PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस महाधिवेशनमा सुरक्षा चुनौती : एमालेमा भन्दा प्रहरीलाई कांग्रेसमा किन सकस?



सविन ढकाल

कांग्रेस महाधिवेशनमा सुरक्षा चुनौती : एमालेमा भन्दा प्रहरीलाई कांग्रेसमा किन सकस?

  • सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको १४‍औं महाधिवेशन अन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा मंसिर ७ गते गोली चल्यो। मतगणनमा एक पक्षका उम्मेद्वारले अग्रता लिएपछि स्वर्गद्वारी क्याम्पसमा ढुंगामुढा भयो। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याससँगै गोली समेत चलाउनु परेको थियो। झडपमा प्रर्दशनकारी र सुरक्षाकर्मी समेत घाइते भए।
  • चितवनमा जतिखेर नेकपा एमालेको महाधिवेशन भव्य रुपमा चलिरहेको थियो त्यतिखेर सर्लाहीमा नेपाली कांग्रेसको वडा अधिवेशन जारी थियो। अधिवेशनमा विवाद भयो। त्यहाँ पनि गोली चल्यो। सर्लाहीको बलराको दुई वटा वडाको अधिवेशन नै रोकियो। बलरा नगरपालिकाको वडा अधिवेशनमा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंह आफैँ पुगेका थिए। दुई पक्षबिच त्यहाँ विवाद हुँदा मन्त्रीका अंगरक्षकले फायर खोले। त्यसअघि सदरमुकाम मलंगवामा पनि पार्टीका दुई पक्षबिच विवाद हुँदा मन्त्रीका अंगरक्षकले अर्को खेमाका नेतालाई पेस्तोल ताकेका थिए।

वडादेखि जिल्ला तहसम्मै महाधिवेशनमा गोली चल्नुको अर्थ हो - सन्निकट महाधिवेशनमा सुरक्षा चुनौती।

मंसिर १० गतेदेखि चितवनमा भएको सबैभन्दा ठूलो दल नेकपा एमालेको महाधिवेशन शान्तिपूर्ण रुपले नै सम्पन्न भयो भने काठमाडौंमा नै भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशनमा पनि कुनै त्यस्तै अप्रिय घटना घटेन। तर, मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने कांग्रेस महाधिवेशनलाई भने सुरक्षा चुनौतीका रुपमा लिइएको छ। सत्तारुढ दलको महाधिवेशन र महाधिवेशनको पूर्वसन्ध्यामा चलेका गोलीले सुरक्षा निकायलाई सतर्क बनाएको छ।

काठमाडौंमा नै महाधिवेश हुनु अन्य जिल्लाको तुलनामा सुरक्षित नै मानिन्छ। तर, जिल्ला महाधिवेशनमा भएका गतिविधिले गरेको संकेत फरक छ। त्यही अवस्थाको आँकलन गरेर सुरक्षा रणनीति तयार गर्न प्रहरी अगाडि बढेको छ।

कांग्रेस महाधिवेशनको सम्पूर्ण सुरक्षा व्यवस्था महानगरीय प्रहरी कार्यालय रानीपोखरीले मिलाएको छ। अर्थात् प्रहरीको एआईजीको नेतृत्वमा सुरक्षा व्यवस्था मिलाइएको छ। त्यसको कमान सम्हाल्दैछन् एआईजी हरिबहादुर पालले। नेकपा एमालेको महाधिवेशनमा सुरक्षा व्यवस्था मिलाउन प्रहरी प्रधान कार्यालयले एआईजी सहकुल थापालाई खटाएको थियो।

'हाम्रो सुरक्षा तयारी अन्तिम अवस्थामा छ। केही परिवर्तन गर्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। महाधिवेशन टार्गेट गरेर सुरक्षा चुनौतिलाई मध्यनगर गर्दै सुरक्षा योजना बनाएका छौं,' महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआई पालले भने।

काठमाडौं उपत्यकाभित्र १२ हजार प्रहरीको दरबन्दी भए पनि अहिले ९ हजार प्रहरी फिल्डमा खटिएका छन्। कांग्रेस महाधिवेशनमा १० हजार बढी सुरक्षाकर्मीको आवश्यकता पर्ने देखिएको छ। त्यसैले महानगरीय प्रहरी कार्यालयले थप २ हजार प्रहरी उपलब्ध गराउन हेडक्वाटरलाई पत्रचार गर्ने तयारी गरेको छ।

महाधिवेशनमा सादा पोशाकमा समेत प्रहरी खटिने छन्। त्यस्तै सीसी क्यामराबाट पनि मतदानस्थलदेखि अन्य ठाउँको सुरक्षा निगरानी गरिने छ। सीसी क्यामराको कन्ट्रोल रुम भने महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई बनाइएको छ। अहिले पनि काठमाडौंका केही स्थानमा सीसीक्यामरा जडान छ। त्यसको पनि कन्ट्रोल रुम महानगरीय प्रहरी कार्यालयमा रहेको छ। अहिले सीसी क्यामरा सङ्ख्या थप गर्न लागिएको हो।

'हामीसँग भएको जनशक्तिले मात्र पुग्दैन। स्रोत र साधान थप गर्न प्रहरी प्रधान कार्यालयलाई पत्रचार गर्नेछौं। अहिले नै यति प्रहरी खटिन्छन् भन्ने छैन। तर १० हजार माथि सुरक्षाकर्मी महाधिवेशनको लागि खटाउने छौं,' एआइजी हरिबहादुर पालले भने।

नेपाल प्रहरीमात्र होइन महाधिवेशन सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी समेत खटिने छन्। तीन वटा घेरा बनाएर सुरक्षा ब्यवस्था मिलाइएको छ। पहिलो घेरा अर्थात् ब्यालेट बक्स र मत गणनास्थलमा नेपाल प्रहरी खटाइने भएको छ। त्यस्तै, दोस्रो र तेस्रो घेरामा नेपाल प्रहरीसँगै सशस्त्र र राष्ट्रिय अनुसन्धानका कर्मचारीहरु खटिने छन्।

कहाँ र कसरी हुने टुङ्गो लागिसकेको छैन

नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटी मण्डपमा गर्ने भनिएको छ। तर, मतदानस्थल र मतगणना स्थाल भृकुटीमण्डपको कुन ठाउँमा गर्ने भन्ने टुङ्गो लागिसकेको छैन। यतिखेर प्रहरीलाई सुरक्षा योजना बनाउन समस्या पर्नुको एउटा कारण त्यही हो - कार्यक्रम कहाँ र कसरी हुने भन्ने। पार्टीले निर्वाचन हुने ठाउँ निश्चित गरेपछि प्रहरीले पनि आफ्नो सुरक्षा योजना तय गर्ने भएको छ।

'सुरक्षा योजना तय नै नभएको होइन। तर, केही परिवर्तन गर्नुपर्छ भन्ने हो। आज बेलुकासम्म सबै हाम्रो तयारी पूरा हुन्छ,' एआईजी पालले भने।

महाधिवेशनको लागि भन्नै जिल्लाबाट कांग्रेस नेता तथा कार्यकर्ताहरु काठमाडौं आउन सुरु भइसकेको छ। महाधिवेशन वरपरका होटेलहरु बुकिङ हुन थालिसेका छन्।

कांग्रेसले नेकपा एमालेले जस्तैगरी कार्यकर्ता नउतार्ने बताइसकेको छ। तर, काठमाडौंको केन्द्रमा महाधिवेशनको कार्यक्रम हुँदा धेरै मानिस नउतार्ने भनिए पनि उपस्थित हुनेको संख्या धेरै हुने अनुमान गर्न कठिन छैन।

'नेताहरु बस्ने होटेलदेखि अन्य सुरक्षाका हिसाबले चुनौती देखिएका नेताहरुलाई सुरक्षा मिलाएका छौं,' एआईजी पालले भने।

काठमाडौंको भृकुटी मण्डमा महाधिवेशन हुने भएकाले यस वरपर क्षेत्रका यातायात समेत प्रभावित हुने भएका छन्। सँगै क्याम्पस क्षेत्र रहेकाले ती क्षेत्रमा थप असर पर्नेछ। प्रहरीले काठमाडौंमा हुने ट्राफिक व्यवस्थापन मिलाउन फरक रणनीति तय गरेको छ।

कांग्रेस महाधिवेशनलाई लिएर सुरक्षा निकाय यतिखेर बढी नै सक्रिय छ किनकि नेकपा एमालेको भन्दा नेपाली कांग्रेसको महाधिवेशनमा सुरक्षा चुनौति बढी हुने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell