जनकपुरधाम : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रीय कार्यसमितिलाई वितरण गरेको प्रमाणपत्र रद्द गर्ने निर्णय गरेको छ।
समितिले अवैधानिक रुपमा प्रमाणपत्र वितरण गरिएको ठहर गर्दै सो क्षेत्रको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यलाई दिइएको प्रमाणपत्रहरु रद्द गर्ने निर्णय गरेको हो।
निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जारी गरेको विज्ञप्तीमा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको निर्वाचन तत्काल गर्न निर्देशनसमेत दिइएको छ।
मंसिर १५ गते महोत्तरी क्षेत्र नं. ३ को क्षेत्रीय अधिवेशन उद्घाटन भएको थियो। तर, बन्दसत्र समेत सुरु भइसकेको अवस्थामा सहमतिको प्रयास गर्न खोज्दा हो–हल्ला हुँदा बन्दसत्र स्थगित भएको समितिले जनाएको छ। मंसिर १७ गते बेलुकी जनकपुरधाम उपनगरपालिका वडा नं. ८ स्थित आफ्नो घरमा बसिरहेको अवस्थामा मतदान अधिकृतलाई केही अपरिचित व्यक्तिले अपहरण शैलीमा घरबाट अन्यत्र लगेको र उनीसँग भएको प्रमाणपत्र लगायतका कागजातहरु कब्जामा लिएको समितिले जनाएको छ। यसरी कब्जामा लिइएको प्रमाणपत्र आफुखुसी वितरण गरिएको समितिले जनाएको छ।
समितिले निर्वाचनको कुनै पनि प्रक्रिया पूरा नभएको र निर्वाचन नै नभएको अवस्थामा त्यसरी वितरण गरिएका सबै प्रमाणपत्र अवैधानिक भएको भन्दै रद्द गरेको हो।
.jpg)
