PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

भारतको पाँचवटा राज्यमा देखियो ओमोक्रन भेरियन्टको संक्रमण, सर्वसाधरणलाई त्रसित नहुन आग्रह



पहिलोपोस्ट

भारतको पाँचवटा राज्यमा देखियो ओमोक्रन भेरियन्टको संक्रमण, सर्वसाधरणलाई त्रसित नहुन आग्रह
Photo : PTI / India TV News

भारतमा कोभिड १९ को ओमोक्रन भेरियन्टको संक्रमण बढ्दै गएको छ। आइतवार एकैदिन १८ जनामा भेरियन्टको संक्रमण देखिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

संक्रमण देखिनेमा राजस्थानको एकै परिवारका ४ सदस्य समेत रहेका छन्। उनीहरु सबैजना दक्षिण अफ्रिकाबाट फर्किएका थिए। उनीहरुको सम्पर्कमा आएका थप ५ जनामा समेत नयाँ भेरियन्ट पुष्टि भएको छ।

यस्तै, आइतवार नै महाराष्ट्रमा पनि ९ जनामा नयाँ भेरियन्टको संक्रमण देखिएको थियो। भारतको राजधानी नयाँ दिल्लीमा पनि १ जनामा ओमोक्रन पुष्टि भइसकेको छ।

पहिलोपटक कर्नाटकमा देखिएको ओमोक्रन भेरियन्टको संक्रमण भारतभर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन विज्ञहरुले आह्वान गरेका छन्। हालसम्म भारतमा ओमोक्रनको कुल २२ केस फेला परेको छ। जसमा सबैभन्दा धेरै केस राजस्थान र महाराष्ट्रमा ९-९ केस छन्। यस्तै, कर्नाटकमा २ जनामा नयाँ भेरियन्ट देखिँदा दिल्ली र गुजरातमा पनि १-१ जनामा ओमोक्रन देखिएको छ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको यो नयाँ भेरियन्टलाई फैलिनबाट रोक्न विश्वभर सतर्कता अपनाउन थालिएको छ। कयौं देशले अफ्रिकी राष्ट्रहरुमा हुँदै आएको हवाई उडान रद्द गरेका छन्। यस्तै, यात्रा प्रतिबन्धहरु समेत फेरि लागू गरेका छन्।

भारतमा पनि ओमोक्रन फैलिएपछि हवाई मार्गबाट आउने यात्रुहरुका लागि नयाँ नियम लागू गरिएको छ। खतराको सूचीमा रहेका देशहरुबाट आउने यात्रुहरुले अनिवार्य पीसीआर परीक्षण गराउन पर्नेछ। खतराको सूचीमा रहेको देशबाट आउनेहरु १४ दिनका लागि 'सेल्फ मोनिटरिङ' मा बस्नुपर्ने हुन्छ। यस्तै, अन्तर्राष्ट्रिय यात्रुहरुले फ्लाइट बोर्ड गर्नु अघि आफ्नो १४ दिनको ट्राभल हिस्ट्री बताउनुपर्नेछ।

भारतमा आज ८ हजार ३०६ नयाँ कोरोना संक्रमित पहिचान भएका छन्। थप २११ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतको केही राज्यमा फेरि कोरोना संक्रमण बढेपछि सावधानी अपनाउन राज्य सरकारले आह्वान गरेको छ। कर्नाटकको विद्यालयमा ४० जना विद्यार्थीसहित करिब ६० जनामा कोरोना संक्रमण देखिएपछि विद्यालयलाई सतर्कता अपनाउन भनिएको छ।  

स्वास्थ्य अधिकारीहरुले ओमोक्रन भेरियन्टको संक्रमणसँगै कोभिड १९ को संक्रमितको संख्या बढेपनि त्रसित नहुन आग्रह गरेको छ। अधिकारीहरुले संक्रमणबाट जोगिन र फैलिनबाट रोक्न अनिवार्य मास्क लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell