काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। यस पूर्व कांग्रेसले केही बाहेक सबैजसो प्रतिनिधि सभा क्षेत्रको अधिवेशन सकाएको छ।
यद्यपि १६ जिल्लाको अधिवेशन भने केन्द्रीय महाधिवेशनपछि गर्ने गरी स्थगित गरिएको पार्टीको निर्वाचन समितिले जनायो। महाधिवेशनको मुल आधार प्रतिनिधि सभाको अधिवेशन हो। यहीबाट महाधिवेशन प्रतिनिधि चुनिएर आउँछन्।
वडा अधिवेशन हुँदै कांग्रेस अहिले प्रदेश अधिवेशनमा आइपुगेको छ।
यसरी विभिन्न तहमा कुन पदमा कसरी चुनिएर आए त?
यसबारेमा कांग्रेस सूचना तथा प्रविधि विभागले बिहीवार डाटा प्रस्तुति दिएको छ।
कांग्रेसमा हालसम्म एक लाख ५० हजार पदको परिणाम आइसकेको कांग्रेसले जनाएको छ।
जसमा एक लाख ४१ हजार ४२ जना सर्वसम्मत चुनिएर आएको कांग्रेसले गठन गरेको एनसी विनका संयोजक दिपेश विष्टले जानकारी दिए। वडादेखि जिल्लासम्म भएको अधिवेशनबाट ८ हजार ४७४ जना भने निर्वाचन प्रक्रियबाट निर्वाचित भएर आएका छन्।
जसमा खस आर्य समूहबाट ६८ हजार ८३२ नेतृत्वमा आएका छन्। कांग्रेसको विभिन्न तहमा आदिवासी जनजातिबाट ४१ हजार २५६ नेतृत्वमा आएका छन्। यसैगरी थारुमा ५ हजार ८२७ र महिला ४३ हजार ३५७ जना नेतृत्वमा आएका छन्। अपांगता भएका १८६४ जना विभिन्न तहको नेतृत्वमा आएको कांग्रेसले जनाएको छ।