काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको बताएका छन्।
उनले पुस्तान्तरणको कुरा गर्ने कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पनि यस मुद्दामा राप्रपाले नेतृत्व गर्ने बताए।
'२०४६ सालपछि राष्ट्रको नेतृत्वमा रहेको असफल पुस्तालाई परिवर्तन गर्न आवश्यक छ भन्ने एमाले कांग्रेस र माओवादीका पुस्तान्तरणका कुरा गर्ने नेताहरुलाई पनि राप्रपाले नेतृत्व गर्छ। हामीले पुस्तान्तरण गरेर देखाएका छौँ,' निर्वाचित भएपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने।
अध्यक्ष लिङ्देनले राप्रपा जीवनको सबैभन्दा कमजोर अवस्थामा रहेको भन्दै उनले यसबाट उठाएर देशको अग्रणि पार्टी बनाएर उठाउनु रहेको बताए।
'राजा चाहियो भन्ने जनता हामी भन्दा बढी सडकमा छन्। हामीले जोड्न सकेका छैनौँ,' उनले भने, '६ महिनाभित्र राष्ट्रप्रमुखको रुपमा राजा, कार्यकारीमा सोझै जनताले चुन्ने प्रधानमन्त्री चाहने सबै नेपालीलाई जोड्छौँ।'
उनले आफ्नै नेताहरुसँग निर्वाचनमा प्रतिस्पर्धा गरेको भन्दै अगाडि भने, 'यो कुनै नेता र व्यक्तिको विरुद्धको विरोध र विद्रोह होइन। राप्रपाको जीवनको लागि मात्र होइन। राप्रपाले लिएको मुद्दाको लागि यो विद्रोह अनिवार्य थियो।'
उनले आफूहरुलाई जित्नै पर्ने बाध्य रहेको र सोही अनुरुप प्रस्तिपर्धा गरेको बताए। 'हामीलाई जित्नै पर्ने वाध्यता थियो। हामीले जुन प्रकारको प्रतिस्पर्धा गर्यौँ। यसले पार्टीमा चिरा पर्ने हो कि, गुटैगुट हुने हो की आशंका पनि थिए,' उनले भने, 'हिजोसम्म जे भयो भयो। अब आजबाट हामी एक छौँ। अझ यो नेतृत्व परिवर्तनका अनेक आयाम र उपलब्धी छन्। राप्रपाका कार्यकर्ताका लागि सबैभन्दा ठूलो उपलब्धी भनेको हामी हिजो एउटा नेताको मान्छे भएर जान्थ्यौँ। अब हामी राप्रपाको मान्छे भएर जान पाउँछौँ। कुनै गुट छैन पार्टीमा कोही कसैको मान्छे छैन। सबै राप्रपाको मान्छे भएर जान्छौँ।'
उनले निर्वाचन आन्तरिक प्रतिस्पर्धा भएको भन्दै विजय जुलुस निकाल्न आवश्यक नरहेको बताए
'कुनै जुलुस निकाल्न पर्दैन। नाराबाजी गर्नुपर्दैन। माला बोकेर आउनुपर्दैन,' लिङ्देनले भने, 'यो आन्तरिक चुनाव हो, सकियो। माला बोकेर आएन भनेर के भन्छ कि भन्नुपर्दैन। माला बोकेर आउनुपर्दैन है तपाईँहरु।'
