PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लिगमा आजबाट तेस्रो चरणका खेल, आजको पहिलो खेलमा थ्री स्टारलाई फ्रेन्ड्स क्लबको चुनौती



पहिलोपोस्ट

लिगमा आजबाट तेस्रो चरणका खेल, आजको पहिलो खेलमा थ्री स्टारलाई फ्रेन्ड्स क्लबको चुनौती
सातदोबाटो युथ क्लबसँग प्रतिस्पर्धा गर्दै थ्री स्टारका खेलाडी (बायाँ)। फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट तेस्रो चरणका खेल सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुँदैछन्। पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेको थियो। अंकतालिकामा थ्री स्टार ३ अंक जोडेर सातौं स्थानमा छ।

त्यस्तै उद्घाटन खेलमा सातदोबाटो युथ क्लबसँग बराबरी खेलमा फ्रेन्ड्स क्लबले दोस्रो खेलमा संकटा क्लबसँग पराजय ब्यहोरेको थियो।

अंकतालिकामा फ्रेन्ड्स १ अंक जोडेर १० औं स्थानमा छ। खेल दिउँसो १ बजे सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा (पौने ५) सातदोबाटो युथ क्लब र एपीएफ भिड्ने छन्। ए डिभिजनको नवप्रवेशी सातदोबाटोले लिगमा राम्रो प्रदर्शन गर्दै आएको छ। पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग बराबरीमा रोकिएको सातदोबाटोले दोस्रो खेलमा उपाधि दाबेदार मानिएको थ्री स्टार क्लबलाई हराएको थियो। सातदोबाटो अंकतालिकामा ४ अंक जोडेर छैटौं स्थानमा छ।

अर्कोतर्फ एपीएफको प्रदर्शन भने राम्रो छैन। एपीएफले यसअघिका दुबै खेलमा पराजय ब्यहोरेको छ। पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबसँग पराजय ब्यहोरेको एपीएफले दोस्रो खेलमा च्यासल युथ क्लबसँग पराजय ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell