PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?



राधेश्याम पटेल

प्रदेश २ मा किन भइरहेको छ कांग्रेस अधिवेशन भाँड्ने खेल : दोषी देउवा कि निधि?

वीरगंज : ६ प्रदेशमा कांग्रेस अधिवेशनको सम्पन्न हुन लागेको छ। कतिपयको मतपरिणाम सार्वजनिक भइसकेको छ। तर प्रदेश २ को कांग्रेस अधिवेशन अझै अन्योलमा छ। कांग्रेस उपसभापति विमलेन्द्र निधिको बलियो पकड मानिने प्रदेश २ मा किन अन्योलता कायम रहेको छ? यसबारे कांग्रेस सभापति शेरबहादुर देउवादेखि उपसभापति निधिसम्मलाई विभिन्न आरोप लाग्न थालेको छ।

आफूविरुद्ध टक्कर दिन खोजेपछि देउवाले निधिलाई साइजमा ल्याउन प्रदेश २ को अधिवेशन रोकेको कतिपयको आरोप छ। यता कतिपयले भने आफू कमजोर हुँदै गएपछि अधिवेशन भाँड्न निधि नै सक्रिय बन्दै गएको आरोप लगाउँछन्।

निधि कमजोर बन्दै हो?

संस्थापन पक्षसंग विद्रोह गरी केन्द्रीय सभापति पदमा उम्मेद्वारी घोषण गरेका निधि आफ्नै विरासत भएको प्रदेशमा कमजोर देखिएको बताइन्छ। धनुषावासी निधि धनुषाबाहेक बाँकी ७ वटा जिल्लामा कमजोर देखिएको राजनीतिक विश्लेषक बताउँछन्। अधिवेशन अघि प्रदेश २ मा उनको पक्षमा आठ जिल्लाका जिल्ला सभापतिहरु थिए। तर अहिले अवस्था फरक बन्दै गएको छ। विगतमा उनको साथ दिने जिल्ला तहका नेता कार्यकर्ता अहिले संस्थापन पक्षतिरै लागेपछि उनको उपस्थिति र वर्चश्व कम हुँदै गएको राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन्। ‘अधिवेशन अघि उनको पकड राम्रो मानिएको थियो, तर पछिल्लो नतिजाले उनको अवस्था कमजोर देखिएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहयो भने उनलाई अगामी महाधिवेशनमा समस्या उत्पन्न हुन सक्छ।’

उनले राजनीतिमा कुन बेला कुन नेता कता तिर लाग्छन्, त्यो निश्चित नभएकोले प्रदेश अधिवेशनमा पनि के नतिजा आउन सक्छ भन्न मुस्किल रहेको बताए। ‘प्रदेश अधिवेशनमा निधि पक्ष कि देउवा पक्षले बाजी मार्छ, अहिले भन्न हतार होला,’ उनले भने, ‘अहिले प्रदेश २ मै विभिन्न फयाक्टरले काँग्रेसको राजनीतिलाई डोर्‍याइरहेको छ।’

त्यसैगरी, नेपाली काँग्रेस निकट तराई मधेस समन्वय समितिका संयोजक रामनारायण कुर्मीले धुनषाबाहेक उनको खेमाको प्रदर्शन १५ देखि २० प्रतिशतमा रहेकोले धेरै बताउन उचित नहुने विश्लेषण गरे। ‘पर्साको १०४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ८५ जना देउवा समूहमा हुनुहुन्छ, बाँकी १९ जना निधिजीका समूह हुन्,’ उनले भने, ‘यसले अगामी दिनको राजनीतिक तस्बिरलाई मूल्याकन गर्न सकिन्छ।’ उनले धनुषामा ५० प्रतिशतमा निधि समूह र ५० प्रतिशमा अन्य समूह रहेको चर्चा गर्दै सप्तरी, सिरहा, महोत्तरी, रौतहट, बारा, पर्सालगायत जिल्लामा ६० प्रतिशतभन्दा बढी केन्द्रीय र प्रदेश प्रतिनिधि देउवा समूहका निर्वाचित भएकोले पनि अगामी महाधिवेशनमा देउवा समूह नै प्रदेश २ बाट बलियो साबित हुने उनको भनाई छ।

कमजोर देखिएपछि अधिवेशन भाँड्ने दाउमा निधि समूह!

