काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ।
राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्।
लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल थापा मनोनयन दर्ता गराउन पुगेका थिए।
राप्रपा नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान हुनेछ। राप्रपाको महाधिवेशनमा चार हजार चार सय बढी प्रतिनिधिहरु सहभागी छन्। महाधिवेशन अन्तर्गत बिहीवार नै मतदान गरी शनिवार निर्वाचन परिणाम आउने कार्यतालिका सार्वजनिक भए पनि प्रतिनिधिमा विवाद भएपछि निर्वाचन प्रक्रिया लम्बिएको हो।
राप्रपाको नेतृत्वमा दाबी गरिरहेका राजेन्द्र लिङ्देन समूहले अध्यक्ष थापाले एकलौटी रुपमा प्रतिनिधि थप गरेको भन्दै विरोध गरेको थियो। त्यसपछि प्रतिनिधि विवादको छानविनका भन्दै निर्वाचन कार्यक्रम सारिएको थियो।
राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्षसहित तीन महामन्त्री चयन हुनेछन्। त्यस्तै, त्यस्तै १९९ सदस्यीय केन्द्रीय समितिमध्ये १४९ जना पनि निर्वाचनबाट चयन हुनेछन्। बाँकी सदस्य मनोनित गर्ने व्यवस्था छ।
त्यस्तै २ उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, ७ सहमहामन्त्री र ७ सहायक मन्त्री, एक सहायक कोषाध्यक्ष पनि मनोनित गर्ने व्यवस्था छ।