PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

कुरै नसुनी रिजाल निस्किएपछि निधि फर्किए काठमाडौं : प्रदेश २ को कांग्रेस अधिवेशन अब देउवा भरोसा !



नेत्र तामाङ

कुरै नसुनी रिजाल निस्किएपछि निधि फर्किए काठमाडौं : प्रदेश २ को कांग्रेस अधिवेशन अब देउवा भरोसा !

काठमाडौं : नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन थप पेचिलो बन्दै गएको छ। देशभरका अरु प्रदेशमा अधिवेशन सकिनै लाग्दा यहाँको अधिवेशन कहिले हुने हो - अझै टुंगो छैन।

प्रदेशका २ मा ८ जिल्ला छन् - जसमध्ये मध्ये सर्लाही, सप्तरी र रौतहटको प्रतिनिधिहरुको सूची नआउँदा अधिवेशन थप अन्योलतातिर धकेलिएको छ।

यो विषयलाई कसरी समाधान गर्ने त? यही विषयमा आइतवार दिउँसो जनकपुरमा रहेको कांग्रेसको धनुषा पार्टी कार्यालयमा बैठक बस्यो। बैठकमा उपसभापति विमलेन्द्र निधि, प्रदेश अधिवेशन संयोजक रमेश रिजाल, चित्रलेखा यादव, रामकृष्ण यादव, उमाकान्त चौधरी, किरण यादव, अजय चौरासिया, कल्याण गुरुङ, रामसरोज यादव लगायत सहभागी थिए।

यसैगरी छलफलमा सप्तरी कांग्रेसका सभापति दिनेश यादव, पर्सा कांग्रेसका सभापति अजय द्विवेदी, महोत्तरी कांग्रेसका सभापति महेन्द्र राय, धनुषाका कांग्रेसस सभापति महेशशंकर गिरी पनि उपस्थित थिए।

बैठकमा निर्वाचन समितिका प्रल्हाद गौतम, विनय सिंह, अरुण यादव पनि उपस्थित थिए।

बैठकमा उपसभापति निधिसहितका नेताहरुले तीन वटा जिल्लाको प्रतिनिधिहरुको नाम नआएको अवस्थामा प्रदेश २ को अधिवेशन गराउँदा अन्याय हुने राय राखे।

'तीनतीन वटा जिल्लाका प्रतिनिधि छुटाएर अधिवेशन गराउँदा पार्टीका नेता तथा कार्यकर्तालाई अन्याय हुन्छ,' निधिको भनाईलाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने।

निधिको भनाईलाई प्रदेश २ सभाका कांग्रेस संसदीय दलका नेता रामसरोज यादवसहित अधिकांश नेताको समर्थन रह्यो। तर, निर्वाचनका लागि खटिएका प्रदेश संयोजक रिजालले उनीहरुको कुरा सुनेनन्। रिजाल कुरै नसुनी बैठकबाट बाहिरिएको एक केन्द्रीय सदस्यले दाबी गरे।

'मलाई पार्टीले खटाएको छ। प्रदेश अधिवेशन नगरी म फर्कन्न भन्दै रिजालजी बैठकबाट बाहिरिनुभयो,' ती केन्द्रीय सदस्यले भने।

अधिवेशन नसकाई नफर्कने रिजालको अडान ठीकै हो नि हैन र? प्रश्नको जवाफमा उनको जवाफ थियो, 'निर्वाचन समितिको तीन जिल्लाको प्रतिनिधिको नाम आउन अझै २ दिन लाग्छ भनेको छ। दुई दिनपछि विवाह पञ्चमी आउँछ। विवाह पञ्चमीले अधिवेशन प्रभावित हुन्छ।'

देउवा निधि टसलले आयो समस्या

प्रदेश २ मा समयमै अधिवेशन गर्न चाहे पनि केन्द्रीय सभापति शेरबहादुर देउवाकै कारण अवरुद्ध भएको निधि पक्षको आरोप रह्यो। त्यसैले, तीन जिल्लाको प्रतिनिधि नआएकाले आफूलाई क्षति बेहोरेर भए पनि केन्द्रीय महाधिवेशन पछिमात्र प्रदेश अधिवेशन गराउने तयारीमा निधिसहित रामचन्द्र पौडेल पक्ष लागेको छ।

'महाधिवेशनपछि मात्र प्रदेश अधिवेशन गराउनुपर्छ भनेर हामीले सुझाव दिएका छौं,' ती केन्द्रीय सदस्यले भने।

यसो गर्दा निधिले नै अधिवेशन नचाहेको जस्तो देखियो नि हैन? जवाफमा उनले भने, 'यो निधिलाई कमजोर बनाउने खेल हो। उहाँ अधिवेशन चाहनुहुन्छ। तर, सबै प्रतिनिधिलाई सहभागी गरेर निष्पक्ष तरिकाले।'

बैठकमा कुरा नमिलेपछि उपसभापति निधि काठमाडौं फर्किएका छन्। महाधिवेशनका लागि निधिको बसाई काठमाडौंबाट जनकपुर सरेको तीन दिन पुगेको थियो।

अधिवेशन नगरी नफर्कने अडानमा संयोजक रिजाल

बैठकपछि पहिलोपोस्टसँग कुराकानी गर्दै प्रदेश २ मा खटिएका संयोजक रिजालले आफू अधिवेशन नसकी नफर्कने बताए। रिजालले भने, 'केन्द्रीय कार्य समितिले खटाएको छ। म निर्वाचन नसकी नफर्कने हो।'

पौडेल र निधि पक्षका नेताहरुले अधिवेशन नचाहेको उनको आरोप रह्यो।

'यहाँ रामचन्द्र र निधिका मान्छेहरुले अधिवेशन चाहेका छैनन्,' रिजालले ठोकुवा गरे। बैठकमा आफूले स्पष्ट कुरा राखेको र कुरा नसुनी निस्केको आरोपको खण्डन गरे।

तीन - तीन वटा जिल्लाबाट प्रतिनिधि नआइ सम्भव हुन्छ त अधिवेशन?

जवाफमा संयोजक रिजालले भने, 'सर्लाहीबाट हो आउन बाँकी। अरुको आउँदैछ। दुई दिनमा आइहाल्छ। २१ गते त अधिवेशन भइहाल्छ नि।'

तर, किन संस्थापन इतरले तपाईको कुरा पत्याइरहेको छैन त? जवाफमा संयोजक रिजालले भने, 'उहाँहरुको अवस्था राम्रो छैन। शेरबहादुर देउवाजीको पक्षमा ६० देखि ७० प्रतिशत मत छ। त्यसैले उहाँहरु डराउनुभएको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell