PahiloPost

Nov 25, 2024 | १० मंसिर २०८१

मर्दी पदमार्गकी एकल यात्रीको डायरी : जब हुस्सुले नराम्ररी झुक्यायो



रिना थापा

मर्दी पदमार्गकी एकल यात्रीको डायरी : जब हुस्सुले नराम्ररी झुक्यायो

शरद ऋतु लागे पनि आकाशमा तारा एउटै थिएन।

छ्याङ्ग आकाश खुलेर आँखाले भ्याउञ्जेल रातमा आकाशभरि तारा, दिउँसो नीलो आकाश देख्न पाइने याम भए पनि त्यस्तो थिएन। बर्खायाममा झैं आकाश बादलको घुम्तोमै थियो।

मन यसै आत्तिइरहेथ्यो। रिफ्रेसमेन्टका लागि बाहिर कतै जान पाएँ हुन्थ्यो। तर, संयोग जुरिरहेको थिएन।

+++

उसै पनि बिना गल्ती कोरोनाले डेढ वर्ष नजरबन्दमा पार्‍यो। हिँड्न, डुल्नै पाइएन। डराइडराइ चल्यो जीवन। कामै परेर निस्कनु अलग अन्यथा पोखराबाट बाहिर हराउने दिन जुरेको थिएन।

दशैं तिहार घुम्ने समय। पदयात्राका लागि यो याम अझैं उचित हो भन्ने समाचारमा पढेकी थिएँ। ‘पदयात्रा जान पाएँ त,’ मैले मनमनै हिसाब लगाएँ।

चिया गफमा साथीभाइले मर्दी पदयात्रामा जाऔं त भने। तर, सँगै पाइला बढाउने समय जुराएनन्। अन्तिममा साथीभाइसँगको योजना असफल बन्यो। बरु, एक्लै यात्रामा निस्किए कसो होला?

रहरको खुट्टा उकालो लागि सकेका थिए। मर्दीलाई पृष्ठभूमिमा राखेर मनमनै फोटो खिचाई सकेको थिएँ।

यसअघि पनि अन्नपूर्ण आधार शिविर पुगिसकेकाले ट्रेकिङबारे धेरथोर थाहा थियो।

पोखराबाट निस्केर पहिलो दिन सिदिङ हुँदै लो क्याम्प पुगेर बास बस्छु, दोस्रो दिन हाइ क्याम्प, तेस्रो बेसक्याम्प पुगेर चौथो दिन पोखरै फर्किने। मैले फेरि हिसाब लगाएँ।

अन्तत: एक्लै हिड्ने आँट गरेँ। आवश्यक सामान सबै ठिक्क पारी सकेकी थिएँ। बुकिङ गरेँ। रुकस्याक बोकेर निस्किएँ।

+++

मर्दी जानु अघि घरमा सुनाएँ। तर, एक्लै जाँदा आमाको पक्कै मञ्जुरी हुन्न भन्ने लागेको थियो। छोरीको इच्छाको अघि उहाँको के लागोस्! सुरुमा कडैरुपमा ‘नजा भने पनि बाँधिएको रुकस्याक देखेर नाँइ भन्न सक्नुभएन। हुन त छोराछोरीको जिद्धि अघिल्तिर आमा सधैं हार्छिन्।

कात्तिक २२, हेम्जा मिलनचोक पुग्दा बादल फाट्यो। आकाश उघ्रियो। अन्नपूर्ण र माछापुच्छ्रे देखियो।

'पर्सिपल्ट बिहानसम्म त्यहाँ पुग्छु,’ अड्कल लगाएँ।

सिदिङ पुग्दा मौसम बिग्रिएको थिएन। आकाश छ्याङ्ग खुलेको थियो। जिपबाट ओर्लिँदा रुकस्याक बोकेर माथितिर उक्लिदै थिएँ केही। पोखराबाट बिहानै हिँडेकाहरु खाना खाँदै थिए। मैले पनि पहिलो दिनको खाना त्यही खाएँ। १ बजेतिर त्यहाँबाट हिँडे।

खाना खाने ठाउँमा दाङबाट आएका ३ घुमन्तेसँग चिनाजानी भयो। उनीहरु पनि पहिलोपटक रहेछ मर्दी। त्यहाँबाट सँगसँगै जस्तो निस्कियौं।

सिदिङमा म निकैबेर भुलिसकेकी थिएँ। बिहानै जिपले ढिला गरिसकेको थियो। दुई घण्टा जति हेम्जा मिलन चोकमा माछापुच्छ्रेको चिसो स्याँठ खानु पर्‍यो। अब चिसोबाट पनि बचाउनुपर्ने थियो आफैँलाई।

पहिलो दिनको मेरो बसाई लो क्याम्पमा थियो। के के न चाहिएला भनेर रुकस्याकमा सामान कोचेको! जति माथि उक्लियो त्यति भारी हुँदै थियो। त्यमाथि सिदिङको ठाडो उकालो!

ओहो! १० मिनेट पनि हिँड्न नपाई छाती फुलेर आउथ्यो। पोखराबाट निस्किँदा सिदिङको बाटो नगई काँडेको बाटो जानु भनेका त थिए। एक दिन भए पनि रुट घट्ने लोभले अहिले आफैँलाई कठिन पारिरहेको थियो।

+++

नहिँडुञ्जेल हो के हुने हो, कसो हुने भन्ने चिन्ता।

हिँडेपछि साथीभाइ भइहाल्दा रहेछन्। अघि खाना खाने बेला भेट भएका दाङका साथीहरुले बाटो काट्न सघाए। दमौलीबाट आएका स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीको टोली पनि साथी बन्यो केही क्षण।

एक्लै यात्रामा निस्केका पाइला। न कसैलाई भेटाउनु पर्ने थियो। न कोही छुट्टलान् भन्ने पीर। आफ्नै लयमा मस्त। मेरो पाइलाको गतिमा जो भेट्न्थिे उनीहरुसँग गफिन्थेँ। यात्रामा अनेकौंसँग भेट हुने।

यात्रामा कोही पछि छुट्छन्, कोही नभेटिने गरी हराउँछन्। सायद् यात्रा भनेकै यही हो। माथि पुगेकालाई हेरेर हतासिन मिल्दैन। हराएकालाई खोजेर वा पर्खेर आफू यात्रामा सुस्ताउन मिल्दैन।

अघि सँगै हिडेका दाङका साथीहरु छुटे। उनीहरु सँगै बसौं भन्दै थिएँ। पोखराबाट निस्किनु अघि नै लो क्याम्प होटलका अमृत दाइलाई आउँदै छु भनी खबर गरिसकेकी थिएँ। सिजनको समयमा कोठा नपाइन सक्थ्यो। सिदिङ गाउँमाथि बस्ती छैन। निश्चित स्थानमा थोरै संख्यामा मात्र होटल छन्। त्यसैले जानु अघि नै कोठा बुक गर्दा सहज। ६ घण्टाको ठाडो उकालोपछि म लो क्याम्प पुगेँ। रुकस्याक भुँइमा भ्यात्त फालेर यताउति हेर्न थालेँ।

होटल पुग्दा नपुग्दै देखिएको माछापुच्छ्रेले थकान मेटे झैं भयो। आँखीझ्यालबाट देखिने दृश्य जसरी जंगल नकट्दै देखिन थालेको थियो माछापुच्छ्रे।

आहा! त्यो सुनौलो माछापुच्छ्रेको दृश्य। होटल पुगि खाना खाएर कोठा तिर लागेँ। थकाई लागे पनि निन्द्रा परेन। होटलको सोलार बिग्रिएछ। कोठामा बत्ती भएन। मोबाइलमा भएको चार्ज चिसोले घट्दै थियो। त्यो पनि फोटो खिच्न चाहिन्थ्यो। मोबाइल न्यायो पारेर राखेँ।

+++

पदयात्राको दोस्रो दिन, हाइ क्याम्पसम्म पुग्नुपर्ने। यसअघि मर्दी नआए पनि बादल डाँडाबारे सुनेकी थिएँ। पढेकी थिएँ। त्यसैले बादल डाँडा कस्तो होला? हेर्न उत्सुक थिएँ। होटलबाट निस्किने बित्तिकै मेरो मन भने बादलडाँडा पुगिसकेको थियो।

साढे एघार बजेतिर बादलडाँडा पुगेँ। जति माथि पुग्दै थिएँ त्यति नजिक हिमाल हुन्थ्यो। जति नजिक हिमाल देख्थेँ त्यति नै उसको सामुन्ने पुग्न मन हुने। उसकै काखमा पुगौं लाग्ने। तर, नजिक देखिएका हरेक चिज नजिक कहाँ हुन्छ र? अनेकौं खोंचमा उकाली र ओराली पार गरेर पुग्नुपर्छ त्यहाँ। केही चिज टाढाबाट हेरेको राम्रो। जति नजिक पुग्यो त्यति नै आफैंलाई गाह्रो हुने। हिमालको र मेरो दुरी मलाई सहज हुनेसम्मको राख्नु थियो। मन त हिमालको काखमा रहने हुन्छ। तर, सम्भव गराउन मिल्ने भए पनि कसरी सकिने?

अटल उभिएको हिमालले घरिघरि लजाएर बादलको घुम्टो ओढ्थ्यो। तल सेतो बादल। लाग्थ्यो म कुनै डिज्ने मुभीभित्र छु। म साँच्चिकै बादलमाथिको शहरमा थिएँ। म एक्लै उफ्रिएँ। मुभीको सिन एकैठाउँमा कहाँ अडिन्छ र? राम्रो दृश्य एउटामात्र कहाँ हुन्छ र? त्यस्तै हो। बादल डाँडाको दृश्य सुरुवातमात्र थियो। केही मिनेटको बिरामपछि पाइला अघि सारेँ। बादलको शहरमा अडिएर अन्य सुन्दर दृश्य गुमाउन चाहन्नथेँ।

बादल डाँडाबाट हाइक्याम्प पुग्न साढे दुई घण्टा लाग्यो। दोस्रो दिनको यात्रा सहज थियो। हाइक्याम्प भन्दा माथि भेटाउने अरु केही थिएन। दुई बजे हाइक्याम्प पुगेपछि सुदीप दाइको होटलमा पुगेँ। बिहानै खबर गरेकी थिएँ - आउँदैछु भनेर। तर, नेटवर्कको समस्याले राम्रोसँग जानकारी गराउन सकिनँ। बेसक्याम्प पुग्नु भएको रहेछ उहाँ।

पदमार्गमा जानेको भिड उस्तै थियो। मनमनै होटल प्याक होला लागेको थियो। सही ठहरियो। दाइ आइपुग्नु अगाडि नै राजकुमार दाइको होटलमा पुगे। बसाई त्यहीँ हुने भयो। नौलो ठाउँमा चिनेका मानिस भेट्दा आनन्द लाग्ने। पोखराबाट गएका सहधर्मी बिनिता दिदी र उहाँको श्रीमान् भेटिए।

कस्तो संयोग, मर्दीमा अचानकको भेटलाई स्मरणमा राख्न सेल्फी खिचियो। फोटो खिचेर बिदा मागेँ। फोनमा चार्ज थिएन। नेटवर्कमा समस्या उस्तै। सोलारकै भर थियो चार्जका लागि। होटलमा पुगेँ। धन्न, त्यहाँको सोलार ठीक रहेछ। मोबाइल चार्जमा लगाएँ।

आमाले बिचबिचमा फोन गरिरहनु भएको थियो। फोन नआए नेटवर्क टिप्नासाथ दूरसञ्चारले म्यासेज पठाउँथ्यो - आमाको नम्बरको मिसकल म्यासेज।

हाइ क्याम्पमा बिताएका समय झन् रमाइलो बन्यो। चिनजान गर्ने क्रम बढेको थियो। काठमाडौंबाट आइपुगेका दुईजना दाइ थपिएका थिए। उनीहरु पनि साथी बने। बादल डाँडाभन्दा बढी बादलको शहर लाग्यो हाइ क्याम्प। नजिकै हिमाल त्यसको केही तल बादल। दुरी कति छोटिएको? तर यो दूरीलाई आँखाले मात्र छोटाएको थियो।

तेस्रो दिनको यात्रा, भ्यू पोइन्ट हुँदै बेस क्याम्पसम्मको थियो। साढे तीन बजे उठेर भ्यू पोइन्टतिर अघि बढेँ - सूर्य उदाएको हेर्न। अँध्यारो बिहान आकाशमा जून चम्किलो देखियो। तल पोखरा शहरको झिलिमिली उस्तै सुन्दर। नजिकबाट मन नपर्ने शहर टाढाबाट कति लोभलाग्दो देखिएको?

मोबाइलको टर्च लाइट बाल्दै अँध्यारोमा बाटो पहिल्याएर बिहान ६ बजेतिर भ्यू पोइन्ट पुगेँ। खै तर उदाएको सूर्यले मलाई तान्न सकेन। मेरो ध्यान हिमाल र बादलतिरै तानिएका थियो। घाम उदाउँदै आयो मैलै बेस क्याम्पसम्मको यात्रा छोट्याउँदै गएँ। पदयात्रामा निस्केका अक्सर भ्यू पोइन्टबाटै फर्किने रहेछन्। कमैले बेस क्याम्पसम्मको यात्रा गर्दा रहेछन्। भ्यु पोइन्टमा छुटेका दाङका साथीहरु फेरि भेटिए। अलि बेरमा फेरि छुट्टियौं।

भ्यू पोइन्टबाट माथिको यात्रा उत्तिकै रमाइलो। दुवैतिर भिरालो बाटो। नजिकैबाट देखिएको अन्नपूर्ण र हिमचुली। आँखाअघि देखिएको माछापुच्छ्रे र मर्दीले थाक्न दिएनन्। बाटोमा भिडियो र फोटो खिच्दै यात्राको याद पनि कैद गर्दै थिएँ। एकल यात्रामा एउटा बेफाइदा हुने - आफ्नो फोटो खिच्न नपाइने। अरुलाई खिच्न आग्रह गरेको फोटोमा चित्त बुझाउनु पर्ने। त्यही पनि एकथान फोटोसँगै लिएर फर्किएकी छु।

साढे नौ नहुँदै बेस क्याम्प पुगेँ। पुग्नुपर्ने गन्तव्यमा पुगेकी थिएँ। बेसक्याम्पबाट माछापुच्छ्रे को आधी भागमात्र देखिने रहेछ। त्यसैले मलाई त्यहाँको सुन्दरताले खासै तानेन। तर, बेस क्याम्पसम्म पुग्नुपर्ने यात्राले मन लोभ्यायो। यात्रामा देखिने सुन्दरता फरक छ। त्यसभन्दा माथि अझै अपर बेस क्याम्प रहेछ। तर, मैले मेरो गन्तव्यलाई त्यहीँ बिट मार्ने निर्णय गरेँ। फर्किएँ। फर्किँदा भेटिएका काठमाडौंका र दाङका दुवै साथीहरु छुटेका थिए। बेस क्याम्प झरेर खाना खाएर त्यसै दिन तल झर्ने भएँ।

हिँडेदेखि त्यसै दिन पोखरा आउन सकिन्थ्यो। तर, मैले भेट्टाउनपर्ने केही थिएन। त्यसैले त्यसदिन लो क्याम्पमा बस्ने मन गरेँ।

