PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

थ्री स्टारसँग अंक खोस्ने पक्षमा छौं : फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र



पहिलोपोस्ट

थ्री स्टारसँग अंक खोस्ने पक्षमा छौं : फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्र

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको आजको पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लब भिड्दै छन्।

पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग पराजय ब्यहोरेको थियो। अंक तालिकामा थ्री स्टार ३ अंक जोडेर सातौं स्थानमा छ।

त्यस्तै उद्घाटन खेलमा सातदोबाटो युथ क्लबसँग बराबरी खेलमा फ्रेन्ड्स क्लबले दोस्रो खेलमा संकटा क्लबसँग पराजय ब्यहोरेको थियो। फ्रेन्ड्स क्लब १ अंक जोडेर तालिकाको दशौं स्थानमा छ।

आजको खेलमा थ्रीस्टारसँग अंक खोस्ने लक्ष्य रहेको फ्रेन्ड्स क्लबका प्रशिक्षक मृगेन्द्र मिश्रले बताए।

'अस्तिको म्याचपछि तयारी गरेका छौँ। मेन स्ट्राइकरलाई चोट भएको छ। अब प्रतिस्पर्धा थ्री स्टारसँग छ,' तेस्रो चरणको खेलअघि सञ्चारकर्मीसँग मिश्रले भने, 'म पहिला थ्री स्टार खेलाडी पनि हुँ र कोच पनि हुँ। स्ट्रङ टिम छ। हामी जसरी पनि प्वाइन्ट खोस्ने पक्षमा छौं।'

उनले अगाडि भने : हाम्रोमा स्टार खेलाडी छैनन्। तैपनि राम्रै खेलिरहेको छ जस्तो लाग्छ।

त्यस्तै थ्री स्टारका प्रशिक्षक रवीन्द्र सिलाकारले फ्रेन्ड्स क्लबसँगको खेलका लागि रणनीति बनाइसकेको भन्दै खेलाडीको फिटनेस राम्रो भएको बताए।

'लगभग तयार छ। फिटनेस लेभलमा छ। रणनीति पनि बनाइसकेको छ,' दोस्रो खेलको पराजयले उपाधि होडमा पार्न सक्ने प्रभावबारे  शिलाकारले भने, 'सुरुका खेल हुन्। अंकतालिका एभरेजमा छ। अरु टिमको पनि खुस्किन सक्छ। त्यो खेलले पनि प्रभाव पार्ला जस्तो लाग्दैन।'

उनले थपे : प्रतिद्वन्द्वी कमजोर हुँदैन। खेलाडीलाई पनि यही भनेर तयारी गरिरहेका छौं।

थ्री स्टार र फ्रेन्ड्स क्लब आज दिउँसो १ बजे दशरथ रंगशालामा आमनेसामने हुनेछन्। त्यस्तै आज हुने दोस्रो खेलमा एपीएफ र सातदोबाटो युथ क्लब पौने ५ बजे प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell