काठमाडौं : महाधिवेशनमय छ मुलुक। भर्खरै चितवनमा नेकपा एमालेको महाधिवशेन सकियो। कांग्रेसले आज प्रदेशस्तरमा निर्वाचन अगाडि बढाइरहँदा राजधानी काठमाडौंमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चुनावी राप उत्कर्षमा छ।
भृकुटीमण्डपमा भिड छ - राप्रपाका नेता कार्यकर्ताको। यतिखेर चुनाव जारी छ। ढिलोगरी मतदान सुरु भएकाले तोकिएको अवधि अर्थात् ५ बजे नै मतदान सकिने छाँट छैन। यो समाचार तयार पार्दासम्म करिब ३ हजार प्रतिनिधिले मतदान दिइसकेका छन्।
भृकुटीमण्डप छिर्ने ढोकाबाट फनक्क घुमेको लाइनमा मानिसहरु कोचाकोच हालतमा छन्। मतदानका लागि लागेको यो लाइन धेरै छिटो सरिरहेको छैन।
नेकपा एमालेको जस्तो स्थिति छैन राप्रपाको निर्वाचनमा। अध्यक्षका लागि कमल थापा बलियो उम्मेदवार हुन् तर एमालेको केपी ओलीजस्तो होइनन्। राजेन्द्र लिङ्देन पनि बलियोगरी चुनावमा उत्रेका छन्। लिङ्देनले थापासँग बलियो प्रतिस्पर्धा गर्दैछन्।
भृकुटीमण्डपको कभर्ड हलमा मतदान जारी छ। ठूला ब्यानरहरु उत्तिकै टाँगिएका छन् - मत माग्दै। एमाले महाधिवेशनमा यस्तो दृश्य थिएन जुन राप्रपाको महाधिवेशनमा देखिएको छ।
मत माग्न थापा र लिङ्देन मैदानमा खटिइरहेका छन्। आफ्ना उम्मेदवारको फोटो छातीमा झुन्ड्याउँदै मत माग्नेहरुको सक्रियता उत्तिकै छ। यस्तै छ राप्रपाको निर्वाचनका दृश्यहरु :