PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

पहिलो जितको खोजीमा आर्मी, बिग्रेड ब्वाइजले रोक्ला ?



पहिलोपोस्ट

पहिलो जितको खोजीमा आर्मी, बिग्रेड ब्वाइजले रोक्ला ?

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा आज एक मात्र खेल हुँदैछ। त्रिपुरेश्वस्वरस्थित दशरथ रंगशालामा हुने खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब साँझ पौने ५ बजे आमने सामने हुनेछन्।

उपाधिको दाबेदार मानिएको आर्मीले जारी सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको छैन। आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। दुई खेलबाट आर्मीले हालसम्म २ अंकमात्र जोड्न सकेको छ। यसले आर्मीको उपाधि होडलाई प्रभाव पारेको देखिन्छ। यद्यपि, आफूहरु अझै पनि उपाधिकै होडमा रहेको बताउँछन् आर्मीका सहायक प्रशिक्षक राजु तामाङ।

'हामी अहिले पनि उपाधि दाबेदारकै मेन्टालिटीमा छौं। तीन अंक लिनुपर्ने लक्ष्य छ। यसअघिका अपोनेन्टहरु बलिया थिए,' उनले भने, 'टिममा स्ट्राइकिङको अभाव खड्किएको हो। अब आउने म्याचमा राम्रो जवाफ दिने पक्षमा छौं।'

अंकतालिकामा ब्रिगेड ब्वाइज अगाडि भए पनि आफूहरु कमजोर नभएको भन्दै तीन अंकका लागि खेल्ने तामाङले बताए।

'बीबीसी हामीभन्दा माथि छ। हामी पनि कमजोर छैनौं। तीन अंकका लागि खेल्छौं। उनीहरुलाई कसरी हराउने फोकस छ,' उनले भने, 'गेम हो कोही खेलाडी हुने या नहुने भइहाल्छ। हामीसँग जति प्लेयर छन् ति सबै महत्वपूर्ण छन्। स्ट्राइकर मात्र चाहिन्छ भन्ने पनि छैन। अट्याकिङ मिडफिल्डरहरुले पनि सम्भावना बोकेका हुन्छन्।'

स्टाइकर नवयुग श्रेष्ठले चोट बोकेसँगै आर्मीको आक्रमणमा समस्या देखिन्छ।

अर्कोतर्फ ब्रिगेड ब्वाइजले लिगमा अर्को विभागीय टोली एपीएफलाई ३-२ गोलअन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। त्यस्तै दोस्रो खेलमा न्युरोड टीम एनआरटीसँग गोलरहित बराबरी खेलेको थियो।

ब्रिगेडका अफिसियल राजु श्रेष्ठले आर्मी फिजिकल्ली बलियो भएकोले आफ्नो टिमले त्यसलाई ध्यानमा राखेर ट्रेनिङ गरेको बताए। 'हामी ३ अंककै लागि खेल्नेछौं'उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell