PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

फ्रेन्ड्स क्लबसँग थ्री स्टारको बराबरी, एपीएफमाथि सातदोबाटोको सानदार जित

फ्रेन्ड्स क्लबसँग थ्री स्टारको बराबरी, एपीएफमाथि सातदोबाटोको सानदार जित

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा फ्रेन्ड्स क्लबसँग थ्री स्टार क्लब बराबरीमा रोकिँदा दोस्रो खेलमा सातदोबाटो युथ क्लबले एपीएफमाथि सानदार जित निकालेको छ।

पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा फ्रेन्ड्स क्लबले अग्रता बनाएको थियो। कप्तान बुढाथोकीको पासमा नाथिअल ग्रासिआले ५१ औं मिनेटमा हेडरमार्फत गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। यद्यपि, खेलको अन्तिम समयमा थ्री स्टारले पुनरागमन गरेको थियो। ८३ औं मिनेटमा मिक्चेन तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यस्तै, आजै सम्पन्न दोस्रो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपीएफमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकाल्यो। सातदोबाटोको जितमा अजयी मार्टिन्सले ह्याट्रिक गर्दा सुशील राईले १ गोल गरे। एपीएफका लागि विकी तामाङले सान्त्वना गोल फर्काए।

खेलको ४२ औं मिनेटमा अजयी मार्टिन्सको गोलमा अग्रता बनाएको सातदोबाटोका लागि मार्टिन्सले नै पहिलो हाफको इन्ज्युरी समयमा दोस्रो गोल थपे। उता एपीएफले दोस्रो हाफको सुरुमै गोल फर्कायो। आशिष लामाको क्रसमा बिकी तामाङले ४८ औं मिनेटमा गोल गरेका थिए। तर, लगत्तै   सातदोबाटोका लागि सुशिलले गोल गरे भने ५८ औं मिनेटमा मार्टिन्सले गोल गर्दै ह्याट्रिक पुरा गरे। उनी जारी सिजन लिगमा ह्याट्रिक पुरा गर्ने पहिलो खेलाडी हुन्।

यो सँगै सातदोबाटो ३ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने एपीएफ अंकविहीन रहँदै तालिकाको पुछारमा छ। त्यस्तै थ्री स्टारको ३ अंक र फ्रेन्ड्स क्लबको २ अंक छ।



ट्रेन्डिङ पोस्ट

Ncell