PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

देवघाटमा शतबीज छर्नेको भीड



रासस

देवघाटमा शतबीज छर्नेको भीड
बालाचतुर्दशीका दिन शुक्रबार शतबीज छर्न डुङ्गामा देवघाटधाम आएका भक्तजन । तस्बिरः कृष्ण आचार्य/रासस

चितवन: बालाचर्तुदशी पर्वका अवसरमा देवघाटधाममा शतबीज छर्ने भक्तजनको भीड रहेको छ। कोरोना त्रासका कारण अघिल्ला दुई वर्ष न्यून सङ्ख्यामा मानिस आएको भए पनि यस वर्ष ठूलो भीड लागेको हो।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेका अनुसार बिहीबार दिउँसोबाट देवघाटमा भक्तजन आउन थालेका हुन्। रातभर दियो बालेर जाग्राम बसी आज बिहान ३ बजेदेखि स्नान गरेर शतबीज छर्न थालिएको हो। उनका अनुसार तनहुँतर्फ मणि मुकुन्दसेन चक्रवर्ती पार्कमा शतबीज छर्नका शतबीज मार्ग व्यवस्थापन गरिएको छ। चितवनतर्फ वन क्षेत्रमा पनि भक्तजनले शतबीज छरेका छन्।

यकिन तथ्याङ्क नहुने भए पनि ५० हजार हाराहारी भक्तजन देवघाट आएको अनुमान गरिएको घिमिरेले जानकारी दिए। यो सङ्ख्या पछिल्ला वर्षको सबैभन्दा बढी हो। दिवङ्गत परिवारका सदस्यहरूको सद्गतिको कामना गर्दै बालाचतुर्दशीमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, गहुँ, जौँ, हलेदो, सक्खरखण्डलगायत चिजबीज छर्ने परम्परा छ।

आजका दिन देवघाटधामको त्रिशूली र कालीगण्डकीको सङ्गम वेणीमा शतबीज छर्नाले दिवङ्गत आत्माले शिवलोकमा बास पाउने शास्त्रीय मान्यता रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell