
पोखराः नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनको आसन्न निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा हुने भएको छ। गण्डकी वरिष्ठ नेता पौडेलको क्षेत्र भए पनि पछिल्लो समय प्रदेशमा सभापति देउवा पक्ष हाबी देखिन्छन्।
संघीयता संरचनामा पहिलो पटक हुन लागेको प्रदेश समितिको नेतृत्व आफ्नो हातमा पार्नका लागि नेताबीच रस्साकस्सी छ। निर्वाचनको मनोनयन दर्ता प्रक्रिया सकिएको छ।
प्रदेशमा संस्थापन र संस्थापन इतर प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ।
संस्थापन पक्षबाट प्रदेश सभापतिमा अर्जुन जोशी सभापतिका उम्मेद्वार बनेका छन्। संस्थापन इतरबाट शुक्रराज शर्माले मनोनयन दर्ता गरेका छन्। संस्थापनले सभापतिको उम्मेद्वार पहिल्यै टुंगो लगाएको थियो। संस्थापन इतरतर्फ आकांक्षी बढी भएकाले मनोनयनको अन्तिम समयमा मात्र नाम टुंगो लगाइएको हो।
संस्थापन इतर समूहबाट प्रदेश सभापतिमा यज्ञबहादुर थापा, देवराज चालिसे, महेन्द्रध्वज जिसी, रघुनाथ पौडेल र शुक्रराज शर्मा गरी पाँच आकांक्षी थिए। पोखरा आइपुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार साँझ सभापतिमा शुक्रराज शर्माले उम्मेद्वारी दिने बताएका थिए।
सभापतिको उम्मेद्वारमा शर्माको नाम टुंगो लागे पनि अन्य पदमा भने शुक्रबारमात्र नाम टुंगो लागेको हो।
पौडेल समूहको उपसभापतिमा बागलुङका हरिकुमार श्रेष्ठ र स्याङ्जाकी कल्पना तिवारीको उम्मेद्वारी छ। महामन्त्रीमा नवलपुरका विष्णु लामिछाने र गोरखाका किरणबाबु श्रेष्ठको उम्मेद्वारी छ।
यस्तै सहमहामन्त्रीमा पर्वतका रामचन्द्र जोशी, लमजुङका रमेश पाण्डे छन्। यता महिला सहमहामन्त्रीमा कास्कीकै कोपिला रानाभाट उम्मेद्वारी छ। सहमहामन्त्री खुल्ला तर्फ संस्थापन इतरबाट रामचन्द्र जोशी र रमेशकुमार पाण्डेको उम्मेद्वारी छ।
यस्तै संस्थापन पक्षबाट उपसभापतिमा स्याङ्जाका मेखलाल श्रेष्ठ र म्याग्दीका नेत्र महतले उम्मेद्वारी दिएका छन्। मेखलाल गण्डकी प्रदेशको शिक्षामन्त्री हुन्। यस्तै महामन्त्रीमा गोरखाका ईश्वर पाण्डे र कास्कीका कुमार खड्काको उम्मेद्वारी छ। खड्का पनि प्रदेश सरकारका मन्त्री हुन्।
सहमहामन्त्री महिलातर्फ नवलपुरकी ओमकला गौतमले उम्मेद्वारी दिएकी छिन्। गौतम गण्डकी प्रदेश सांसद हुन्। सहमहामन्त्री खुल्लातर्फ गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आलेको उम्मेद्वारी छ। सहमहामन्त्री पदमा गणेश सापकोटा र युवराज बस्ताकोटी स्वतन्त्र उम्मेद्वारी दिएका छन्।
नेतृत्वका लागि शनिबार मतदान हुँदै छ।