प्रदेश २ को विभिन्न जिल्लाको प्रदेश र क्षेत्रीय अधिवेशनमा कमजोर प्रदर्शन गरेको नेपाली कांग्रेसको संस्थापन इतर निधि खेमाले अधिवेशन भाँड्ने दाउमा लागेको देखिएको छ। नेपाली काँग्रेस प्रदेश २ को अधिवेशन गराउने निर्वाचन समितिकै एक मतदान अधिकृतका अनुसार निधि पक्षद्वारा आफूहरुलाई अधिवेशन नगराउन दबाव दिइरहेको आरोप लगाए। ‘अहिले आठ जिल्लामध्ये करिब ५० प्रतिशतमात्र मतदाताको नामावली आइपुगेको छ,’ मतदान अधिकृत विनय सिंहले भने, ‘एक पक्षले दैनिक नारा, जुलुश निकालेर प्रदेश २ का अन्य जिल्लाबाहेक अधिवेशन गर्न नमिल्ने भनिरहेका छन्।’ 

प्रदेश स्तरीय काँग्रेसका अगुवा नेताहरुको आइतवार दिउँसो १ बजे बैठक राखिएको छ, उक्त बैठकले अधिवेशन गर्ने कि नगर्ने विषयमा अन्तिम निर्णय गर्नेछ उनले बताए। ‘हाम्रो पनि प्रयास छ, सबै जिल्लको सहभागिता होस, सबैको सहभागिता नभए अधिवेशन विवादित हुन्छ,’ वरिष्ठ अधिवक्तसमेत रहेका सिंहले भने, ‘यसैवीच मंसिर २२ गते विवाह पञ्चमी छ, त्यसकारण पनि अहिले जनकपुरमा अधिवेशन प्रभावित हुने देखिएको छ।’ उनका अनुसार आइतवार मध्यान्ह १२ बजेसम्म विभिन्न जिल्लाको नमावली आयो भने बैठकले निर्वाचनको प्रकृया अघि पनि बढ्ने आशा व्यक्त गरे। हाल प्रदेश २ को सर्लाहीमा वडा अधिवेशनपछि कुनै तहको अधिवेशन हुन सकेको छैन, आपसी विवादको सर्लाहीको ४ क्षेत्रको अधिवेशन स्थगित छ। त्यसैगरी, बाराको क्षेत्र नं २, महोत्तरीको क्षेत्र नं ३, सप्तरीको क्षेत्र नं ४ को प्रदेश र क्षेत्रीय प्रतिनिधिको नामावाली आउन बाँकी रहेको छ। प्रदेश २ मा आठ जिल्लमा एक जिल्लामा करिब १३६ जना प्रदेश प्रतिनिधि, १०४ जना केन्द्रीय प्रतिनिधि, जिल्ला सभापति, केन्द्रीय सदस्य गरी करिब २१ सय मतदाता रहने छन्।

निधि पक्षमाथि लागेको आरोप गलत : शर्मा

प्रदेश २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले निधि पक्ष कमजोर भएर अधिवेशन भाँड्न लागेको कुरा गलत भएको प्रतिक्रिया दिएका छन्। उनका अनुसार अधिवेशन गराउने जिम्मा निर्वाचन आयोगको भएकोले त्यसरी विश्लेषण गर्नु नजायज हुने तर्क गरे। ‘जहाँ निधिजीको समूह कमजोर छ, त्यहाँ अधिवेशन भइसक्यो,’ निधि समूह निकट मानिने मन्त्री शर्माले भने, ‘सर्लाहीमा अधिवेशनको दौरान गोली चलेको छ, विभिन्न जिल्लाको क्षेत्रको अधिवेशन बाँकी छ।’ उनले आइतवार दिउँसो १२ बजे मनोनयन दर्ता गराउने समय र एक बजेदेखि बैठक राखिएको र सर्लाहीलाई छोडेर अधिवेशन गर्ने कि नगर्ने बारेमा आइतवार टुंगो लाग्ने बताए। प्रदेश २ को अन्य जिल्लाको क्षेत्रलाई छोडेर गए ती नेताहरु अवसरबाट बञ्चित हुने भएकोले अधिवेशन गर्ने तर्क गरिएको हो। केन्द्रीय महाधिवेशन पश्चात पनि पुस पहिलो साताभित्र प्रदेशको अधिवेशन गर्न सकिने पनि उनले सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell