PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय



निशा गुरुङ

सत्ता टिकाउन मुख्यमन्त्री पाण्डेले फुटाए मन्त्रालय, अब रहनेछन् यी १४ मन्त्रालय

हेटौँडाः सत्ता टिकाउन वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मन्त्रालय विभाजन गरेका छन्। सत्तारुढ गठबन्धनमा मन्त्रीको भाग पुर्‍याउन ८ मन्त्रालय फुटाएर १४ पुर्‍याइएको छ।

गठबन्धनमा आवद्ध दलमा मन्त्रीका आकांक्षी व्यवस्थापनका लागि मन्त्रालय विभाजन गरिएको हो। मन्त्रालय थपको निर्णय राजपत्रमा प्रकाशन भइसकेको छ। वाग्मतीमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्र लगायतको सरकार गठन भएको छ। एमाले नेतृत्वको सरकार प्रतिस्थापन गर्दै पाण्डेको नेतृत्वमा सरकार बनेको हो। 

प्रदेशको सुशासन बलियो बनाउन आफ्नो प्राथमिकता रहेको बताउने मुख्यमन्त्री पाण्डले सरकार टिकाउनैको लागि मन्त्रालय फुटाएका हुन्। मन्त्रालय बढेसँगै मन्त्री, सचिव र स्वकीय सचिवहरुको संख्या समेत बढ्ने छ। जसको भार राज्यकोषमा पर्नेछ।

अब प्रदेशमा मुख्यमन्त्री कार्यालयसहित प्रदेशमा आन्तरिक मामिला तथा कानुन, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी मन्त्रालय रहनेछन्। यस्तै, खानेपानी ऊर्जा तथा सिँचाइ, संस्कृति तथा पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार विकास, श्रम रोजगार तथा यातायात, यूवा तथा खेलकुद, वन तथा वातावरण, सामाजिक विकास र स्वास्थ्य मन्त्रालय रहनेछन्।

केन्द्र सरकारको मन्त्रीमण्डल नै १२ सदस्यी बनाउन विज्ञले सुझाव दिइरहेका बेला प्रदेशहरुले धमाधम मन्त्रालय फुटाएका हुन्। यसअघि  सत्ता भागबन्डाका लागि अन्य प्रदेशमा पनि मन्त्रालय विभाजनको काम भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell