PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

राप्रपामा द्विपक्षीय टक्कर : थापा र लिङ्देन प्यानलबाट पदाधिकारीमा यी नेताले गराए मनोनयन दर्ता 



पहिलोपोस्ट

राप्रपामा द्विपक्षीय टक्कर : थापा र लिङ्देन प्यानलबाट पदाधिकारीमा यी नेताले गराए मनोनयन दर्ता 

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि द्विपक्षीय भिडन्त हुने भएको छ। राप्रपाको नयाँ नेतृत्वका लागि शनिवार मतदान हुँदै छ। निर्वाचन कार्यक्रम अनुसार शुक्रवार मनोनयन दर्ता गरिएको थियो।

मंसिर १५ गते देखि सुरु भएको राप्रपाको एकता महाधिवेशन अन्तर्गत बिहीवार देखि निर्वाचन प्रक्रिया सुरु भएको हो। बिहीवार मतदाता नामावली प्रकाशित भएको थियो। बिहीवार नै मनोनयन दर्ताको कार्यक्रम राखिएको भए पनि मतदाता नामावलीमा अध्यक्ष कमल थापा पक्षले मनोमानी गरेको आरोप लागे पछि निर्वाचन प्रक्रिया रोकिएको थियो। 

शुक्रवार नयाँ नेतृत्वका लागि राप्रपाका हालका अध्यक्ष कमल थापा र प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनबिच चुनावी भिडन्त हुँदैछ। दुवै पक्ष प्यानल बनाएर चुनावी मैदानमा छन्। 

निर्वाचित हुने पदाधिकारीमा एक अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ। शुक्रवार थापा र लिङ्देनले आफ्ना प्यानलका उम्मेदवारसहित मनोनयन दर्ता गराएका छन्। 

त्यस्तै, निर्वाचित हुने चार उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी परेको छ। 

जगतप्रसाद गौतम, रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दिलविकास राजभण्डारी उपाध्यक्षका लागि मनोनयन दर्ता गराएका छन्। जसमध्ये पाण्डेलाई थापा र लिङ्देन दुवैजनाले आआफ्नो प्यानलमा समावेश गरेका छन्। 

लिङ्देनको प्यानलमा पाण्डे बाहेक राजभण्डारी, यादव र श्रेष्ठ पनि समावेश छन्। थापाको प्यानलबाट पाण्डेसँगै तामाङ, कार्की, र प्रदानलेसमेत मनोनयन दर्ता गराएका छन्। गौतम भने कुनै पनि प्यानलमा परेका छैनन्। 

त्यस्तै निर्वाचित हुने तीन महामन्त्री (१ महिलासहित)का लागि  ६ जनाको उम्मेदवारी परेको छ। रेखा थापा, डाक्टर धवल शम्शेर राणा, श्यामप्रसाद तिमिल्सिना, भुवनकुमार पाठक, भास्कर भद्रा र कुन्तीकुमारी शाहीले उपाध्यक्षका लागि मनोनयन दर्ता गरेका छन्। 

महिला महामन्त्रीका लागि रेखा थापा लिङ्देन प्यानल र कुन्तीकुमारी शाही थापा प्यानलबाट प्रतिस्पर्धामा उत्रिँदैछन्। उपाध्यक्षमा उम्मेदवारी दिएका राणा र तिमल्सिना लिङ्देनको प्यानल र पाठक र भद्रा थापा प्यानलमा समावेश भएका छन्। 

राप्रपाको महाधिवेशनबाट एक अध्यक्ष, चार उपाध्यक्षसहित तीन महामन्त्री चयन हुनेछन्। त्यस्तै १९९ सदस्यीय केन्द्रीय समिति मध्ये १४९ जना निर्वाचनबाट छनोट हुँदैछन्। 

२ उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, ७ सहमहामन्त्री र ७ सहायक मन्त्री, एक सहायक कोषाध्यक्ष पनि मनोनित गर्ने व्यवस्था छ। 

राप्रपामा हाल तीन अध्यक्ष छन्। एकता महाधिवेशन नाम दिइएको यस महाधिवेशनबाट एक अध्यक्ष निर्वाचित हुनेछन्। हालका एक अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई समर्थन गरेका छन्। अर्का अध्यक्ष पशुपति शम्शेर राणाले भने कतै समर्थन खुलाएका छैनन्। त्यस्तै राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले पनि नयाँ नेतृत्वका लागि भन्दै लिङ्देनलाई समर्थन गर्न आह्वान गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell