काठमाडौं: नेपाली कांग्रेसले १४ औं महाधिवेशन अवधिभर प्रतिनिधिहरुलाई होटलसम्म आउन जान गाडीको व्यवस्था गरेको छ। सभास्थलबाट होटलसम्म जान सवारी साधनको व्यवस्थापन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए।
त्यसका लागि डेढ सय गाडी तयारी अवस्थामा राखिने बस्नेतले बताए। 'गाडी नहुनेहरुका लागि सभास्थलबाट होटलसम्मका लागि गाडीको व्यवस्था गरिएको छ,' उनले भने।
कांग्रेस महाधिवेशनको मंसिर २૪ गते काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ। बस्नेतले १३ औं महाधिवेशनका बेला पनि आफूले सवारी साधनको व्यवस्थापन गरेको बताए। अहिले पनि बस्नेतको अगुवाइमा सवारी व्यवस्थापन हुन लागेको हो।
प्रत्येकलाई मास्क र सेनिटाइजर
कोभिड संक्रमणलाई मध्यनजर गरेर कांग्रेसले हरेक प्रतिनिधिलाई सेनिटाइजर दिने भएको छ। अनिवार्य मास्कको व्यवस्था गरिएको छ। महाधिवेशन अवधिभरका लागि स्वास्थ्यकर्मी परिचालन गरिएको स्वास्थ्य समितिका संयोजक मोहन बस्नेतले जानकारी दिए। उनका अनुसार स्वास्थ्य परीक्षणका लगि स्वास्थ्यकर्मीको टोली परिचालन गरिने भएको छ। वीर अस्पतालाई केन्द्रित गरेर कुनै प्रतिनिधि बिरामी भए उपचार गरिने छ। त्यहाँ सम्भव नभए अरु अस्पतालमा रेफर गरिने बस्नेतले बताए।
डाक्टरको सल्लाहमा एन्टिजेन
हिजो मात्र स्वास्थ्य मन्त्रालयले नेपालमा पनि ओमोक्रन संक्रमित भेटिएको सार्वजनिक गरेको थियो। यसैलाई मध्यनजर गरेर कांग्रेसले महादधिवेशनमा एन्टिजेन टेस्ट गर्ने भएको छ। तर त्यसका लागि चिकित्सकको परामर्श अनिवार्य गरिएको छ। 'डाक्टरको सल्लाहमा आवश्यक पर्नेलाई एन्टिजेन र अरु खालका परिक्षण हुन्छन्,'बस्नेतले भने।