घाम डुब्नु अघि मलाई लो क्याम्प पुग्नु थियो। ३ हजार उचाइको जंगलमा हुस्सुले लुकमारी खेलिरहेथ्यो। घाम ओरालो लागिसकेको थियो। मैले पैतालाको गति बढाएँ।

ओरालो लाग्दै गर्दा बाटो बिराएँ भने? यही सोचेर पनि म आत्तिरहेको थिएँ। त्यही डरले मलाई दौडाइरह्यो।

जे नहोस् भनेको त्यही भयो। बाटो बिराएछु। छिनछिनमा बिलाइ जाने हुस्सुले नमीठोगरी झुक्यायो। आफ्नै सुरमा ओरोलो झरिरहेको पैतालाले गलत बाटो हिँडेको पत्तो पायो। पदयात्री हिडिँरहने बाटोमा निकैबेरसम्म कसैको स्याइसुँइ केही सुनिनँ। साँझमा तल झर्दै गर्नेभन्दा माथि उक्लिने बढी हुन्थे। केहीबेर अघिसम्म त माथि उक्लिने पदयात्री बाटोमा ठोक्किरहेका थिए। अब तिनको पदचाप कानले भेउ पाउन छाड्यो। अझैं ३० मिनेटको बाटो पार गर्नुपर्ने थियो। त्यतिञ्जेलसम्म वनको बाघले खाओस् नखाओस् मनको बाघले पक्कै खान्छ भनेझैं भइसकेको थिएँ।

+++

बाटो पो बिराए कि! म भित्रको म डरायो। विदेशी नागरिक हराएर नभेटिएको समाचारको सम्झना त्यति नै बेला मेरो दिमागमा झल्याँस्स भयो। पन्ध्र मिनेट बढी त त्यतै अलमलिएँ। मुल बाटो नै भेटिनँ।

मलाई आत्तिनु थिएन। संयमित हुनु थियो।

हिँडेको बाटोले कतै डोहोर्‍याउने त पक्का हो। जुन बाटो हिँडे पनि आखिर कुनै न कुनै गन्तव्यमा त पुगिन्छ नै! भलै त्यो गलत किन नहोस्। त्यही बाटो समातेँ।

केही बेरपछि आफू हिँडेको बाटोको केहीमाथि खच्चडको घण्टी सुनेँ। ढक्क छाती फुलेर आयो। आनन्दको सास फेरेँ। अनि त्यहीँ बाटोबाट सिधैं माथि उक्लिएँ। बास बस्न हिँडेका पदयात्री फेरि भेटिन थाले। यतिञ्जेल हुस्सु फेरि हटिसकेको थियो।

+++

केही मिनेटको हिँडाइपछि जंगलको बिचबाट नीलो जस्तापाता जस्तो देखियो। यही नै हो भन्ने ठम्याउन सकिनँ। जे सुकै होस्। होटल अब नजिकै रहेको अनुमान लगाएँ।

माथि उक्लिदा अमृत दाइको होटलमा बसेकी म झर्दा पनि उहाँकैमा बसेँ। त्यहाँ फेरि नयाँ साथी भेटिए। रमाइलो कुराकानी भयो। पोखरा सँगै फर्किने भयौं। तेस्रो दिनको हिँडाइ बढी भएकाले ज्यान दुखिरहेको थियो। त्यो रात छिटै निदाएछु।

चौथो दिन खाजा खाएर फर्किनु थियो पोखरा। तीन दिन अघि म बेसक्याम्प जाने पदयात्री बनेर त्यहाँ पुगेकी थिएँ। ३ दिनपछि गन्तव्य पूरा गरेको पदयात्री। उकालो लागेको बाटो फेरि ओर्लिँदै आएँ। कहिले आफ्नो गन्तव्यमा पुग्न ओर्लिन पर्ने त कहिले उक्लिन।

तर, दुवै कति गाह्रो!

गाह्रो भए पनि रहरका पखेटा पलाएपछि उडान गर्न किन रोकिन्थेँ?



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell