PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शक्ति सञ्चयपछि एमालेको नीति: संसदमा प्रहार गरिरहने, अरू पार्टीका नेता कार्यकर्ता तानेर चुनावको तयारी गर्ने



प्रकाश भण्डारी

शक्ति सञ्चयपछि एमालेको नीति: संसदमा प्रहार गरिरहने, अरू पार्टीका नेता कार्यकर्ता तानेर चुनावको तयारी गर्ने
फोटोः चन्द्रकला क्षेत्री/रासस

काठमाडौँ: नेकपा (एमाले) ले महाधिवेशनपछि चुनावका लागि ध्यान केन्द्रित गरेको छ। चितवनमा सम्पन्न १०औँ महाधिवेशनपछि एमालेले आफ्ना गतिविधिलाई चुनाव केन्द्रित गर्न लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमै तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने घोषणा गरेका थिए। जुन अभियानमार्फत् एकीकृत समाजवादी र माओवादीतर्फ लागेका एमालेका नेता कार्यकर्तालाई फर्काउने प्रयत्न हुने एमालेले जनाएको छ।

अभियान सञ्चालनका लागि थप निर्णय गर्न मंसिर २५ र २६ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छन्। उक्त अभियान पार्टी प्रवेश गराउनेमा केन्द्रित हुने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए।

'मान्छेहरू तयार छन्। विभिन्न पार्टीबाट एमालेमा आउन चाहनेलाई प्रवेश गराउने हो,' उनले भने।

एमालेले महाधिवेशनमा देखिएको सहभागिताले चुनावमा आफ्नो जित हुने विश्लेषण गरेको छ।

शुक्रबार पदभार ग्रहण गर्दै ओलीले एमाले चुनावमा केन्द्रित हुन लागेको बताए।

'हामीले हाम्रा पार्टीका नीतिबारे प्रस्ट पारेऊँ। सफलताले दिएको ऊर्जा र आत्मविश्वासलाई लिएर अगाडि बढ्ने छौँ,' ओलीले भने।

चुनाव केन्द्रित एमाले

ओलीले अहिलेको सरकारले निकास दिन नसक्ने बताएका छन्। तत्काल ताजा जनादेशमा जानुपर्ने ओलीको भनाई छ। दुई पटक संसद् विघटन गरेर चुनाव घोषणा गरेका ओलीले सरकारबाट बाहिरिएपछि पनि लगातार चुनावको माग गरिरहेका छन्।

ओलीले सरकार अनुचित गतिविधिमा लागेको आरोप लगाए।

'सरकार अहिले अनुचित काममा लिप्त भएको छ। अर्को सरकारका लागि ताजा जनादेश नै हो। जनताले उपयुक्त मूल्याङ्कन गरेका छन्,' उनले भने।

चुनावमा गए अहिलेको सत्ता गठबन्धन हार्ने र आफ्नो पक्षमा जनमत आउने भन्दै एमालेले आफूलाई चुनावका लागि केन्द्रित गर्न लागेको हो।

१०औँ महाधिवेशनलाई आम चुनावको तयारी भन्दै एमालेले जनप्रदर्शन गरेको थियो। महाधिवेशनमा ५ लाख जनता उतार्ने भन्दै एमालेले तयारी थालेको थियो। एमाले नेताहरू चितवनमा भएको सहभागिताले एमाले कमजोर नभएको पुष्टि भएको दाबी गरिरहेका छन्। तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएको भए पनि कार्यकर्ताको आकर्षण समाजवादीप्रति नदेखिएको एमाले नेताहरूको बुझाई छ।

ज्ञवालीले सबै पार्टीहरूले चुनावको तयारी गरिरहेकाले एमालेको पनि अबको तयारी चुनावका लागि हुने बताए। उनले चुनावका लागि देशब्यापी रूपमा एमाले लाग्ने दाबी गरे। 'शेरबहादुर देउवाले पनि भनिसक्नुभयो चुनावका लागि। हामीले पनि चुनावका लागि गतिविधि केन्द्रित गर्छौँ। अहिले सबै पार्टीको ध्यान चुनावमा छ,' उनले भने।

संसद्को अवरोध कायमै राख्ने

ओलीको अर्को नीति-प्रतिनिधिसभाको अवरोध कायमै राख्ने हो। उनले शुक्रबार पदभार ग्रहण गर्दै त्यसको जानकारी दिएका छन्।

'संसद् किन बोलाइएको हो। सरकार प्रस्तुत भएपछि त्यसको थाहा हुन्छ। हामीले कारबाही गरेकाहरू संसदमा फेरि पनि आउनुहुन्छ भने त्यो चल्न सक्दैन,' उनले भने।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार मंसिर २८ गतेका लागि संघीय संसद्को अधिवेशन बोलाएकी छिन्। एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका सांसदहरूलाई कारबाही गरेको थियो। उक्त कारवाहीको सूचना ननिकालेको भन्दै एमाले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रामक छ। एमालेले अवरोध कायमै गरेपछि सरकारले अघिल्लो अधिवेशन अन्त्य गरेको थियो।

पार्टीमा गुट नभएको सन्देश दिने कोसिस

ओलीले महाधिवेशनमा लोकतान्त्रिक, सर्वसम्मत लगायत सबै खालका अभ्यास भएको बताए।

उपाध्यक्ष रामबहादुर थापा बादलले १० प्रतिशत मनोनयन गर्न बाँकी रहेकाले पदाधिकारी र केन्द्रीय कमिटीमा नसमेटिएका नेतालाई मनोनीत गर्ने जानकारी दिए। शुक्रबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, '१० प्रतिशत मनोनयनको काम बाँकी छ। जो साथीहरू अहिले छुट्नुभएको छ त्यसमा समेटिन्छ,' उनले भने।

अध्यक्षमा पराजित भएपछि नेता भीम रावलले केन्द्रीय सदस्यको शपथ ग्रहण गर्न अस्वीकार गरेका थिए। उपाध्यक्षमा पराजित भएका नेता घनश्याम भुसालले भने केन्द्रीय सदस्यको शपथ लिएका छन्। रावल-भुसाललाई पनि समेटेर अघि बढ्ने प्रयत्न भइरहेको एमाले नेताहरूको भनाइ छ।

भुसाल त्यसमा सकारात्मक भए पनि रावलले भने आफ्नो अडान कायमै राखेको एमालेका नेताहरू बत्ताउँछन्। एमालेले १० प्रतिशत मनोनयनमा एमालेमा असन्तुष्ट देखिएका नेताहरूलाई समेट्न गृहकार्यमा जुटेको छ। अहिले फाट्टफुट्ट रूपमा देखिएका असन्तुष्टिलाई सम्बोधन गरेर गए निर्वाचनमा अन्तर्घात नहुने भन्दै एमाले त्यसको तयारीमा जुटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell