PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

‘आमा सुरक्षा कार्यक्रम’ पार्न सूर्य हस्पिटललाई वीरगंज महानगरको गैरकानुनी सिफारिस



राधेश्याम पटेल

‘आमा सुरक्षा कार्यक्रम’ पार्न सूर्य हस्पिटललाई वीरगंज महानगरको गैरकानुनी सिफारिस

वीरगंज: सूर्य हस्पिटललाई ‘आमा सुरक्षा कार्यक्रम’ पार्नका लागि वीरगंज महानगरपालिकाले गैरकानुनी रुपमा सिफारिस गरेको तथ्य सार्वजनिक भएको छ। १५ शय्याको अनुमति पाएको अस्पताललाई कार्यक्रमको सेवा सुविधा दिलाउन स्वास्थ्य सेवा विभागमा २५ शय्याको अस्पताल भनेर सिफारिस गरेको पाइएको हो।

गत साउन ७ गतेको मितिमा महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले उक्त सिफारिस गरेपछि मापदण्ड विपरीत सम्झौताका लागि अस्पताल पक्षले महानगरमा दौडधुप गरिरहेको छ। आर्थिक प्रलोभनमा परी महाशाखाका प्रमुख महतोले उक्त सिफारिस गरेको महानगर स्रोत बताउँछ। 

सूर्य अस्पताल नारायणी अस्पतालमा कार्यरत डा सरोज सिंह, मोनिका यादव सिंहले सञ्चालन गर्दै आएका छन्। पहिलेको जनस्वास्थ्य कार्यालयका अधिकृत सच्चिदानन्द सिंह आंशिक रुपमा सूर्य अस्पतालमै कार्यरत थिए। केही दिनअघि उनी त्यहाँबाट काम छोडेका छन्।

सिंहले तत्कालीन जनस्वास्थ्य प्रमुख महतोसँगै काम गरेको हुनाले ‘आमा सुरक्षा कार्यक्रम’को लागि डिल गरेको स्रोत बताउँछ। 

महतोले महानगरको महाशाखाबाट गत मंसिर १४ गते अवकास पाएका छन्। अवकाशअघि सम्झौताको लक्ष्य राखे पनि वीरगंज महानगरको प्रमुख प्रशासकीय अधिकृतको सरुवाको कारण सम्झौता नभएको हो। 

के हो आमा सुरक्षा कार्यक्रम?

आमा सुरक्षा कार्यक्रम नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले दिने सुविधा हो। यस अन्तर्गत १५ बेडभन्दा कम क्षमताको अस्पतालमा सामान्य रुपमा सुत्केरी गराउँदा सुत्केरीले १ हजार पाउने नियम छ। तर, ५० बेडभन्दा बढी क्षमतामा यो कार्यक्रम लागू भए १५ सय रुपैयाँ पाउने व्यवस्था छ। 

१५ बेडको अस्पताललाई शल्यक्रिया गर्ने सुविधा नदिने नियम छ। सूर्य अस्पताल पनि त्यही वर्गको अस्पताल हो। तर, शल्यक्रियासहितको सुविधा पाउन सूर्य अस्पतालले दौडधुप गरिरहेको छ।

अस्पतालले शल्यक्रियासहितको कार्यक्रम पायो भने प्रति सुत्केरी सरकारबाट ७ हजार ५ सय रुपैयाँ पाउँछ। नियमले शल्यक्रियासहितको सुविधा नपाउने अस्पताललाई २५ बेडको अस्पताल भनेर सिफारिस गरिनु र शल्यक्रियासहितको कार्यक्रम दिन स्वास्थ्य तथा सामाजिक महाशाखाका कर्मचारीहरुले चलखेल गरेका हुन्।

एउटा अस्पतालदेखि १ किलोमिटरमा अर्को अस्पताल चलाउन पाइँदैन

स्वास्थ्य मन्त्रालयले सरकारी अस्पताल छेउछाउमा निजी अस्पताल नचलाउने नियम बनाए तापनि त्यसको अनुगमन र कारबाही गरिएको छैन। स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन निर्देशिका २०७५ को १३ नम्बर बुँदामा स्थान तथा जग्गा पूर्वधार शीर्षकमा भनेको छ- ‘एउटा अस्पतालभन्दा अर्को अस्पतालको दुरी कम्तिमा एक किलोमिटर रहनु पर्छ।’

सूर्य अस्पताल सरकारी नारायणी अस्पतालभन्दा ३ सय मिटर दक्षिणमा मात्रै छ। जनस्वास्थ्यले अनुमति दिँदा उक्त अस्पताल वीरगंज सिगरेट फ्याक्ट्री नजिकै सञ्चालन हुन्थ्यो।एक वर्षदेखि नारायणी अस्पताल छेउमै सञ्चालन भइरहेको छ। तर, अनुगमनकर्ता निकाय मौन रहेको पाइएको छ।

के भन्छ महानगरको स्वास्थ्य महाशाखा?

वीरगंजमा महानगरको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका निमित्त प्रमुख रितेश जैसवालले १५ बेडको अस्पताललाई २५ बेडको अस्पताल भनेर गरिएको सिफारिस पत्र देखाउन मानेनन्। उनले फाइल मेयरको कुर्सीमा राय सुझावको लागि पुगेकोले हेर्न नमिल्ने बताए।

उनले विगतमा कसले के सिफारिस गर्‍यो भन्ने विषयमा आफूलाई जानकारी नभएको र नियमसंगत सम्झौता हुने बताए। उनले अस्पतालसँग आर्थिक लेनदेनको कुरा गलत भएको प्रतिक्रिया दिए।

के भन्छन् अस्पतालका डा सरोज सिंह?

अस्पतालका सञ्चालक डा सरोज सिंहले आफूहरुले जनताको सेवाको लागि उक्त कार्यक्रमको लागि पहल गरेको बताए।

उनले भने, ‘अहिले १५ बेडको अस्पताल हो, ५० बेडको लागि प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयसँग अनुमति माग्ने प्रक्रियामा छौँ। निर्देशनालयबाट अनुगमन पनि भइसकेको छ। हामीले दैनिक दुई तीन वटा शल्यक्रिया गरिहेको छौँ। गरिब विपन्न परिवारको सुत्केरीलाई फाइदा होस् भनेर कार्यक्रमलाई प्रस्ताव गरेको हौँ।’

उनले १५ बेड वा जति पनि बेडको लागि नर्मल डेलिभरीको लागि १ हजार र शल्यक्रियाको लागि ७ हजार सरकारले दिने सुविधा एउटै रहेको दावी गरेका छन्। उनले आफूले मात्र नभई नारायणी अस्पतालको नजिकै कृष्णा अस्पताल र नारायणी सेन्ट्रल अस्पताल पनि सञ्चालनमा रहेको चर्चा गर्दै सरकारी अस्पतालभन्दा कति दुरीमा निजी अस्पताल चलाउने बारेमा कतै उल्लेख नरहेको दावी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell