काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गरेका छन्। पार्टी कार्यालय थापाथली पुगेर ओलीले कार्यभार सम्हालेका हुन्।
चितवनमा सम्पन्न भएको एमालेको १० औं महाधिवेशनबाट उनी पुन: अध्यक्षमा निर्वाचित भएका थिए। भीम रावललाई पराजित गर्दै ओली दोस्रो पटक एमाले अध्यक्ष बनेका हुन्।
पदबहालीपछि सम्बोधन गर्दै ओलीले महाधिवेशन सफल भएको भन्दै आफूहरुले लोकतान्त्रिक पद्धति अनुरुप सर्वसम्मतिको प्रयास अघि बढाएको बताए।
चितवनमा सम्पन्न महाधिवेशनको जनसहभागिताबाट पार्टीमा थप उर्जा आएको भन्दै उनले भने, 'विपक्षीले सधैं नारा लगाउने गरेका छन् भाडाका मानिस ल्याउछन् भनेर। तर, चितवनमा जनसहभागितामा उल्लास थियो। यसप्रकारको जनसहभागिता पहिलोपटक हो।'
ओलीले राष्ट्रिय राजनीतिको गतिरोधलाई हटाएर अघि बढ्ने भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारले केही काम नगरेको आरोप लगाए। उनले सरकार चल्न सक्ने अवस्था नभएको भन्दै ताजा जनादेशमा जानुपर्ने बताए।
'देश अहिले चलिरहेको छैन। सरकार चलिरहेको छैन। छिटोभन्दा छिटो ताजा जनादेशमा जाऔँ' उनले भने।
ओलीले अदालतमा देखिएको समस्या सत्तारुढ पाँच दलको गठबन्धनको विसंगतिका कारण भएको बताए। 'अदालतको हुर्मत लिने काम भएको छ। गलत फैसला गराउने र आफै हुर्मत लिने। कार्यपालिकाले न्यायपालिकालाई बर्वाद गरेको छ' ओलीले भने।
उनले सरकारले संसद अधिवेशन आह्वान गरेको प्रसंग निकाल्दै अब फेरि संसद चल्न नदिने बताए।
'संसद किन बोलाईएको हो ? सरकार प्रस्तुत भएपछि थाहा होला। हामीले निकालेका सांसद फेरी २८ गते आउनुहुन्छ भने मान्ने हुदैन' ओलीले भने।
यसअघिको अधिवेशन एमालेको अवरोधबिच सकिएको थियो। एमालेले आफूहरुले कारवाही गरेका सांसदहरु कारवाही नगरेसम्म संसद चल्न नदिने बताउँदै आएको छ।
