काठमाडौः काठमाडौ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरेर बिक्री वितरण गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले काठमाण्डौका विभिन्न स्थानमा विशेष अपरेसन सञ्चालन गरी मोटरसाइकल चोरी गर्ने, डिस्मेण्टल गर्ने र बिक्री वितरण गर्ने समूहका ७ जनालाई पक्राउ गरेको हो।
रौतहट चन्द्रनिगाहपुर ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नर कुमार पुडासैनीलाई गत वर्षको माघमा बानेश्वरबाट हराएको प्र ३-०२-०१३प ३६६० नम्बरको २२० सिसिको पल्सर मोटर साइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरेका हो।
थप अनुसन्धानको क्रममा न्युरोडबाट जुम्लाका २० वर्षीय पुन्दलाल बुढालाई मोटरसाइकल सहित पक्राउ गरेको हो। यही मङ्सिर ८ गते बत्तिस पुतलीबाट हराएको बा.प्र.०२-०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा.प्र-०२-०२५प १३९१ प्रयोग गरेको अवस्थामा मोटरसाइकल सहित बुढा पक्राउ परेका हुन।
कीर्तिपुर एरियाबाट काठमाण्डौका वर्ष २२ को सन्तोष महर्जन सहित रौतहट गुजरा नगरपालिका २ घर भएका ३४ वर्षीय ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा नगरपालिका ३ घर भएका ३२ वर्षीय रवि कुमार कुशवाह, उदयपुर घर भएका कमल बहादुर बस्नेत र बारा गढीमाई घर भएका २२ वर्षीय रञ्जित प्रसाद गुप्तालाई पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
पक्राउ परेका चौधरी यसभन्दा अघि पनि मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन्। रौतहटका चौधरी र कुशवाहक मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेको समेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले बताए।
