हेटौंडाः हेटौंडामा जारी नेपाली कांग्रेसको पहिलो प्रदेश अधिवेशनको मतदान बिहान ९ बजेका लागि तोकिएको थियो। तर अझै मतदानको प्रक्रिया शुरु भएको छैन।
यहाँ ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको छ।
प्रदेश निर्वाचन समिति सदस्य रामकुमार अधिकारीका अनुसार अधिवेशनले सभापतिसहित आठजना पदाधिकारी चयन गर्नेछ। सभापतिमा संस्थापनबाट इन्द्रबहादुर बानियाँ, संस्थापन इतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जगदिशनरसिंह केसी, कृष्ण सिटौला प्यानलबाट भीमसेनदास प्रधानले उम्मेद्वारी दिएका छन्।
संस्थापनबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ, धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली तथा सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निर्मला बस्ताकोटीले उम्मेदवारी दिएका छन्। संस्थापन इतर समूहबाट उपसभापतिमा राजेन्द्र बुर्लाकोटी र मोहन बस्नेत, महामन्त्रीमा रामचन्द्र अर्याल ‘माइकल’, कञ्चन वादे, सहमहामन्त्रीमा दिलबहादुर तामाङ, ऋषिराम घिमिरे, जीवन डंगोल उमेदवार दिएका छन्। प्रधान समूहबाट उपसभापतिमा चन्द्र महर्जन र पर्शुराम पोखरेल, महामन्त्रीमा सुरेश श्रेष्ठ र गौरीप्रसाद दवाडी, सहमहामन्त्रीमा राजकुमार पाठक, जयनारायण सापकोटा र मोतीमाया तामाङले उम्मेदवारी दिएका छन्। सदस्यतर्फ खुल्लामा ८५ जना, समावेशीतर्फ १४८ जनाको उम्मेदवारी परेको छ।
निर्वाचन अधिकृत अधिकारीका अनुसार विहान ८ बजेबाट दिउँसो ४ बजेसम्म मतदान प्रक्रिया सुरु हुनेछ। अधिवेशनमा १३ जिल्लाका २१ सय ३७ जना सहभागी छन्। अधिवेशनबाट दुई उपसभापति, दुइ महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ। खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन्।