PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी 



निशा गुरुङ

कांग्रेस वाग्मती प्रदेश सभापतिमा ३ जनाको उम्मेदवारी 

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश सभापतिमा ३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ देखि १८ सम्म हेटौंडामा हुन लागेको प्रदेश अधिवेशनमा सभापतिमा ३ जनाले उम्मेदवारी घोषणा गरेका हुन्। 

पार्टी प्रदेश सभापतिका लागि शेरबहादुर देउवा पक्षबाट कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँ, रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीशनरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट काठमाडौंका पूर्व सभापति भीमसेनदास प्रधान रहेका छन्। 

शुक्रवार बिहान, बानियाँ र प्रधानले दिउँसो सभापतिका लागि उम्मेद्वारी दर्ता गरेको प्रदेश निर्वाचन आयोगका सदस्य ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। 

उम्मेदवारको अन्तिम नामावली आजै साँझ ६ बजे प्रकाशन हुने भएको छ। वाग्मती प्रदेश निर्वाचन अधिकृतको कार्यालये जारी गरेको सुचना अनुसार दिउँसो २ बजेसम्म मनोनयन दर्ता, २ बजेदेखि ३ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध, दिउँसो ३:३० बजेसम्म त्यस्ता दाबी विरोधमाथि निर्णय गर्नका लागि समय निर्धारण गरिएको छ। दिउँसो ३:३० देखि ४ बजेसम्म उम्मेदवारको वर्णानुक्रम अनुसार नाम प्रकाशित गर्ने, साँझ ५ बजेदेखि ५:३० बजेसम्म मनोनयन फिर्ता लिने र साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ। 

वाग्मती प्रदेशमा पदाधिकारी बाहेक अन्य ८३ जना सदस्य पदमा चुनाव हुँदैछ। मनोनित सहित वाग्मती प्रदेश समिति कूल ९१ सदस्यीय हुनेछ। प्रदेशमा कुल २१३७ जना मतदाता रहेका छन्।  निर्वाचन अन्तर्गत भोलि मंसिर १८ गते बिहान ९ बजेदेखि मतदान हुनेछ। उक्त अधिवेशनबाट प्रदेश सभापति १ जना, उपसभापति २ जना, महामन्त्री २ जना, सह महामन्त्री ३ जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ।  प्रदेशको संरचनाअनुसार कांग्रेसको प्रदेश निर्वाचन पहिलोपटक हुन लागेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell