
काठमाडौं : बिहीवार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको माहोल फरक थियो। 'ए' डिभिजन लिगका टोलीका प्रशिक्षकहरु लिगको विश्लेषण सम्बन्धि तालिम (इनस्टाट)का लागि एन्फा कम्प्लेक्स पुगेका थिए। बिहीवार नै तेस्रो चरणको ए डिभिजन लिगको खेलका लागि पत्रकार सम्मेलन पनि थियो। र, रेफ्रीहरु पनि एन्फा पुगेका थिए राजीनामाका लागि।
उनीहरुले एन्फा महासचिव इन्द्रमान तुलाधरसँग भेटेर 'राजीनामा गरिपाउँ' भन्ने विषय रहेको निवेदन दिए। अध्यक्ष कर्माछिरिङ शेर्पा पनि कार्यालयमै थिए। राजीनामा दिने रेफ्रीहरुमा फिफा रेफ्री नविन्द्र महर्जन, कविन ब्यन्जनकार, प्रकाशनाथ श्रेष्ठ, प्रज्वल क्षेत्री तथा फिफा सहायक रेफ्रीहरु नानीराम ब्यन्जनकार, माधव खत्री, युनाल मल्ल, सहदेव श्रेष्ठ, विक्रम चौधरी, किशन यादव रहेका छन्।
रेफ्रीहरुको राजीनामा आइरहँदा एन्फा नेतृत्व फिटनेस टेस्ट फिफाको नियम अनुसार नै भएको भन्ने तर्क गरिरहेको थियो।
'उपरोक्त सम्बन्धमा हामी फिफा रेफ्रीहरु तथा फिफा सहायक रेफ्रीहरु संयुक्त रुपमा राजीनामा दिने तथा हामीले हाल चलिरहेको कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा सहभागी हुन नसक्ने जानकारी गराउँछौं,' उनीहरुको राजीनामा भनिएको छ।
यद्यपि, लिग सञ्चालनमा समस्या नहुने एन्फा महासचिव इन्द्रमान तुलाधरले पहिलोपोस्टलाई बताए। 'लिगलाई फरक पर्दैन। छलफल गर्दै जाने कुरा भएको छ। लिग चाहिँ नरोक्ने भनिएको छ,' उनले भने।
रेफ्रीहरुसँग एन्फा नेतृत्वले बिहीवार रातिसम्म बैठक गरेको थियो। जसमा लिग नरोक्ने तर विवादको बारेमा गहन अध्ययन गरेर फेरि केही दिनमै बैठक बस्ने निर्णय भएको बताइएको छ।
किन भइरहेको छ विवाद?
विवादको एउटा कारण रेफ्रीहरुले एन्फाले अगस्टमा नियुक्त गरेको रेफ्री डिरेक्टर गौतम कौरलाई देखाइरहेका छन्। एन्फाको अफिसियल साइटमा जनाइएअनुसार ४० वर्षे रेफ्रीको अनुभव रहेको पूर्व फिफा रेफ्री कौरलाई एन्फाले रेफ्री इन्स्ट्रक्टरका रुपमा भित्र्याएको हो। उनले यसअघि भारत र भुटानमा पनि रेफ्री डाइरेक्टरका रुपमा काम गरिसकेका छन्। त्यस्तै, उनी म्याच कमिसनर पनि भएको र उनले म्याच कमिसनरको पनि तालिम दिने एन्फाले जनाएको छ।
उनको नियुक्तिले नेपाली रेफ्रीहरु भने चिडिएका छन्। रेफ्रीहरुका अनुसार उनको हेपाहा व्यवाहारले उनीहरुलाई आजित बनाएको हो। यद्यपि, एन्फा नेतृत्वले भने सिस्टम बनाउन खोजेको तर्क गरिरहेको छ। उता रेफ्रीहरुको तर्क फरक छ। उनीहरु खासगरी एन्फा अध्यक्ष शेर्पा र डिरेक्टर कौरको ब्यवाहारले राजीनामा दिन बाध्य हुनुपरेको तर्क गरिरहेका छन्।
एन्फाका केही पदाधिकारीको तर्क भने फरक छ। उनीहरु भन्छन् - रेफ्रीको सिण्डिकेटमा धावा बोल्दा यस्तो भएको हो।
'हामीमाथि एन्फा अध्यक्षज्यूले गर्नुभएको व्यवाहार र रेफ्री डिरेक्टरको अपमानजनक व्यवहारको विरुद्धमा गएका हौं। हामीले लिगको दौरान फिटनेस नदिने भनेका हौँ,' ती रेफ्रीले भने, 'नदिने भनेर क्यान्सिल नै गरेको होइन कि त्यसलाई समय मिलाएर गेम नभएको बेला राख्दिनु भनेर रिक्वेस्ट गर्न गएको हौं। तीन महिनामा फिटनेस लिनुपर्छ भन्नेमा हामी नै हौँ।'
यद्यपि, आफूहरुको अनुरोधलाई एन्फा अध्यक्षले राम्ररी नलिइदिँदा समस्या भएको उनले बताए।
'हामीले समय मिलाइदिनु भन्दा उहाँले मिस विहेव गर्नुभयो। त्यसले गर्दा राजीनामा दिनुपरेको हो,' ती रेफ्रीले भने।
त्यस्तै म्याच कमिश्नर र रेफ्रीलाई जोडेकोमा पनि रेफ्रीहरु असन्तुष्ट सुनिए। भुटान र भारतमा देखिने गरी परिवर्तन ल्याए पनि नेपालमा भने त्यस्तो नदेखिएको ती रेफ्रीको तर्क छ।
खासगरी रेफ्रीहरु कौरसँग चिडिनुको मुख्य कारण हो उनले एउटा भर्चुअल कन्फ्रेन्सका क्रममा दिएको अभिव्यक्ति। 'उहाँले एउटा इन्टरनेशन मासमा कोर्ष चलिरहँदा जहाँ फिफाको प्रतिनिधिहरु पनि हुनुहुन्थ्यो - नेपालीलाई डोमिनेट गरिदिनु भयो। दिज नेप्लिज लोकर इनसप्टर आर युसलेस। दे डन्ट नो एनिथिङ रे! यसको अर्थ के?,' ती रेफ्रीले सुनाए।
उनको व्यवहारबाट चिढिएका रेफ्रीहरुले उक्त घटना लगायतका विषयलाई उठान गरेर राजीनामा पेश गरका हुन्।
'यसो भन्दा हामीलाई रिस उठ्छ नि,' ती रेफ्रीले भने, 'हाम्रो ध्येय नेपाली फुटबललाई असर पार्ने होइन। सेल्फ रेस्पेक्टको कुरा मात्र हो। भोलि या पर्सी फेरि बसेर कुरा हुन्छ। गेम रोक्ने हाम्रो मनसाय होइन।'
हिजो राजीनामा पछि पनि एन्फा अध्यक्षसँग बसेर छलफल गरेको र गेम नरोक्ने तर यही विषयमा चाँडै छलफल हुने सहमति भएको उनले बताए।
'ठीकै छ नि त रेफ्री भाइहरु। यस्तै कुरा छ भने हामी बसेर कुरा गरौं। मैले पनि मिस्टेक गरेँ होला तिमीहरुले पनि दाइ सम्झेर माफ गरिदेओ। हामी बसेर कुरा गर्दा भइहाल्छ,' बैठकमा अध्यक्ष शेर्पाको भनाई उद्धृत गर्दै ती रेफ्रीले भने।