PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

४० दिनपछि सर्वोच्चमा नियमित पेसीका मुद्दाको सुनुवाइ, शर्तसहित इजलास फर्किए न्यायाधीश



पहिलोपोस्ट

४० दिनपछि सर्वोच्चमा नियमित पेसीका मुद्दाको सुनुवाइ, शर्तसहित इजलास फर्किए न्यायाधीश

काठमाडौं : न्याय सम्पादन अवरुद्ध भएको ४० दिनपछि सर्वोच्च अदालतमा नियमित मुद्दाको सुनुवाइ भएको छ। मंसिर १५ गतेदेखिनै नियमित रुपमा सुनुवाइ अघि बढाउने न्यायाधीशहरुले निर्णय गरे पनि कायम मुकायम विवादका कारण इजलास प्रभावित भएका थिए।

४० दिनको अवधिमा न्यायाधीशहरुले करिब दुई सातासम्म कुनै पनि प्रकारका मुद्दा हेरेका थिएनन्। त्यसपछि बन्दीका मुद्दा भने सुुनुवाइ गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको न्यायिक आचरणमा प्रश्न उठाउँदै न्यायाधीशहरुले कात्तिक ८ गतेबाट इजलास बहिष्कार गरेका थिए। सँगै कात्तिक १४ गतेबाट नेपाल बार एशोसिएशनले पनि आन्दोलन अघि बढाएको थियो। न्यायाधीश र बार दुवैको आन्दोलनबाट पनि जबराले राजीनामा नदिएपछि पेसी व्यवस्थापनको प्रक्रिया फेरेर न्यायाधीश इजलास फर्किएका हुन्। प्रधान न्यायाधीशसँग बेञ्च सेयर नगर्ने अडानसाथ उनीहरु काममा फर्किएका हुन्। बारको आन्दोलन भने जारी नै छ।

मंसिर ८ गते न्यायाधीशहरुको बैठकले सर्वोच्च अदालतको संशोधित नियमावली अनुसार मंसिर १५ बाट गोला प्रणालीमा जाने निर्णय गरेको थियो। उक्त निर्णय मंसिर १३ गते प्रकाशन भएको थियो। सोअघि नियमावली संशोधन र गोला प्रणालीको निर्देशिका न्यायाधीशहरुले तयार पारेका थिए।

प्रधान न्यायाधीशसँगको असन्तुष्टिले सर्वोच्चमा नियमित पेसी चढ्नुपर्ने करिब ५ हजार मुद्दाको सुनुवाइ प्रभावित भएको छ। यस्तै, गोला प्रणालीमा जाँदा हेर्दाहेर्दैमा रहेका र निर्णय सुनाउने चरणमा पुगेका मुद्दाहरु पनि प्रभावित भएका छन्। अब ती मुद्दा सुरुवातदेखि नै पुनः सुनुवाइ हुनेछन्।

प्रधान न्यायाधीश जबराविरुद्धको आन्दोलन भने बारले यथावत नै राखेको छ। बारले राजीनामा नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ। न्यायाधीशहरु भने बेञ्च सेयर नगर्ने साझा सहमतिमा इजलास फर्किएका हुन्।

प्रधान न्यायाधीश जबरा भने कोभिड संक्रमणपछि अस्पतालबाट शुक्रवार निवास फर्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell