PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन : तीन जना निर्विरोध, ५६ पदका लागि मतदान जारी



एम बम

सुदूरपश्चिममा कांग्रेस प्रदेश अधिवेशन : तीन जना निर्विरोध, ५६ पदका लागि मतदान जारी

धनगढी :   नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश नेतृत्व चयनका लागि मतदान शुरु भएको छ। केही बेर अघिबाट धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान शुरु भएको हो।

९ जिल्ला र ३२ प्रदेश सभा निर्वाचन क्षेत्रबाट १ हजार १७ प्रतिनिधि काँग्रेसको प्रदेश कार्यसमिति चयनका लागि भइरहेको मतदानमा सहभागी रहेको महाधिवेशन प्रचारप्रसार समितिका संयोजक नृप सुनारले बताए। प्रदेश कार्यसमितिको ५६ पदका लागि १ सय ७९ जनाको उम्मेदवारी परेको छ। निर्वाचन समितिका अनुसार अधिवेशनले सभापतिसहित ८ जना पदाधिकारी चयन गर्नेछ भने ४८ प्रदेश सदस्य चयन गर्ने छ। जसमा पदाधिकारीका लागि १९ जनाको र १ सय ६० जनाले सदस्यमा उम्मेदवारी दिएका छन्। ५९ सदस्यीय कार्यसमितिमा तीन जना भने निर्विरोध चयन भइसकेका छन्। ५६ पदका लागि मतदान भइरहेका हो।

सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्व सभापति नारायणदत्त मिश्रको उम्मेदवारी परेको छ।

यस्तै संस्थापन पक्षबाटै प्रदेश उपसभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह र अछामका मेघराज खड्का तथा सह महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट , गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेदवारी दिएका छन्। उता संस्थापन इतर पक्षबाट उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खीना भण्डारीले उम्मेदवार दिएका छन्।

यस्तै सह महामन्त्रीमा लक्ष्मण शाही, हर्क स्वार र डम्मरी महरा रक्षाको पनि उम्मेदवारी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell