PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

उपाधि दौडमा अघि बढेजस्तो महसुस भएको छ : आर्मीका प्रशिक्षक न्यौपाने



पहिलोपोस्ट

उपाधि दौडमा अघि बढेजस्तो महसुस भएको छ : आर्मीका प्रशिक्षक न्यौपाने

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले ब्रिगेड ब्वाइज क्लबलाई हराउँदै जारी सिजनमा पहिलो जित निकाल्यो। यसअघिका दुई खेलमा बराबरी खेलेको आर्मीले बीबीसीलाई हराउन ठूलै संघर्ष गर्नुपर्‍यो। उपाधि दाबेदार मानिएको आर्मीलाई यो जितले राहत त मिलेको छ तर उपाधिको यात्रा अझै सजिलो भने छैन।

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आजको जितले टीमलाई ठूलो राहत मिलेको प्रतिकृया दिए।

‘३ अंक महत्वपूर्ण थियो। टाइटल रेसमा अघि बढेजस्तो महसुस भएको छ। तर, स्ट्राइकिङ जोनमा अझै समस्या छ’, प्रशिक्षक न्यौपानेले भने, ‘आजको खेलमा अवसरहरु धेरै बनायौं त्यो महत्वपूर्ण छ। यसअघिको खेलहरुमा अवसर बनाउन सकिएको थिएन। अझ सुधार्दै लैजाने छौं। खेलाडीको प्रदर्शनबाट खुशी छु।’

उनले आर्मीको जितले अंकतालिकामा आफूभन्दा अघि रहेको टिमलाई दवाब सिर्जन गर्न सकेको बताए।

अर्कोतर्फ ब्रिगेड व्वाइजका प्रशिक्षक सनोज श्रेष्ठले खेल बराबरीको भए पनि आफ्ना खेलाडीहरु झुक्किँदा गोल खान पुगेको प्रतिकृया दिए।

‘गेम ५०/५० नै थियो। हाम्रा डिफेन्सहरु अफसाइड भनेर कुद्यो। उनीहरु कन्फ्युज भयो। त्यति नै बेला भरतले गोल गरिदियो। मेहेनत देखिएको छ’, प्रशिक्षक श्रेष्ठले भने, ‘आर्मी जस्तो टिमसँग एक प्वाइन्ट लिने लक्ष्य थियो। टफ फाइट थियो। डिफेन्सको गल्तीले गोल खान पुग्यौं।’

पहिलो हाफमा दुबै टिमले खास उत्कृष्ट अवसरहरु बनाउन नसके पनि दोस्रो हाफको सुरुबाटै आर्मीले खेलमा दवाब बनाएको थियो।

६३ औं मिनेटमा आर्मीका टेकबहादुर बुढाथोकीको प्रहार गोलपोस्ट माथिबाट बाहिरिएको थियो। जारी लिगमा आर्मीको पहिलो जितका लागि निर्णायक गोल आर्मीका कप्तान भरत खवासले ८४ औं मिनेटमा गरे। त्यस्तै, इन्ज्युरी समयमा पनि आर्मीले राम्रा अवसर बनाएको भए पनि बीबीसीका गोलकिपर पूर्ण लिम्बु चेम्जोङले बचाएका थिए।

जितसँगै आर्मीले ३ खेलबाट ५ अंक जोडेको छ।

उपाधिको दाबेदार मानिएको आर्मीले जारी सिजनमा उत्साहजनक सुरुवात गर्न सकेको थिएन। आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको आर्मी दोस्रो खेलमा मछिन्द्र क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो। अर्कोतर्फ, ब्रिगेड ब्वाइजले लिगमा अर्को विभागीय टोली एपीएफलाई ३-२ गोलअन्तरले हराउँदै सानदार सुरुवात गरेको थियो। त्यस्तै दोस्रो खेलमा न्युरोड टीम एनआरटीसँग बराबरी खेलेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell