PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप



पहिलोपोस्ट

कुनै बेला सगरमाथाको प्रवेशद्वार मानिने जिरीको फेरिएको रुप

  • डा सुरेश तामाङ-

काठमाडौंबाट १८५ किमी पूर्वतर्फ रहको जिरीका लागि हामी रवाना भयौं। करिब १० बजेतिर निस्केर बल्लतल्ल लोकन्थली काटेपछिमात्र हाम्रो मोटरको गति केही बढ्यो। खाडीचौरमा खाना खाँदा करिब १ बजिसकेको रहेछ। त्यसपछि हामी लाग्यौं उकालो।

भोटेकोशी पुलदेखि मुढेसम्म सडक राम्रो रहेछ। तर, त्यहाँबाट खरीढुंगा, बोच हुँदै चरिकोट बजारसम्मको सडक त अति नै जीर्ण। हालैको यो यात्रामा जीर्ण सडकलाई बिर्साउने बाहना बन्यो चरिकोटबाट देखिएको गौरीशंकर हिमाल। केही तस्विर खिचेपछि हामी तामाकोशी पुल पुग्यौं। त्यहाँ चिया खाएर नाम्दु, मैनापोखरी हुँदै खावाको उकालो काट्दा झमक्क साँझ परिहाल्यो। खावा जिरी सडक खण्ड भने निर्माणाधीन रहेछ। अर्को पटक जाँदा भने यो यात्रा कम कष्टकर होला कि?

हामीहरुले एक होटलमा रात बितायौं। बिहान सबेरै बजार र आसपासको क्षेत्रमा भ्रमण गरी केही तस्विर पनि लियौं। त्यसपछि दिनभर अस्पतालमा छलफल र योजना बमोजिम कार्यक्रम भयो। साँझमा वरपर भेटिएका केही यात्री र स्थानीयसँग छलफल गरियो। विगतभन्दा धेरै कुराहरु परिवर्तन भएको पाएँ जिरीमा।

जिरीको मुख्य बजार लिँकन बजारको नामले चिनिन्छ - जुन जिरी नगरपालिका वडा नं ५ मा पर्दछ। बजार क्षेत्र अलि फराकिलो छ। दायाँबायाँ धातुको बारबन्देज र केही बिरुवाहरु रोपिएको छ। तर, बजारको दुवैतर्फ रहेका खोलाहरु भने केही प्रदुषित र पुलहरु साँघुरा नै छन्। बजार क्षेत्रमा पसल ब्यवसाय बढेकाले फोहरमैला पनि बढेको देखियो। जनघनत्व पनि केही बढेको रहेछ। बजार क्षेत्र माथितिर बस्ती विस्तार भएको छ। कंक्रिटका घरहरु थपिएका छन्। तर, केही कलभर्ट तथा पुल भने निर्माण सम्पन्न नभइ अलपत्र रहेको देखिन्छ। स्थानीय सरकारी र केही निजी विद्यालय पनि सञ्चालित रहेको छ। बजार नजिकै एक सामुदायिक माध्यमिक विद्यालय छ भने एक मन्टेश्वरी र एक चर्चसमेत देखिन्छ। सन् १९८२ मा स्वीस सरकारको सहयोगमा स्थापित जिरी प्राविधिक शिक्षालय आज पनि प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् अन्तर्गत सञ्चालित रहेको छ। बजार नजिकै एक पूरानो बौद्ध चैत्य पनि ज्यूँकात्यूँ छँदैछ।

जिरी वरपर भ्रमण गर्न लायक केही आकर्षक स्थलहरु पनि छन्। जसमध्ये यलुङ्ग उपत्यका, च्योदोङ तथा क्याङसे पोखरी, हनुमन्ते डाँडा, गुराँस पार्क र ठूलो नाँगी, स्टोन पार्क, पाँचपोखरी, जटापोखरी, जिरेश्वर महादेव आदि मुख्य रुपमा छन्। वरिष्ठ भूगर्भविद टोनी हेगनको सम्झनामा स्थापित टोनी हेगन इकोलोजिकल पार्क पनि जिरी बजारबाट १५ मिनेट पैदल हिँडेर पुग्न सकिन्छ।

बजारको पल्लो छेउमा रहेको बसपार्क विस्तार भएको भान हुन्छ। नजिकै ठूलो ब्यापारिक भवन र कोल्ड स्टोर निर्माणाधीन छ। तर, बजार नजिकै रहेको तेन्जिङ हिलारी पार्क भने सामान्य अवस्थामै। कर्मचारी वा रेखदेखको अभावमा हेला भएको झै लाग्छ। प्रथम सगरमाथा आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीको सम्झनामा निर्मित यस पार्कमा दुवैको अर्धकदका सालिक पनि प्रतिस्थापन गरिएको छ।

जिरी वरिपरी पैदलयात्री र पथप्रदर्शकहरुका लागि संकेतहरु राखिएको छ। पुरानो बौद्ध चैत्यका अलवा थप नयाँ बौद्ध विहारहरु निर्माणाधीन छन्। जिरीबाट करिब ६ किमी टाढा बुद्ध पार्क रहेको छ। जसमा २० फिट अग्लो बुद्ध मूर्ति स्थापना भएको छ।

२०४२/४३ सालसम्म सञ्चालनमा रहेको हवाइ मैदान हाल पूर्ण रुपमा बन्द रहेको छ। विमानस्थलको केही भाग पशु विकास फार्मका लागि हस्तान्तरण भएको छ। जहाँ १०० बढी जर्सी जातका गाईहरु दूध उत्पादनका लागि पालिएका छन्। तर हवाइ मैदानको बाँकी धेरै हिस्सा केवल गौचरण र खेलमैदानका रुपमा मात्र प्रयोग भएको छ। यसको अन्य हिसाबले उपयोग गर्न सके उचित हुने थियो। जुरीच डाँडामा स्थानीय सरकारका कार्यालयहरु, दमकल र बजार क्षेत्र विस्तार भएको छ।

स्थानीय जिरी अस्पताल हाताभित्र विभिन्न कालखण्डमा नयाँ पुराना भवनहरु सरकार र दातृहरुले बनाइ दिएका छन्। तर अस्पतालमा कर्मचारी अभाव र अन्य ब्यवस्थापकीय चुनौतीहरु भने कायमै देखिन्छ। हालै ५१ शैय्याको अस्पतालका रुपमा हस्तान्तरण भए पनि आर्थिक कठिनाइ, कर्मचारी अभाव र आन्तरिक ब्यवस्थापकीय समस्यामा रहेकाले सेवा विस्तार नभएको देखियो। विगतमा निकै ख्याति कमाएको यस अस्पतालमा तालिम प्राप्त दक्ष जनशक्तिको अभावमा शल्यक्रिया सेवा बन्द छ। स्थानीयहरु भन्छन्, 'कुनै बेला राजधानीको वीर अस्पतालपछि देशभरमा एकमात्र एक्सरे सेवा जिरी अस्पतालमा हुने गरेको थियो।' यहाँ विदेशी चिकित्सकहरुले समेत सेवा दिने गरेको र राम्रो उपचारका लागि ख्याति कमाएको थियो।

आसपासको हरिया वनजंगल, प्राकृतिक वातावरण भने कायमै रहेको छ। हिमाली भेगमा पाइने रुखविरुवा, खोलानाला र घाँसेमैदान कायम रहेको छ तर माछापोखरी भने सुकेको छ। आसपासमा किवी खेतीको निकै प्रचार प्रसार र प्रवर्द्धन भएको देखिन्छ। स्थानीय खुद्रा मूल्य २५० प्रति किलोग्राम रहेको किवीको बजार राम्रो रहेको छ भने प्रशोधन गरी जाम र जुससमेत बनाउने गरिन्छ। किवीमा प्रशस्त पोषक तत्वहरु भएकाले यसलाई स्वास्थ्यकर फल मानिन्छ। जिरीमा देशकै पहिलो चीज प्रशोधन केन्द्र पनि छ। स्वीजरल्यान्डको सहयोगमा स्थापित यस केन्द्रमा हाल पनि चीज उत्पादन हुन्छ र यसको ब्यापार पनि कायमै छ।

विगतमा दैनिक १५० देखि २०० पर्यटकहरु आउने जिरी हिजोआज सुनसान जस्तै लाग्छ। सगरमाथाको प्रवेशद्वार मानिने जिरीमा विगतको दाँजोमा विदेशी पर्यटकहरु अति नै घटेको छ। कोभिडपछि थलिएको पर्यटनको मार जिरी क्षेत्रमा पनि परेको छ। फलतः यहाँ नगन्य आन्तरिक पर्यटकहरु मात्र देखिन्छन्।

यो छोटो भ्रमणमा यहाँको भौतिक पूर्वाधारको सामान्य विकास भएको देखिए पनि आम रुपमा मानिसहरुको जीवनस्तर र सामाजिक विकासका विविध पक्षको खासै अध्ययन गर्न सकिएन। तर, जिरीबाट वागवानी फार्म, पशु स्वास्थ्य कार्यालय, वन कार्यालय, नेपाल बैंक लिमिटेड, सेनाको गण आदि सारिएकोमा स्थानीयहरुले गुनासो गरेका छन्।

जिरीको पर्यटकीय महत्व र अन्य सामाजिक आर्थिक पक्षहरुको थप अध्ययन गरिनुपर्दछ। स्थानीय रुची र खाँचो बमोजिमका योजना र कार्यक्रमहरु संचालन गरेर स्थानीय जनजीविका, सामाजिक उत्थान र विकासका बारेमा चिन्ता र चासो गरिनुपर्छ। आन्तरिक पर्यटनको गन्तब्य जिरीलाई थप विकास र प्रवर्द्धन गर्न सके स्थानीय जिरी नगरपालिकालगायत आम नगरवासीहरुलाई राम्रो हुने थियो।

प्राकृतिक, धार्मिक र साँस्कृतिक सुन्दरताको धनी जिरी वरिपरी आदिवासी जिरेल, शेर्पा, तामाङ र सुनुवारहरुको बसोवास रहेको छ। यो मेरो तेस्रो भ्रमण हो। पहिलो पटक २०४६ ताका विद्यार्थी कालमा त्यहाँ पुगेको थिएँ। त्यसबेला जिरी अति नै अर्गेनिक, शान्त र रमणीय थियो। तर, जाडोले थरथर कामेको भने राम्रो सम्झना छ। समुन्द्र सतहबाट करिब १९०० मिटर उचाईमा रहेको जिरीमा हिउँदमा तापक्रम निकै कम हुने र हिउँसमेत पर्छ। अर्को पटक २०५६ तिर फेरि युएमएन अन्तर्गत ग्रामीण विकास केन्द्रको वार्षिक कर्मचारी भेलामा सहभागी हुन म जिरी गएको थिएँ। जिरी प्राविधिक शिक्षालय भित्रको सभा हलमा कार्यक्रम भएको थियो। त्यहीको छात्रावासमा बसेको जस्तो लाग्छ। यहाँ मंसिर पहिलो साता तिरको मौसम सारै राम्रो हुने रहेछ।

यसपाली पनि कामकै सिलसिलामा जिरी जान पाइयो। स्थानीय जिरी अस्पताल र यसको सेवा सम्बन्धी एक अध्ययनका लागि म त्यहाँ गएको थिएँ। करिब दशकको अन्तरालमा जाँदा केही कुराहरु फेरिएको अनुभव गरेँ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell