PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

कर्णाली कांग्रेसको नेतृत्वमा त्रिपक्षीय भिडन्त निश्चित, ललितजंग, मोतीराज र भुपेन्द्रजंग सभापतिका प्रत्यासी



पी बी खड्का

कर्णाली कांग्रेसको नेतृत्वमा त्रिपक्षीय भिडन्त निश्चित, ललितजंग, मोतीराज र भुपेन्द्रजंग सभापतिका प्रत्यासी

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कर्णाली प्रदेश कार्यसमितिको सभापति पदका लागि तीन जनाको उम्मेद्वारी परेको छ। कांग्रेस कर्णालीको नेतृत्वका लागि त्रिपक्षीय भिडन्त तय भएको छ। 

प्रदेश सभापतिका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निकट ललितजंग शाहीले मनोनयन दर्ता गराएका छन् भने यसअघि संस्थापन पक्षकै भनेर चिनिएका पार्टी उप सभापति विमलेन्द्र निधि निकटका मोतीराज बमले उम्मेदवारी दिएका हुन्। 

त्यस्तै, संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाहीले मनोनयन दर्ता गराएका हुन्। पौडेल पक्षले सर्वसम्मतिबाटै युवा नेता शाहीको उम्मेदवारी टुंगो लगाएको थियो। 

देउवा समूहका ललितजंग जुम्लाका हुन् भने मोतीराज र भुपेन्द्रजंग कालीकोटका। मोतीराज यसअघि जिल्ला सभापतिमा समेत उम्मेदवारी दिने तयारी गरेका थिए। यद्यपि, सहमतिबाट टुंगो लगाएसँगै उनी फुत्किएका थिए। 

त्यस्तै, प्रदेशको महामन्त्री पदमा भने देउवा पक्षबाट सुर्खेतका निरञ्जन केसीले उम्मेदवारी दिएका छन्। यता, वरिष्ठ नेता पौडेल पक्षबाट दैलेखका कृष्ण बीसीले उम्मेदवारी दर्ता गराइसकेका छन्। बीसी दैलेखका निवर्तमान जिल्ला सभापति हुन् भने सुर्खेतका केसी तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष। 

संस्थापन पक्षमा प्रदेश सभापति पदका धेरै आकांक्षी हुँदा उम्मेदवार टुङ्ग्याउन सकस परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell