तुर कायम गरिएको छ। 

त्यस्तै, जिल्ला प्रशासन कार्यालयहरुमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीको लागि साविककै पाँच हजार र ६६ पृष्ठको लागि दश हजार राजश्व तिरे पुग्छ। 

विभागमा ६६ पृष्ठको राहदानीको लागि निवेदन दिँदा बीस हजार राजश्व लाग्छ। विदेशस्थित कूटनीतिक नियोगहरुमा छुट्टाछुट्टै दस्तुर तोकिएको छ। 

मलेसिया, कतार, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, लेवनान, इराक इरान कुबेत इजरायल सिरिया जोर्डन ओमान र यमनस्थित नियोग र सो नियोगको सहप्रमाणीकृत मुलुकको लागि ३४ पृष्ठको राहदानीका लागि ५० र ६६ पृष्ठ राहदानीका लागि १०० डलर बराबरको स्थानीय मुद्रा लाग्ने छ। 

त्यस्तै, उत्तर र दक्षिण अमेरिकी महादेश अन्तर्गतका देशहरु, अष्ट्रेलिया न्यूजिल्याण्ड जापान दक्षिण कोरिया र हङ्कङस्थित नेपाली नियोगमा निवेदन दिँदा ३४ पृष्ठको राहदानीका लागि एक सय ५० अमेरिकी डलर र ६६ पृष्ठको लागि दुई सय अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्ने छ। 

त्यस्तै, रुसी महासंघ नेपाली दूतावास मस्कोको सहप्रमाणीकृत मुलुक र साइप्रसका लागि ३४ पृष्ठको ८० युरो र ६६ पृष्ठको १३० युरो वा सो बराबरको स्थानीय मृद्रा लाग्ने छ। 

रुस र साइप्रसबाहेक युरोपेली देशस्थित नेपाली नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको हकमा १२० युरो र ६६ पृष्ठको हकमा १७० युरो वा सो बराबरको स्थानीय मुद्रा लाग्ने राहदानी पहिलो संशोधन नियमावली २०७८ मा उल्लेख छ। 

माथि उल्लेखित देश बाहेकका अन्य एसियाली, अफ्रिकी र बाँकी सबै देशस्थित नियोगमा निवेदन दिँदा प्रति राहदानी ३४ पृष्ठको ८० अमेरिकी डलर र ६६ पृष्ठको १३० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्ने छ। 

राहदानी हराएको, पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानी प्रयोग हुन नसक्ने भएमा नियोगबाट नयाँ राहदानी लिनुपर्दा साविकको दस्तुरको दोब्बर रकम लाग्ने नियमावलीमा उल्लेख छ। 

त्यस्तै, १० वर्षभन्दा कम उमेरका नाबालकको हकमा राहदानीको नियोगहरुमा निवेदन दिँदा साविकको दस्तुरको आधा रकम लाग्ने छ। १० वर्षभन्दा कम उमेरका नाबालकहरुको राहदानीका लागि विभाग वा जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदा ३४ पृष्ठको नौ हजार ५०० र ६६ पृष्ठका लागि १४ हजार ५०० रुपैयाँ दस्तुर लाग्ने छ। 

विभागले जारी गर्ने यात्रा अनुमतिपत्रको विभागबाट लिनेको हकमा चार हजार रुपैयाँ र नियोगबाट लिनेको हकमा ५० अमेरिकी डलर लाग्ने छ।

त्यस्तै, सिम्यान्स पासपोर्टका लागि १२ हजार रुपैयाँ लाग्ने छ। नियोगबाट लिँदा १२० डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्ने छ। नियोगबाट अस्थायी राहदानी लिनका लागि ५० अमेरिकी डलर वा सो बराबरको स्थानीय मुद्रा लाग्ने नियमावलीमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell