PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अड्डा जमाएर बालकृष्ण खाँण अधिवेशनमा होमिँदा पनि लुम्बिनीमा किन देखियो देउवा पक्ष कमजोर?



रमेश पराजुली

अड्डा जमाएर बालकृष्ण खाँण अधिवेशनमा होमिँदा पनि लुम्बिनीमा किन देखियो देउवा पक्ष कमजोर?

बुटवल : नेपाली कांग्रेसले महाधिवेशनको व्यवस्थापनका लागि बनाएको समितिका प्रदेश संयोजक हुन् बालकृष्ण खाँण। गृहमन्त्रीसमेत रहेका खाँण लुम्बिनी प्रदेशको अधिवेशन गराउन विगत दुई सातादेखि लुम्बिनीको भैरहवामा अड्डा जमाएर बसे। त्यतिमात्र होइन - वडादेखि जिल्ला अधिवेशन सकिँदासम्मै खाँण रुपन्देहीमा नै केन्द्रीत थिए।

पछिल्लो समय रुपन्देहीमा क्षेत्रीय तथा जिल्ला अधिवेशनका दौरानमा कांग्रेस कार्यकर्ताहरु बीच हिंसात्मक झडप पनि भए। त्यस क्रममा घाइते भए कांग्रेसकै कार्यकर्ता। यसको दोष सत्ताको शक्तिमा रहेका गृहमन्त्री खाँणमाथि लाग्दै आएको छ।

जसोतसो, जिल्लामा आफ्ना भाइलाई सभापति बनाउन सफल भए खाँण। तर, प्रदेशमा भने उनको रणनीति सफल भएन। अथवा खाँणको हस्तक्षेपलाई लुम्बिनी प्रदेशका प्रदेश अधिवेशन प्रतिनिधि  तथा महाधिवेशन प्रतिनिधिहरुले खारेज गरिदिए।

लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रममा खाँणले सहमतिमा नेतृत्व चुन्न र सभापतिका पदका उम्मेदवार भरत शाहलाई मत हाल्न मतदातालाई आग्रह गरेका थिए। त्यो आग्रहलाई भने मतदाताले अस्वीकार गरेको मतपरिणामले देखाइसकेको छ।

केन्द्रीय सभापति शेरबहादुर देउवा खेमाका शाह रुपन्देहीको क्षेत्र नं ५ बाट २०५६ सालमा प्रतनिधिसभा सदस्य, २०७० मा संविधानसभा सदस्य र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेता हुन्। त्यस्तै पूर्व राज्यमन्त्री तथा हाल राज्यव्यवस्था समितिको सभापति पनि। केन्द्रीय राजनीतिमा पहुँच राख्ने शाह र खाँण केन्द्रमा संस्थापन पक्षमा देखिए पनि रुपन्देहीमा भने दुबै प्रतिस्पर्धी हुन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लाको नेतृत्व पौडेल समूहले हात पारेको छ। देउवा समूहले रूपन्देही र बर्दियामात्र जितेको छ। बाँकेमा निर्वाचन हुन सकेको छैन। रुपन्देही बाहेकका जिल्लामा निर्वाचन भएको थियो। रुपन्देहीमा शाह र खाँणको सहमतिमा खाँणका भाइले सभापति पाएका थिए।

शाह रुपन्देहीको राजनीतिमा प्रभाव बढी छ। रुपन्देहीको नेतृत्वमा हस्तक्षेप गर्न सक्ने हैसियत राख्ने शाहकै सहमतिमा खाँणका भाइ रामकृष्ण खाँण सभापति हुँदा शाहकी श्रीमती अनिता शाह उपाध्यक्ष भएकी थिइन्। रामकृष्णलाई जिल्ला सभापतिमा सहमति गराएर शाहले प्रदेशको सभापतिमा आफ्नो दाबी प्रस्तुत गरेका थिए। तर, शाहलाई रुकुमका अमरसिंह पुन मगरले गृह जिल्लामै पुगेर पराजित गरेका छन्।

शाहको हार शाहको मात्र पराजय नभइ खाँणको पनि पराजय भएको कांग्रेसका स्थानीय नेताहरु विश्लेषण गर्न थालेका छन्।

पुनको जितसँगै लुम्बिनीमा गृहमन्त्री बालकृष्ण खाँणलाई धक्का लागेको छ। ३ पटक सांसद भइसकेका शाहलाई जिताउन खाँण रुपन्देहीमै अड्डा जमाएर बसेपनि त्यो प्रयास सफल हुन नसक्नुले प्रदेशमा संस्थापन पक्षलाई कमजोरसमेत देखाइदिएको छ।

लुम्बिनी प्रदेश अधिवेशन अन्तर्गत भएको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुनले ८५२ मत ल्याएर विजयी भए। संस्थापन पक्षका शाहले ७६७ मत मात्रै पाएका छन्। पदाधिकारी र सदस्यमा पनि अधिकांश पुनकै प्यानलबाट विजयी भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठ ८४७ र राजु खनाल ७९२ मत ल्याइ विजयी भएका छन्। खनाल संस्थापन निकट मानिन्छन्। अष्टभुजा पाठक ७७२ र सुधाकर पाण्डे ६६१ मत ल्याएर उपसभापतिमा पराजित भए।

उपसभापतिमा पनि रुपन्देहीकै अष्टभुजा पाठक हार व्यहोरे। उनी संस्थापन इतरका थिए। महामन्त्रीमा विक्रम खनाल ८४४ र सुरेन्द्रराज आचार्य ८३९ मत ल्याइ विजयी भएका छन्। दुवैजना पौडेल निकट हुन्। सहमहामन्त्रीमा पनि पौडेल समूहका विष्णु खनाल ८५९, खगराज पाण्डे ७७६ र निमा गिरी ८३० मत ल्याइ निर्वाचित भएका छन्।

प्रदेश पदाधिकारीमा रुपन्देहीबाट संस्थापन इतर पक्षमा परेका पाठक हारेका छन्। यो अधिवेशनमा रुपन्देही पदाधिकारी बिहिनसमेत भएको छ। प्रदेश र केन्द्रको राजनीतिलाई रुपन्देहीका नेताहरुको वर्चस्व रहँदै गर्दा प्रदेश नेतृत्वमा भने रुपन्देहीलाई महाधिवेशन/अधिवेशन प्रतिनिधिहरुले ‘बयकट’ गरिदिएका छन्।

कांग्रेस सभापति देउवाका विश्वासपात्र मानिने खाँण नेपाली राजनीतिमा पकड जमाएका व्यक्ति तथा पार्टीको केन्द्रीय राजनीतिमा शक्तिशाली रहेका खाँण गृह जिल्ला तथा प्रदेशमै कमजोर देखिएका छन्। लुम्बिनी प्रदेशमा जिल्ला सभापति पनि पौडेल पक्ष हावी भएको छ।

तुलनात्मक रुपमा विकट र पार्टीको संगठन कमजोर भएको जिल्ला रोल्पाबाट कांग्रेसले प्रदेश सभापति पाएको छ। ‘आगामी दिनमा पार्टीको नीति कार्यक्रम र विचार बृहत विमर्श गर्न प्रदेश नीति अधिवेशन आयोजना र पार्टी स्कूल सञ्चालन साथै कांग्रेसलाई लुम्बिनीमा बलियो बनाउन योजना बनाएर अगाडि बढ्छु,’ प्रदेश सभापतिमा निर्वाचित भएपछि पुनले भने। 

२०२७ सालमा रोल्पाको गंगादेव गाउँपालिकामा जन्मिएका पुन २०४८ सालदेखि कांग्रेसको राजनीतिमा लागेका हुन्। विगतमा सशस्त्र द्वन्द्वको पीडा भोगेकामध्ये पुन पनि एक हुन्। मुलुकमा शान्ति सम्झौता भएपछि उनी पुनः गृहजिल्ला फर्किएर कांग्रेसको सक्रिय राजनीतिमा लागेका हुन्। सशस्त्र द्वन्द्वको समयमा विस्थापित भएर १० वर्ष जिल्ला बाहिर बसेपनि पुनः जिल्ला फर्किएर आफ्नो राजनीतिक यात्रामा पुन उदाएका छन्।

उनी २०६७ मा रोल्पा कांग्रेसको पार्टी सभापतिमा लडे पनि तीर्थ घर्तीसँग पराजित हुन पुगे।  २०७० सालमा समानुपातिक तर्फबाट संविधानसभा सदस्य र सोही कार्यकालमा राज्यमन्त्री बनेका पुन रोल्पा कांग्रेसका निवर्तमान जिल्ला सभापति हुन्।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा माओवादी केन्द्रका वर्षमान पुनसँग उनी पराजित भएका थिए। लुम्बिनी प्रदेश विभाजनविरूद्ध उनी आन्दोलनमा होमिँदै अखण्ड लुम्बिनी प्रदेश आन्दोलनमा पनि सक्रिय रहेका थिए।

कांग्रेस रोल्पाका सचिव शेरबहादुर थापाले द्वन्द्वकालमा रोल्पाजस्तो ठाउँमा माओवादीसँग लडेर कांग्रेसको राजनीति गरेका पुन सफल नेता भएको बताए। ‘रोल्पामा अहिले कांग्रेसको लागि राजनीतिक वातावरण भने धेरै सहज भएको छ,’ उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell