PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क



रासस

टेकु अस्पतालको इमर्जेन्सी सेवा निःशुल्क
File Photo

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको इमर्जेन्सी सेवा निःशुल्क हुने भएको छ। स्वास्थ्य तथा जनंख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि सो सेवा निःशुल्क गरिएको बताइएको छ।

संविधानमा नागरिकले स्वास्थ्य सुविधा प्राप्त गर्ने अधिकारलाई मौलिक हकका रुपमा उल्लेख गरेसँगै सबै सरकारी अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिलाउने लक्ष्यअन्तर्गत पहिलो चरणमा टेकुबाट यो अभियान सुरु गर्न लागिएको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ।

कोरोना भाइरसको तेस्रो लहरले हुनसक्ने सम्भावित जोखिमसमेतलाई मध्यनजर गर्दै जनताको स्वास्थ्यको हक सुनिश्चित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले यही मंसिर १९ गतेदेखि यो व्यवस्था लागू गर्न लागेको हो।

यसका लागि आवश्यक सहजीकरण र व्यवस्थापनमा मन्त्रालयले सहयोग गर्ने भएको छ। अस्पतालका तर्फबाट निर्देशक डा मनिषा रावलले मंसिर १५ गते पत्र लेखेर आवश्यक सहयोग र सो सेवाबारे जानकारी गराइसकेका छन्।

अस्पतालमा इमर्जेन्सी विभागमा आएका बिरामीको पछिल्लो २४ घण्टाभित्र हुने परीक्षण र उपचार शुल्कदेखि टिकटसम्म सबै निःशुल्क हुने व्यवस्था गरिएको छ। निःशुल्कअन्तर्गत रगत परीक्षण, एक्सरे, इसिजी, टिकटलगायतका सुविधा र २४ घण्टाभित्रको परीक्षण सुविधा तथा त्यसमा लाग्ने औषधिसमेत रहेको मन्त्री खतिवडाको सचिवालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell