PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

चीन-अमेरिका प्रजातन्त्र माथिको वाक युद्ध : भिटोक्रेसी, पैसा नियन्त्रित राजनीति र सीमितको शासन



विधुर ढकाल

चीन-अमेरिका प्रजातन्त्र माथिको वाक युद्ध : भिटोक्रेसी, पैसा नियन्त्रित राजनीति र सीमितको शासन

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘समिट फर डेमोक्रेसी’ का नाममा यसै साता विश्वका ११० बढी देशका सरकार तथा राष्ट्र प्रमुखसँग भर्चुअल सम्मेलन गर्दैछन्।

प्रजातन्त्रको विकास तथा ‘चिनियाँ अधिनायकवाद’ रोक्ने लक्ष्यसहित गरिएको सम्मेलनको प्रभावकारितामाथि एकातिर प्रश्न खडा भइरहेको छ भने अर्कोतिर चीनलाई रोक्ने अमेरिकाको कुटनीतिक चालका रुपमा यसलाई ब्याख्या गरिएको छ।

यस सम्मेलनमा विश्वका ११० मुलुकलाई निम्त्याउँदा नेपालले पनि सम्मेलनमा सहभागिताका लागि निम्तो पायो। नेपालको दक्षिणी छिमेकी भारतले निम्तो पाउँदा उत्तरी छिमेकी चीनले भने निम्तो पाएन। त्यतिमात्र होइन्, यस सम्मेलनमा अमेरिकाले ताइवानलाई निम्तो पठाएर आफ्नो ‘एक चीन नीति प्रतिको प्रतिवद्धता’लाई अमेरिकाले लत्याउँदै गएको छ।

अमेरिकाले प्रजातन्त्रको नाममा चीनमाथि प्रहार गर्दैगर्दा चीनको विदेश मन्त्रालयले अमेरिका माथि प्रजातन्त्रमाथि प्रहार गरेको आरोप लगाएको छ।

शनिवार त्यहाँको विदेश मन्त्रालयले प्रजातन्त्रमाथि दुई वटा दस्तावेज सार्वजनिक गर्‍यो। पहिलो दस्तावेज  ‘अमेरिकामा प्रजातन्त्रको अवस्था’ र दोस्रो ‘चाइना : डेमोक्रेसी द्याट वर्कस्’। ३१ पृष्ठ लामो पहिलो दस्तावेजमा अमेरिकामा प्रजातन्त्रको अवस्थालाई चित्रण गर्दै दोस्रो दस्तावेजमा चिनियाँ प्रजातन्त्रको उदाहरण प्रस्तुत गरिएको छ।

साता अगाडि मात्र बेइजिङ इन्टरनेशनल क्लबले प्रजातन्त्रमाथि संवाद कार्यक्रम आयोजना गरेको थियो। सो सम्वादमा बोल्दै चीनका विदेश मन्त्रालयका सहायक मन्त्री ल युचङले प्रजातन्त्र विश्वमा बृहतरुपमा चर्चामा रहेका र केही देशहरु प्रजातन्त्रलाई 'खोल'का रुपमा प्रयोग गरेको आरोप लगाएका थिए।

‘उनीहरुले प्रजातन्त्रलाई आफ्नो स्वार्थपूर्तिका लागि राजनीतिक अस्त्रको रुपमा प्रयोग गरेका छन् र त्यसले विश्वलाई साना साना टुक्रामा विभाजन सिर्जना गरिरहेका छन्,’ उनले भनेका थिए, ‘यसले प्रजातन्त्रको आत्मालाई नै मार्नेछ।’

चीनले आफ्नो दस्तावेजमा अमेरिकालाई प्रजातन्त्रको परिभाषा सिकाएको छ- ‘प्रजातन्त्र कुनै सजावट अथवा प्रचार स्टन्ट होइन; यो त बरु जनताले व्यहोरिरहेका समस्याहरुको समाधान गर्ने एउटा साधन हो।’

कुनै पनि देश प्रजातान्त्रिक छ या छैन भनेर मूल्याङ्कन त्यहाँका जनताले आफ्नो देश सञ्चालनको शैली हेरेर गरिरहेका छन् या छैनन् भनेर हेर्न आवश्यक रहेकोसमेत चीनले बताएको छ। चीनले कार्यपत्रमा अमेरिकामा रहेको प्रजातन्त्रमा तीनवटा असुविधाहरु रहेको बताएको छ।

पहिलो अमेरिकी प्रणाली नै गम्भीर समस्याले भरिएको आरोप चीनले लगाएको छ। यस समस्याभित्र पनि अमेरिकी स्टाइलको प्रजातन्त्र ‘मनी पोलिटिक्स’को खेलमा परिणत भएको चीनले दावी गरेको छ।

अमेरिकाको २०२० को राष्ट्रपतीय तथा कंग्रेस निर्वाचनमा १४ बिलियन डलर खर्च भएको र जुन २०१६ भन्दा दोब्बर र २००८ भन्दा तेब्बरले बढी भएको दाबी गरेको छ।

त्यस्तै, अमेरिकामा राजनीतिमाथि नियन्त्रण साभ्रान्त वर्गले राखेको र बहुसंख्य समुदायहरु पछाडि पारिएको आरोपसमेत लगाएको छ।

‘सन् १९६० पछि विशेषत, डेमोक्रयाट्स र रिपव्लिकन हरुले एक पछि अर्को आलोपालो शक्तिको अभ्यास गरिरहेका छन्। जुन नाम मात्रको बहुदलीय प्रजातन्त्र हो। बहुदलीय प्रजातन्त्र मरिसकेको छ,’ चीनको दस्तावेजमा भनिएको छ।

चीनले अमेरिकी प्रजातन्त्रलाई हलिउडका सिनेमाहरुमा प्रस्तुत गरिएका पात्रहरुसँग तुलना गरेको छ। ‘तर, चलचित्रमा देखाइएका दृष्यहरु सावधानीपूर्वक प्रस्तुत गरिएका दृश्यमात्र हुन्,’ चिनियाँ दस्तावेजमा भनिएको छ।

चीनले अमेरिकी प्रजातन्त्रको दोस्रो कमजोरी भनेको प्रजातन्त्रको खराब तथा अराजक अभ्यास भएको उल्लेख गरेको छ। अमेरिकामा प्रजातन्त्रको नाममा नश्लीयता बढिरहेको र अल्पसंख्यकमाथि आक्रमण भइरहेको जनाएको छ। साथै, प्रजातन्त्रको नाममा कोभिड-१९ को वियोगान्त व्यवस्थापनलाई समेत अमेरिकी प्रजातन्त्रको असफलताको रुपमा चीनले चित्रण गरेको छ। धनी र गरिब बिचको दुरी बढिरहेको तथा वाक स्वतन्त्रता नाम मात्रको रहेको आरोप समेत चीनले लगाएको छ।

अमेरिकी प्रजातन्त्रको ब्राण्ड निर्यातले गर्दा आएका विनाशकारी परिणाम विश्वले व्यहोरिरहेको आरोपसमेत उसले लगाएको छ।

अमेरिकाले प्रजातन्त्रको नाममा अर्काको देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको आरोप समेत चीनको छ। प्रजातन्त्रको अमेरिकी ब्राण्ड निर्यात गर्ने नाममा विश्वमा मानवीय संकट गहिरिएको उदाहरणको रुपमा चीनले अफगानिस्तानलाई प्रस्तुत गरेको छ। इराक तथा सिरियामा भएका मानवीय संकट तथा हत्या पनि अमेरिकी स्वार्थमा भएको चिनियाँ दस्तावेजमा उल्लेख छ।

त्यस्तै, अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गर्दै प्रतिबन्धको गलत प्रयोग गरिरहेको आरोप चीनले लगाएको छ। अमेरिकाले आफूलाई ‘प्रजातन्त्रको ज्योति’ दाबी गरे पनि त्यही ज्योतिले विश्वव्यापी रुपमा प्रजातन्त्रलाई जलाइरहेको चीनको दाबी छ।

‘लोकतन्त्रको एउटै वा निरपेक्ष मोडेललाई अगाडि बढाउने, अन्तर्राष्ट्रिय सम्बन्धमा लोकतन्त्रलाई हतियार वा हतियारको रूपमा प्रयोग गर्ने वा गुटको राजनीति र गुटको द्वन्द्वको वकालत गर्ने कुनै पनि प्रयास एकता र सहयोगको भावनाको उल्लङ्घन हुनेछ,’ चीनले आफ्नो दस्तावेजमा भनेको छ।

विश्वले यस्ता प्रणालीलाई खारेज गर्नुपर्नेसमेत चीनले भनेको छ।

चीनले अमेरिकी प्रजातन्त्रिक प्रणाली असफल भएको बताउँदै चिनियाँ मोडेलले विश्वमा जनताको पक्षमा काम गर्ने दाबीसमेत गरेको छ।

‘विविधताको धनी विश्वमा प्रजातन्त्र पनि धेरै रुपमा आउँछ। चीनको प्रजातन्त्र पनि सभ्यताको बगैँचामा अन्य देशहरुको साथमा फस्टाउँदै छ,’ चीनले जारी गरेको चिनियाँ प्रजातन्त्रसम्बन्धि दस्तावेजमा भनिएको छ, ‘चीन आफ्नो अनुभव विश्व राजनीतिमा प्रगतिलाई बढाउनका लागि साझेदार गर्न तयार छ।’

चीनको प्रजातन्त्रलाई चीनले ‘चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा सम्पूर्ण जनताको प्रजातान्त्रिक प्रक्रिया’को रुपमा ब्याख्या गरेको छ। त्यस्तै, चिनियाँ प्रजातन्त्र संस्थागत संरचनामा अगाडि बढेको बताउँदै चिनियाँ शासन प्रणाली जनताको प्रजातान्त्रिक अधिनायकत्व चलेको जनाएको छ। जसको नेतृत्व त्यहाँका श्रमिक वर्गले गरिरहेको उल्लेख छ। चीनले प्रजातन्त्रिक एकता र अधिनायकत्वलाई जनताको अवस्थालाई सुनिश्चित गर्ने प्रयोग गरेकोसमेत जनाएको छ।

त्यस्तै, चीनको प्रजातन्त्रिक प्रणालीमा स्थानीय तहमा स्वायत्तता दिइएको समेत दस्तावेजमा भनिएको छ। चीनको प्रजातान्त्रिक प्रणाली ठोस र व्यवहारिक अभ्यासमा आधारित रहेको उल्लेख छ। जनताले प्रजातान्त्रिक निर्वाचनको अभ्यास गरिरहेको र यसले देशको सम्पूर्ण राजनीतिक तथा सामाजिक जीवनका आयामहरुलाई जोडेको दाबी दस्तावेजमा गरिएको छ।

विश्वकै सबैभन्दा ठूलो समुदायस्तरको निर्वाचन चीनमा हुने दाबी गरिएको छ। सन् २०१६ र १७ मा ९०० मिलियन मतदाताहरु त्यहाँको टाउनसीप काउन्टी तहको निर्वाचनमा सहभागी भएको बताइएको छ। जसमा ३२ हजार टाउनसीप र दुई हजार ८५० काउन्टी सहभागी थिए। जसबाट दुई लाख ४८ हजार बढी डेपुटीहरु प्रत्यक्ष निर्वाचित भएको सो दस्तावेजमा उल्लेख छ।

चीनले आफ्नो देशमा अभ्यासमा रहेको प्रजातन्त्र वास्तवमै काम गर्ने प्रजातन्त्र भएको दाबी गरेको छ। जनतामा ब्यापक अधिकार प्रत्यायोजन गरिएको, प्रजातान्त्रिक सहभागितालाई विस्तार गर्दै लगिएको, कुशल राष्ट्रिय शासन व्यवस्था कायम गरिएको, सामाजिक स्थायित्व र सद्भाव कायम रहेको भन्दै चीनले प्रजातन्त्रको नयाँ मोडल विकास गरेको दाबी गरेको छ।

‘अहिले विश्वले अधिक लोकतन्त्र, हतारमा लागू गरिएका प्रजातन्त्र, प्रजातन्त्रको कमजोरी र प्रजातन्त्र नै लोप हुने चुनौतीहरु सामाना गरिरहेको छ, ’ दस्तावेजमा भनिएको छ, ‘प्रजातन्त्रलाई संस्थागत गर्न चीनले छनोट, प्रयोग, अभ्यास र विकासको कठिन प्रक्रिया पार गरेको छ। चीनले राष्ट्रिय अवस्थालाई ध्यानमा राखेर सम्पूर्ण जनताको प्रजातान्त्रिक प्रक्रियालाई विकास गरेको छ।’

चीनले प्रजातान्त्रको आफ्नो माटो अनुकुलको मोडलको विकास गरेको भन्दै चीनको अनुभवबाट विश्वका अन्य देशले पनि सिक्न सक्ने दस्तावेजमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell