PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

अबको निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्छः माधव नेपाल



पहिलोपोस्ट

अबको निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्छः माधव नेपाल

बुटवलः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान विपरीत दुई÷दुई पटक संसदको विघटन गरेर जनमतको अपमान गर्ने केपी शर्मा ओलीलाई जनताले निर्वाचनबाट परास्त गर्ने बताएका छन्।

अर्घाखाँचीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो निर्वाचनपछि एमालेलाई लाइट बालेर खोज्नुपर्ने अवस्था आउने दावी गरे।

‘जनमतको अपमान गर्नेलाई निर्वाचनमा जनताले देखाइ दिन्छन्’ उनले भने, ‘तपाईंहरु पनि भ्रममा नपर्नुस्। अस्ति भर्खरै सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा रामबहादुर थापालाई कलम चिन्हका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाले पराजित गरेको स्मरण गराउँदै कलम चिन्हको विजयी यात्रा सुरु भैसकेको छ।’ 

संविधानको रक्षा गर्दै संसद् जोगाउने शक्तिहरु निर्वाचनसम्म एकै ठाउँमा रहने दावी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले निर्वाचनबाट ओली पत्तासाप हुने ठोकुवा गरे। 

ओलीको दम्भ, घमण्ड र सर्वसत्तावाद प्रवृत्तिले  केन्द्रीय सरकार लगायत सवै प्रदेश सरकार ओलीले गुमाएको बताए। उनले संविधान बचाउने गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भ्रष्टाचारको छानबिन गर्न आग्रह गरेका छन्। 

नेता नेपालले सरकारमा बस्नेले गलत बाटोमा जान छुट नभएको उल्लेख गर्दै भ्रष्टाचार गर्नेलाई जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। 

नेपालले पार्टी विस्तारै मजबुत हुँदै गएको दावी गर्दै उनले नेता, कार्यकर्तालाई आफ्नो तह र जिम्मेवारीलाई अवलम्बन गर्न निर्देशन दिए। पाँच दलको गठबन्धन सरकार भएको जस्तै अब हुने राष्ट्रिय सभा, स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन सरकारमा रहेका दललगायत अरु दलसँग सुमधुर सम्बन्ध राख्दै सहमति गरेर अगाडि बढ्न उनले निर्देशन दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell