PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राप्रपाको नेतृत्वमा लिङ्देन : शाही शासनकालमा कमल थापा गृहमन्त्री हुँदा लिङ्देन थिए जिविस सभापति, केन्द्रीय सदस्य भएको १२ वर्षमा पार्टी अध्यक्ष



पहिलोपोस्ट

राप्रपाको नेतृत्वमा लिङ्देन : शाही शासनकालमा कमल थापा गृहमन्त्री हुँदा लिङ्देन थिए जिविस सभापति, केन्द्रीय सदस्य भएको १२ वर्षमा पार्टी अध्यक्ष

काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुस्तान्तरणको नारासहित राजेन्द्र लिङ्देन नेतृत्वमा पुगेका छन्। उनलाई नेतृत्वमा पुग्न सहज भने थिएन। 

राप्रपाको एकता महाधिवेशनमा अध्यक्षमा उम्मेद्वारी दिँदैगर्दा उनको प्रतिस्पर्धा अध्यक्ष कमल थापा विरुद्ध थियो। लामो समय देशको राजनीतिको केन्द्रमा रहेका थापालाई पराजित गर्दै लिङ्देन नेपाली राजनीतिमा राजसंस्था र हिन्दु राष्ट्र बोकेको फरक राजनीतिक विचार सहितको पार्टीको अध्यक्षमा निर्वाचित भए। 

निर्वाचित भइसकेपछि लिङ्देनले कार्यकर्तालाई सम्बोधन गर्दै भनेका छन् - '४६ साल पछिको नेपालको राजनीतिमा असफल सिद्ध भइसकेको नेतृत्वलाई परिवर्तन गर्नु आवश्यक थियो। हामीले जित्नै पर्ने थियो। हिजो सम्म निर्वाचनमा के के भयो? अब हामी सबै एक हौँ। तपाईँहरु विजय जुलुस निकाल्नु पर्दैन। कसैको विरुद्ध नारावाजी गर्नु पर्दैन।'

राजाको प्रत्यक्ष शासनमा सत्तामा रहेका कमल थापा त्यसपछि पनि राजसंस्थाको वकालत गर्दै गणतान्त्रिक सरकारमा पटकपटक मन्त्री बने। राजतन्त्र देखि गणतन्त्रसम्म सँधै सत्ताको वरिपरि रहिरहेका कमल थापालाई झापाबाट राजनीतिमा उठेका लिङ्देनले पराजित गरे। त्यो पनि केन्द्रीय कमिटीमा पुगेको १२ वर्षमै। 

को हुन लिङ्देन?
२०२२ साल भदौ २२ गते पाँचथरमा जन्मिएका लिङ्देन झापा क्षेत्र ३ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी नेपालको संघीय संसदमा राप्रपाबाट प्रतिनिधित्व गर्ने एक मात्र सांसद हुन्। २०७४ सालमा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा उनले वाम गठबन्धनको समेत साथ पाएका थिए। 

झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली उठ्दै गर्दा झापा ३ लिङ्देनलाई छाडिएको थियो। निर्वाचनमा एमालेसँग मत साटफेर गरेर विजयी भएका लिङ्देन त्यसपछि नेपालको केन्द्रीय राजनीतिमा छाएका हुन्। २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनीतिक यात्रा सुरुवात गरेका उनी २०४९ सालमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बनेका थिए। त्यतिबेला उनी राप्रपा झापाको सचिवसमेत थिए। २०४७ सालमा उनी राप्रपा स्थापना हुँदा उनी जिल्ला सचिव भएका थिए। 

राजाको प्रत्यक्ष शासनकाल हुँदा २०६१ सालमा उनी झापा जिल्ला विकास समितिको सभापतिमा चयन भएका थिए। उनी जिल्ला सभापतिको रुपमा २०६३ सालसम्म काम गरेका थिए। उनी त्यतिबेला पनि वडा अध्यक्षको रुपमा स्थानीय तहमा थिए।

राजतन्त्र हुँदासम्म झापामै केन्द्रित रहेर राजनीति गरेका लिङ्देन २०६६ सालमा राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। त्यसपछि उनी यसअघिको कार्यकालमा राप्रपाको महामन्त्रीको रुपमा जिम्मेवारी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell