PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी? 



रिना थापा

गण्डकीमा देउवा र पौडेल पक्षबिच कडा प्रतिस्पर्धा : कसले मार्ला बाजी? 

पोखरा : स्थानीय तहदेखि नै नेपाली कांग्रेस अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबिचको प्रतिस्पर्धा प्रष्ट देखिएको छ। पहिलो पटक गण्डकी प्रदेशको अधिवेशनका क्रममा देउवा र पौडेल पक्ष प्यानल बनाएरै निर्वाचनमा होमिएका छन्। जसका लागि आज शनिवार पोखराको प्रर्दशनी केन्द्रमा मतदान जारी छ। 

गण्डकी वरिष्ठ नेता पौडेलको क्षेत्र भए पनि पछिल्लो समय प्रदेशमा सभापति देउवा पक्ष हावी हुँदै आएको छ। 

जिल्ला सभापतिमा गण्डकीका ११ जिल्लामध्ये ६ जिल्लामा देउवा पक्षका सभापति निर्वाचित हुँदा पौडेललाई नराम्रो धक्का लाग्यो। पौडेल पक्षबाट सभापतिमा स्याङ्जा, मुस्ताङ र गोरखा गरी तीन जिल्लामा मात्र जित निकाले। नवलपुरमा भने जिल्ला अधिवेशन रोकिएको छ।

बागलुङमा नेता कृष्णप्रसाद सिटौला निकट जिल्ला सभापतिमा निर्वाचित भए। यद्यपि, प्रदेशका कुनै पनि जिल्लामा सिटौलाको पकड राम्रो छैन। 

वरिष्ठ नेता पौडेलले आफ्नै गृह जिल्ला तनहुमा सभापति गुमाए। आफ्नो पोल्टामा रहेको कास्की र लमजुङमा समेत उनीपक्षीय नेताले सभापति पद गुमाए। 

गण्डकीमा पौडेल पक्ष यसअघि बलियो मानिए पनि पछिल्लो समय देउवा पक्षले आफ्नो पकड जमाउँदै लगेको देखिन्छ। देउवा पक्षका वजनदार नेता अर्जुन जोशीले आफ्नो जिल्लामा पकड बनाउन सफल छन् भने गोपालमान श्रेष्ठले गृह जिल्ला स्याङ्जामा पकड गुमाएका छन्। 

देउवा पक्षले जिल्लामा आफ्नो पकड जमाउँदै लगे पनि जिल्लाका प्रदेश र महाधिवेशन प्रतिनिधिमा भने पौडेल पक्षकै बहुमत देखिन्छ। पौडेल पक्षले पालिका सभापति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिमा आफ्नो पकड जमाउन सकेको नेताको आँकलन छ। 

यसको प्रभाव पहिलो पटक गठन हुन लागेको नयाँ प्रदेश समितिमा देखिँदैछ। आज शनिवार मतदान भइरहेको कार्यसमिति चयनमा पालिका तहका सभापति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिले मतदान दिन पाउँछन्।

समग्रमा प्रदेशमा पौडेल पक्ष ५५ प्रतिशत र देउवा पक्ष ४५ प्रतिशत पकड रहेको नेताहरु बताउँछन्। जिल्लागत हिसाबले कास्कीमा पौडेल पक्षका ६५ र देउवाका ३५ प्रतिशत समर्थक छन्। सबैभन्दा धेरै प्रतिनिधि कास्कीमा रहेकाले पौडेल पक्षका लागि फाइदाजनक छ। तर, संस्थापन पक्षको चलखेलले पौडेल पक्षमा रहेको मत यथावत रहन सक्नेमा भने नेताहरुले नै आशंका व्यक्त गरेका छन्।

स्याङ्जामा देउवा ५५ प्रतिशत पकड राख्दा ४५ पौडेलको छ। पर्वतमा देउवा ६० प्रतिशत रहँदा पौडेल ४० छन्। नवलपुरमा पौडेलको पकड राम्रो छ। ६० प्रतिशत पौडेल र ४० प्रतिशत देउवाको पकड रहेको कांग्रेस नेताहरु बताउँछन्। यता गोरखामा देउवा ६० प्रतिशत रहँदा पौडेल ४० छन्। मनाङ, लमजुङ र तनहुँमा बराबरी रहेको नेताहरुको आँकलन छ। बागलुङमा ५५ प्रतिशत देउवाको पकड रहँदा ४५ प्रतिशत पौडेलको छ। मुस्ताङमा पौडेल पक्ष बलियो देखिन्छ। म्याग्दीमा देउवा पक्षले आफ्नो पकड राम्रो बनाएको छ। 

नेतृत्व चयनका लागि आसन्न निर्वाचनमा देउवा र वरिष्ठ पौडेल पक्षबिच प्रतिस्पर्धा चल्दै छ। प्रदेशमा संस्थापन र संस्थापन इतर प्यानल बिच कडा प्रतिस्पर्धा हुने देखिन्छ। पोखरामा भइरहेको निर्वाचनमा सभापतिका लागि देउवा पक्ष र  पौडेल  पक्षधर गरि दुई प्यानल प्रतिस्पर्धामा छ। देउवा पक्षबाट प्रदेश सभापतिमा केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी मैदानमा छन् भने पौडेल पक्षबाट शुक्रराज शर्मा छन्। शर्माले कास्कीमा १७ वर्ष सभापति रहेर कांग्रेस हाँक्दै आएका छन्। देउवा पक्षका जोशी १३औं महाधिवेशन अघिसम्म पौडेल समूहतिर नजिक थिए। 

कूल ६८ पदका लागि हुने निर्वाचनका लागि जम्मा १ सय ४३ जनाको उम्मेद्वारी छ। गण्डकीमा कूल एक हजार एक सय ५७ मतदाता रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell