PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

कक्षा १२ को प्रकाशित नतिजामा विद्यार्थीको असन्तुष्टि, उत्तरपुस्तिका छिटो चेक गर्नुपर्ने माग



रिना थापा

कक्षा १२ को प्रकाशित नतिजामा विद्यार्थीको असन्तुष्टि, उत्तरपुस्तिका छिटो चेक गर्नुपर्ने माग

पोखरा : कोरोना महामारीका कारण शिक्षा क्षेत्रमा निक्कै असर पुग्यो। कोरोनाकै कारण विभिन्न कक्षा तहको परीक्षा पटकपटक सर्‍यो। अन्य तहको परीक्षासँगै सरेको कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले भदौ ३० गतेदेखि संचालन गर्‍यो।

बोर्डबाट सार्वजनिक भएको सूचना अनुसार पश्चिमाञ्चल माध्यमिक विद्यालयमा कक्षा १२ मा कानुन संकायमा अध्ययनरत रितिका आचार्य परीक्षामा सहभागी भइन्। कोरोनालाई मध्यनजर गर्दै परीक्षा केन्द्र आफ्नै विद्यालय थियो। उनले परीक्षा सहज तरिकाले दिइन्। त्यसैले पनि नतिजा राम्रै आउनेमा विश्वस्त थिइन्।

परीक्षा लिएको दुई महिनामा शुक्रवार परीक्षा बोर्डले नतिजा प्रकाशन गर्‍यो। प्रकाशित नतिजाले आचार्य आश्चर्यमा परिन्। उनको 'सी प्लस' ग्रेड आयो। नतिजा देखेर उनी आफैं छक्क परिन्।

'परीक्षा कसरी दिएको छु के लेखेको छु कति नम्बरको गरेको छु त्यो विद्यार्थीलाई थाहा हुन्छ,' आइतवार पोखरास्थित प्रदेश परीक्षा व्यवस्थापन कार्यालयमा आचार्यले गुनासो पोखिन्।

दिउँसो कार्यालय प्राङ्गणमा गुनासो पोख्ने आचार्यमात्र थिइनन्। उनीसँगै उनका साथी र पोखराका अन्य ३ विद्यालयका विद्यार्थी उपस्थित थिए। विद्यार्थीको साथमा अभिभावक पनि थिए। कानुन, विज्ञान र व्यवस्थापनका विद्यार्थी एकएक गरी जम्मा हुँदै गुनासो गर्नेको संख्या बढेको थियो।

नतिजामा सन्तुष्ट नभए विद्यार्थीले रिटोटलिङ र उत्तरपुस्तिका पुन: परीक्षण गर्न पाउँछन्। विद्यार्थीको माग पुन: उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने थियो। तर, उत्तरपुस्तिका परीक्षणमा गर्नुपर्ने झमेलामा उनीहरु चिन्तित थिए। परीक्षा बोर्डले उत्तरपुस्तिका परीक्षण गर्न सहज पार्नु पर्ने उनीहरुको माग थियो।

नियम अनुसार उत्तरपुस्तिका सिधै फेरि परीक्षण गर्न पाइँदैन। रिटोटलिङका लागि ५ सय रुपैयाँ तिर्नुपर्छ। त्यसमा पनि चित्त नबुझे मात्र उत्तरपुस्तिका पुन: चेकजाँच हुन्छ। पुन: परीक्षण गर्नका लागि एउटा विषयको २ हजार ५०० रुपैयाँ बुझाउनुपर्छ। प्रक्रियागत हिसाबमा जाँदा २० दिन बढी समय लाग्छ। समयको बर्बादी र खर्च सुनेर विद्यार्थी आक्रोशित थिए।

यता १२ को नतिजा निस्किएसँगै त्रिभुवन विश्वविद्यालय स्नातक तहमा भर्ना खोल्ने तयारीमा जुटेको छ। रि-चेकिङ प्रक्रियामा जाँदा स्नातक तहका लागि 'योग्यता परीक्षा' छुट्ने देखिन्छ। जसकारण अध्ययनको एकवर्ष गुमाउने सम्भावना रहेको विद्यार्थी बताउँछन्।

'छिटोछरितो गरी निकालेको नतिजामा हेल्चक्र्याइँ भयो रिचेक र रिटोटलिङ गर्छौ तर छिटो हुनपर्‍यो,' आचार्यले प्रश्न गरिन् ,'आफ्नै पेपर हेर्दा पैसा दिनुपर्ने त्यहीँ नि नतिजा कहिले आउने भर्ना सकिए हाम्रो भविष्य के हुन्छ?'

यसअघिभन्दा अहिले राष्ट्रिय परीक्षा बोर्डले नतिजा छिटो प्रकाशन गरेको छ। नतिजा प्रकाशनमा हतारो गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको उनीहरु आरोप लगाए।

सुरुमा गुनासो लिएर पुग्दा साढे ३ घण्टासम्म कार्यालयका एउटा कर्मचारीले पनि समस्या के हो नसोधेको उनीहरु दुखेसो छ। पछि कार्यालयमा गुनासो गर्ने बढ्दै गएपछि कार्यालय प्रमुखको कोठामा विद्यार्थी, शिक्षक र अभिभावक भेला भएका थिए। त्यहीँ छलफलमा गोमा पौडेलले आफ्नो सन्तानको नतिजा बारे गला भारी गरी सुनाउँदै थिइन्। कालीका बहुमुखी क्याम्पसमा विज्ञान पढेका उनको छोराको नतिजा नसोचेको जस्तै आयो।

'मेरो बच्चा कतिको अब्बल छ विद्यालयलाई थाहा छ। नतिजा आएपछि छोरालाई एकछिन साथ छोडेको छैन, कता के गर्छ डर छ,’ उनी भक्कानिइन्, ‘सर त्रुटि भए सच्याउन पर्‍यो। दु:ख गरी पढाएको छोरा एकवर्ष पछि धकेलिए के हुन्छ अन्यौलमा भइयो।' 

सबैले आफ्नो एकै समस्या सुनाउँदै गर्दा कार्यालयको वातारण तनावपूर्ण बनेको थियो। कोही संयमित भएर समस्या समाधानको बाटो खोजिहाल्नु पर्ने भन्दै थिए। कुनै निकै आक्रोशीत बनेर समस्या सुनाउँदै थिए।

पोखराको भानुभक्त कानुन विद्यालयकी छात्रा अमिशा अधिकारी बोर्डको लापरबाहीले कोही विद्यार्थीको ज्यान गए जिम्मेवारी कसले लिने प्रश्न गर्दै थिइन्।

'कोरोनाले गर्दा सरेको परीक्षाको तनाव छुट्टै परीक्षा दिएपछि आएको नतिजा वेग्लै विद्यार्थीलाई मानसिक तनाव हुन्न,' उनी आक्रोशित सुनिइन्,' पढ्दैको शुल्क महँगो छ। सबैको परिवार धनी हुन्छन् र? अरुको गल्तीमा रिटोटलिङको चर्को शुल्क कसरी बुझाउनु नतिजा छिटो आउने जिम्मेवारी कसले लिन्छ?'

के भन्छ प्रदेश परीक्षा व्यवस्थापन कार्यालय?

प्रदेश परीक्षा व्यवस्थापन कार्यालय प्रमुख विष्णुनारायण श्रेष्ठले गुनासोबारे राष्ट्रिय परीक्षा बोर्डमा छिटो जानकारी गराउने बताए।

'गुनासो सबैबाट आएको छ। काममै छौँ व्यस्तै छौं। छिटोभन्दा छिटो खबर गर्छौं। माथिसम्म समन्वय गर्छौ। मैले भन्ने यत्ति हो,' प्रमुखले भने, 'पीडा नभई आउनुभएको छैन। कानुनभित्र रहेर प्रक्रियागत हिसाबले अघि बढ्छौं।'

विद्यार्थीले उत्तरपुस्तिका रिकेचेकिङ छिटो गर्न आग्रह गरेका छन्। योग्यता परीक्षा नछुटोस् उनीहरुको माग छ। प्रमुखले पनि उनीहरुको गुनासो बमोजिम बोर्ड समक्ष कुरा पुर्‍याउने जनाए ।

'तपाईंहरु सबैको गुनासो सुने बुझेँ। केन्द्रमा छिटो नै यो कुरा राख्छु रिटोटलिङ र रिचेकिङ छिटो गर्न आग्रह गर्छु,' उनले भने।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell