PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

देउवा सिंगल भिड्न तयार : महाधिवेशन चार दिन बाँकी हुँदा संस्थापन इतरका कता तितरबितर?



नेत्र तामाङ

देउवा सिंगल भिड्न तयार : महाधिवेशन चार दिन बाँकी हुँदा संस्थापन इतरका कता तितरबितर?

काठमाडौँ: नेपाली कांग्रेसलाई १४औँ महाधिवेशनले छपक्कै छोपेको छ। प्रदेश अधिवेशन नसक्दै महाधिवेशन प्रतिनिधिहरूलाई प्रदेशबाट काठमाडौँ दौडनु परेको छ। केही प्रदेशमा सभापति बाहेकका पदाधिकारी र सदस्यहरूको मतगणना जारी छ।

तर केन्द्रीय महाधिवेशन आउन अब मात्र बाँकी छ - चार दिन। अधिवेशनको समय सर्दैसर्दै प्रदेश अधिवेशन गराएको कांग्रेसले केन्द्रीय महाधिवेशनको ग्याप कम हुँदा यतिबेला कतिपयले चटारोमा उम्मेद्वारी घोषणा गर्न थालेका छन्।

कांग्रेस केन्द्रीय महाधिवेशनमा सबैभन्दा आकर्षण र धेरैको चासोको विषय हो - सभापति र महामन्त्री। यी पदमा को आउँछन् - धेरैले धैर्यतापूर्वक पर्खिरहेका छन्। यसपटक सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पुनः नेतृत्वमा आउन चाहेका छन्।

उनले सोमबार बिहान बालुवाटारमा सीमित पत्रकारहरूसँग कुराकानी गर्दै आफू पुनः नेतृत्वमा आउन चाहेको बताए। यसो त देउवाले आफू सभापतिमा उठ्ने तयारी सरकारमा जानुअघिदेखि नै थालेका थिए। कांग्रेसमा अहिले उपसभापति विमलेन्द्र निधिबाहेक संस्थापन पक्षको साथ देउवालाई रहेको छ।

सिंगल भिड्दै देउवा प्यानल

कांग्रेस महाधिवेशनमा सभापति देउवा यसपटक 'सिंगल म्यान'का रूपमा अघि बढेका छन्। निधिबाहेक संस्थापन पक्षमा उनलाई टक्कर दिने कोही देखिएका छैनन्। देउवाका विश्वासपात्र मानिने निधिले यसअघि नै सभापतिमा लड्ने घोषणा गर्दै बानेश्वरमा ब्याङ्क्वेट नै भाडामा लिएका छन्।

सत्ता आरोहणअघि नै आफ्नो पक्षमा प्रशस्त शक्ति आर्जन गरेका देउवा बालुवाटार पसेपछि थप शक्तिशाली बनेका छन्। आफू सभापतिमा पुनः दोहोरिने भएसँगै देउवाले महामन्त्री पूर्णबहादुर खड्का, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, नेताहरू रमेश लेखकलगायतलाई नजिक राखेर भित्रभित्रै तयारी थालिसकेका छन्। देउवाले महाधिवेशन प्रतिनिधिलाई बालुवाटारमा सहजै प्रवेश दिने व्यवस्थासमेत गरेका छन्।

मंगलबार पनि देउवाले आफू एकपटक सभापति भएमा अझै राम्रो काम गर्ने उल्लेख गरेका छन्। देउवाले यो आफ्नो अन्तिम पटकको उम्मेद्वारी भएकोसमेत बताएका थिए। संस्थापन पक्षबाट उनी सभापतिका साझा उम्मेद्वार भए पनि पदाधिकारी र सदस्यहरूमा प्यानल आएको छैन। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनकै पक्षका एनपी साउदले पनि महामन्त्रीमा दाबी गर्ने जनाएका छन्। आफ्नो टिममा हेभिवेट नेताहरू रहेकोले महामन्त्री कसलाई बनाउने भन्नेबारेमा भने देउवालाई अप्ठेरो पर्ने देखिन्छ।

चार दाबेदार के गर्दैछन्?

प्रदेश अधिवेशनपछि थप शक्तिशाली देखिएका छन् देउवा। यसले संस्थापन इतरलाई एक हुन दबाब तुल्याएको छ। तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू एक हुन सकिरहेका छैनन्। वरिष्ठ नेता पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला चारै नेताले सभापतिमा दाबी छाडेका छैनन्। आफूले आफैंलाई बलियो उम्मेद्वारको दाबी गरिरहेका चारै जनाको अर्को मत छ - एक नभए पार्टी देउवालाई बुझाए हुन्छ।

गण्डकी प्रदेशमा मतदानपछि देउवासँग भिड्ने उम्मेद्वारबारे पौडेलले भनेका थिए, ‘त्यहाँ गएपछि सल्लाह गरेर निर्णय गछौँ। हामी बीचमा सल्लाह जे हुन्छ त्यही हुन्छ। साथीहरूको बीचमा सामूहिक सल्लाहबाट जे आउँछ, जे सहमति हुन्छ त्यसैमा हाम्रो उम्मेद्वारी हुन्छ। अहिले म हुन्छु, तँ हुन्छु भन्नु उपयुक्त हुन्न। विशाल समूह एउटै हुन्छ। यहाँ जसरी मिलाइयो, त्यहाँ पनि त्यसैगरी हुन्छ।’

प्रदेश अधिवेशन सकिनसाथ संस्थापन इतर छलफलमा जुटेका छन्। सोमबार पौडेल निवास बोहोराटारमा सभापतिका चार आकंक्षी जुटे। तर सहमति भने हुन सकेन। चारै जनाले सभापति पदमा उम्मेद्वारी दिने दाबी कायमै राखे। साझा सभापति को बन्ने विषयमा मंगलबार दिउँसो १ बजे प्रकाशमान निवास चाक्सीबारीमा थप छलफल हुने कार्यसूची बनेको छ।

धमाधम उम्मेद्वारी

महाधिवेशन नजिकिएसँगै नेताहरूलाई उम्मेद्वारी दिने चटारो परेको छ। संस्थापन इतरबाट गगन थापाले महामन्त्रीमा यसअघि नै उम्मेद्वारी घोषणा गरेका छन्। योबाहेक संस्थापन इतरमा पौडेल समूहबाट बद्री पाण्डेले सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। यता जनजातिबाट सहमहामन्त्रीमा सिन्धुपाल्चोकका सभापति विकास लामाले उम्मेद्वारी दिने घोषणा गरेका छन्। उनी पौडेल समूहका नेता हुन्। उनी विरुद्ध देउवा पक्षका पाँचथरका नेता भीष्मराज अङ्देम्बेले उम्मेद्वारी प्रस्तुत गरेका छन्।

संस्थापन इतर कता तितरबितर?

निधिसँगै केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। केन्द्रीय सभापतिमा गुरुङले उम्मेद्वारी दिएपछि उनलाई पौडेल पक्षले पत्याउन छाडेका छन्। यता संस्थापन इतरकै नेताहरू देउवासँग भिड्न कोही किन तयार भएनन्? भन्ने प्रश्न उठ्न थालेको छ।

'हाम्रा नेताहरूले अझै किन साझा उम्मेद्वार चयन गर्न सकेनन्?' पौडेल पक्षका एक महाधिवेशन प्रतिनिधिले एक केन्द्रीय सदस्यलाई प्रश्न गरे।

ती केन्द्रीय सदस्यले देउवा बलियो बन्दै गएकाले सुरिएर सभापतिमा दाबेदारी प्रस्तुत गरिरहेका नेताहरूको पछाडि हट्न थालेको बताए। 'सभापतिका चारै आकंक्षी बाहिरबाट अहिले आफ्नो दाबी प्रस्तुत गरिरहेका छन्। तर भित्री रूपमा उनीहरू देउवासँग डराइरहेका छन्,' ती केन्द्रीय सदस्यले भने।

देउवाको विकल्प खोज्ने हो भने संस्थापन इतरले निधिसँग मिल्नुको विकल्प नभएको ती नेताको भनाई थियो। निधिसँग एक भएर साझा उम्मेद्वार चयन गर्न भने मुस्किलै पर्ने उनको तर्क थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell