PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भुसाल-पोखरेल सम्बन्धको तगारो : यसकारण शंकरसँगको लडाइँबाट पछि हटे भुसाल



प्रकाश भण्डारी

भुसाल-पोखरेल सम्बन्धको तगारो : यसकारण शंकरसँगको लडाइँबाट पछि हटे भुसाल

काठमाडौं : नेकपा एमालेका नेता शंकर पोखरेल दशौं महाधिवेशबाट महासचिव चुनिएका छन्। महासचिवको दौडमा उनी अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परे। निर्वाचन भए पनि पोखरेललाई कसैले टक्कर दिएन। उनी यसमा भाग्यमानी नै सावित भए र निर्विरोध चुनिए।

उनले ५ वर्षे कार्यकाल सम्हालिरहँदा उनका मित्र घनश्याम भुसाल भने उपाध्यक्षमा समेत पराजय भोग्न वाध्य भए। पूर्व माओवादी पृष्ठभूमिका र एमालेको १० बुँदे सहमतिबाट आएका अरु नेताले लोकप्रिय मतका साथ एमालेको नवनिर्वाचित पदाधिकारीमा इन्ट्रीमार्दा भुसाल 'आउट' भए। उनको मत ७२५ थियो।

भुसाल-पोखरेल सम्बन्ध

निर्विरोध महासचिव बनेका पोखरेल र उपाध्यक्षमा पराजित भुसालको मित्रता नौलो होइन। दुवै विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा आएका नेता हुन्। उनीहरुको पृष्ठभूमिमा खासै अन्तर छैन। तर, बैचारिक हिसाबमा भने ठीक विपरीत दिशामा देखिएका छन् दुवै।

विद्यार्थी राजनीतिबाट उदाएका यी दुई पुरान मित्र कुनैबेला विद्यार्थीको एउटै मोर्चामा थिए। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को पोखरेल उपाध्यक्ष हुँदा महासचिव थिए, भुसाल। २०४६ सालको आन्दोलनमा विद्यार्थीबाट नेतृत्व गर्दै पोखरेल-भुसाल आन्दोलनमा होमिएका थिए। तर, पछि उनीहरु बिच वैचारिक मतभेद देखियो। भुसाल तत्कालीन मालेका नेता सीपी मैनालीको र पोखरेल मदन भण्डारीको कित्तामा उभिन पुगे। त्यसैले एमाले वृत्तमा पोखरेल जनताको बहुदलीय जनवादका 'ब्याख्याता'भनेर पनि प्रचार गर्छन् उनी निकटतमहरु। त्यसयता उनीहरुको बैचारिक लाइन भने भिन्न छ।

पोखरेल जहिले संस्थापनतिरै

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी र एमाले विभाजन अघिको अन्तरसंघर्षमा पनि यी दुई नेता फरकफरक कित्तामा थिए। भुसाल तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको समूहमा रहँदा पोखरेल अध्यक्ष ओलीको कोर टिममा रहिरहे।

समूह फरक भए पनि त्यतिबेला उनीहरु बिच केही समानता चाहिँ थिए। ओली सरकारका बेला भुसाल मन्त्री भए, पोखरेल लुम्बिनीको मुख्यमन्त्री। एउटै पार्टीमा उतारचढावपूर्ण सम्बन्धमा रहेका भुसाल-पोखरेल हाल पनि एकै पार्टीमा छन्। फेरि पनि कित्ता भने फरक - भुसाल ओली इतर, पोखरेल ओलीका विश्वासपात्र। दशौं महाधिवेशनमा कुनै पनि हालतमा निर्वाचन गर्न नहुने अडानमा पोखरेल लाग्दा भुसाल भने निर्वाचनको पक्षमा उभिए - हार्ने अधिकार पाउँ भन्दै। र, पराजयलाई सहर्ष स्वीकारे।

पोखरेल दशौं महाधिवेशनका बेलामा मात्रै संस्थापनको पक्षमा उभिएका भने होइनन्। विद्यार्थीकालको राजनीतिदेखि नै उनी संस्थापनको रोजाइमा छन्। अनेरास्वीयूमा पोखरेल उपाध्यक्ष हुँदा उनलाई संस्थापन पक्षले साथ दिएपछि भुसाल विद्यार्थी राजनीतिबाट बाहिरिएका थिए।

'हामी विद्यार्थी राजनीतिमा सँगै थियौँ। शंकरजी र म एउटै कमिटीमा रहेर काम गरेका हौँ। तर, पछि अनेरास्ववीयूको नेतृत्व छनोटमा पार्टीले हस्तक्षेप गरेपछि म विद्यार्थी राजनीतिबाट बाहिरिएँ,' भुसालले एक भेटमा सुनाएका थिए।

भुसालसँग पराजित पोखरेलको भाग्य

एमालेको नवौं महाधिवेशनमा प्यालनगत रुपमा प्रतिस्पर्धा भएको थियो। माधव नेपालको प्यानलबाट उपमहासचिवको उम्मदेवार भुसाल थिए भने अध्यक्ष ओलीको तर्फबाट पोखरेल। निर्वाचनमा भुसालसँग पोखरेल पराजित भए। अध्यक्षमा भने ओलीले नेपाललाई पराजित गरे। बहुमत ओली पक्षमा थियो। तर, बैचारिक लाइन भने भुसालको पास भएको थियो। नेकपा एमालेको संकट त्यहीँबाट सुरु भएको मान्छन् भुसाल।

'विचार एउटाको र नेतृत्व अर्कैको भएपछि समस्या सिर्जन भयो,' एमाले विवादका बेलामा भुसालले भन्ने गरेका थिए। भुसालसँग पराजित पोखरेल ओलीसँग भने कहिल्यै टाढा भएनन्। त्यसैको लाभ पनि हुनुपर्छ उनी लुम्बिनीको मुख्यमन्त्री बने। अहिले एमालेको महासचिव। भुसाल भने माधव नेपालको बलमा कृषीमन्त्री बन्न पाए। त्यसबाहेक एमाले नेतृत्वको रोजाइमा परेनन्। यतिसम्म कि ओलीले ३०१ जनाको केन्द्रीय कमिटीको सूची बन्दसत्रको हलमा प्रस्तुत गर्दा केन्द्रीय कमिटीमै सीमित रहे उनी। पदाधिकारीमा ओलीले बाइपास गरे। ओलीले उनलाई उप महासचिव प्रस्ताव नगरेका होइनन्। यतिमात्रै हो कि उनले ओलीको हातबाट टीका लगाउन चाहेनन्।

यसकारण पछि हटे भुसाल

भुसाल उपमहासचिव भएकाले धेरैको अनुमान थियो दशौं महाधिवेशनमा महासचिवको उम्मेद्वार हुन्छन्। त्यसको आकांक्षा भुसालले नराखेका पनि होइनन्। तर, परिस्थिति यस्तो बन्यो कि उनी पदाधिकारीको कुनै पनि पदमा जित्ने ठाउँ थिएन।

'यो मेरो 'पर्सनल च्वाइस' पनि हो, म शंकरजीसँग पराजित हुन चाहँदैन थिएँ। त्यसैले महासचिवमा स्वभाविक रुपमा उठिन,' भुसालले आफू निकट नेताहरुलाई दशौं महाधिवेशनको निर्वाचनपछि भनेका थिए। पोखरेल आफूसँग पराजित भएको नेता भएकाले उनीसँगै लडेर हार बेहोर्न चाहँदैन थिए उनी। पोखरेलको विचारभन्दा भिन्न वैचारिक लाइनको नेतृत्व गर्ने भुसाल अहिले पनि ओलीको खरो आलोचक हुन्। त्यसैकारण आफू पदाधिकारीमा नपर्ने निश्चिन्त भएपछि भुसाल महासचिवको लडाइबाट पछि हटेका थिए। उपाध्यक्षमा पराजित भएपछि एमालेको एउटा फरक वैचारिक धारको नेतृत्व गर्ने भुसाल केन्द्रीय कमिटीमा सीमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell