PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

चाक्सीबारी भेला : कतै कांग्रेसभित्र 'भीम रावल'को खोजी त होइन?



नेत्र तामाङ

चाक्सीबारी भेला : कतै कांग्रेसभित्र 'भीम रावल'को खोजी त होइन?

काठमाडौं : कांग्रेसको १४ औं महाधिवेशन संघारमा छ। तीन दिन बाँकी छँदा पनि नेतृत्वमा संस्थापनइतरका चार दाबेदारले साझा उम्मेद्वार टुंग्याउन सकेका छैनन्।

पार्टी सभापति शेरबहादुर देउवाले सभापतिमा प्रतिस्पर्धाको हाँक दिइसक्दा संस्थापनइतरबाट को भिड्ने? अझै टुंगो लागेको छैन। अर्थात्, संस्थापन पक्षका शेरबहादुर देउवालाई चुनौती दिने कसले?

चितवनमा हालै सकिएको महाधिवेशनमा केपी शर्मा ओलीले एकलौटी गर्न खोजेका थिए। जबरजस्ती सर्वसम्मत आउन खोज्दा भीम रावलले ओलीलाई चुनौती दिए, चुनाव भयो। रावल पराजित भए। भन्नलाई त रावलले एमालेमा लोकतन्त्र मर्न दिएन भनियो तर एमालेमा रावललाई ओलीले ढिम्किने ठाउँ छाडेनन्।

उपाध्यक्षजस्तो पदमा पुगिसकेका रावललाई ओलीले केन्द्रीय कमिटी सदस्यमा सीमित पारिदिए। केन्द्रीय सदस्यमा जिते पनि अध्यक्षमा भिडेर गलेका रावलले त्यो पद लिन ओलीसामू शिर निहुराएनन्। महाधिवेशन अगाडिबाटै च्याप्दैच्याप्दै रावललाई चल्न दिएका थिएनन् ओलीले। चुनावै हुन्न भन्ने माहोल ओलीले बनाएका थिए। जसले गर्दा चुनावी अभ्यासै गर्न पाएनन् रावलले। अनि रावलको मतपरिणाम कसरी सकारात्मक आओस्?

अहिले कांग्रेसमा ठीक त्यस्तै छ परिस्थिति।

वडादेखिको अधिवेशनमा देउवाले एकलौटी गर्दै आएका छन्। घाचघुच र भाँचभुच पार्दै देउवाले प्रदेश अधिवेशन सकाएका छन्। संस्थापनइतरले आफू बलियो रहेको स्थानमा समेत प्रदेश नेतृत्व जोगाउन सकेन, अलमलमै।

प्रदेश १ र वाग्मती प्रदेश त्यसको ज्वलन्त उदाहरण बन्यो। प्रदेश १ मा गुरुराज घिमिरेको बलियो सम्भावना हुँदाहुँदै संस्थापनइतरकै असहयोग रह्यो। यद्यपि, घिमिरेले आफ्नै प्रधानमन्त्रीले सत्ताको नाँगो नाच देखाएको आरोप लगाउँदै घिमिरेले संस्थापन इतरको कमजोरीलाई ढाक्न खोजे। संस्थापनइतरको कमजोरीमै खेलेर देउवा टिमका उद्धव थापाले प्रदेश १ मा बाजी मारे। वाग्मतीमा त्यही प्रवृत्ति देखियो। पदाधिकारीमा संस्थापनइतर पक्षको बलियो उपस्थिति देखिँदा पनि देउवा पक्षका ईन्द्रबहादुर बानियाँले सभापति उछिट्याए।

वडा तहदेखि राम्रो हैन, हाम्रोलाई जिताउने अभ्यासमा लागेको संस्थापनइतर चारतिर बाँडिदा वरिष्ठ नेता रामचन्द्र पौडेल थप कमजोर बनेका छन्। डा शेखर कोइरालाको नेतृत्व रहेको प्रदेश १ र प्रकाशमान सिंहको नेतृत्व रहेको वाग्मतीमा पौडेल पक्षले थप क्षति बेहोरेको छ। नेताहरुको घगडान लडाईले यतिबेला महामन्त्री डा शशांक कोइराला राजनीतिक सिनबाट गुमनाम बनिरहेका छन्। उनी सभापतिका यस्ता उम्मेद्वार हुन् जसले सबैलाई चेतावनी दिइरहेका थिए - मिलेर नगए पार्टी देउवालाई बुझाइदिए हुन्छ।

चितवनमा ओलीले चुनावै नहुने हौवा फैलाएका थिए। देउवाले काठमाडौंमा त्यस्तै प्रचार अभियान चलाएका छन् – पहिलो प्रतिस्पर्धामै ६० प्रतिशतको हाराहारीमा मत ल्याएर दोस्रोपटक सभापतिमा जितिन्छ। बालुवाटारबाट देउवाले त्यसको तयारी गरिरहेकै छन्। त्यसो त देउवाले संस्थापनइतरलाई क्रियाशील सदस्यता वितरणदेखि च्याप्दै ल्याएका छन्। जसले संस्थापनइतरलाई चुनावी तयारीका लागि चल्ने मौका नै मिलेन। प्रदेश २ मा प्रदेश अधिवेशन हुन नदिनुमा एउटा कारण यही हो।

देउवाविरुद्ध लड्न मक्किएको कवज अब कसको शरीरमा लगाउने? अर्थात् नेकपा एमालेको महाधिवेशनका भीम रावल कांग्रेस महाधिवेशनमा कसलाई बनाउने? यहीबारे निर्णय गर्न सभापतिका चार दाबेदार चाक्सीबारीमा जुटेका छन्। हिजो चार नेता बोहोराटारमा जुटेका थिए। बोहोराटारको खासखुसले केही नभएपछि नेताहरु अहिले प्रकाशमान सिंहको निवासमा भेला भएका हुन्। चार नेतालाई संस्थापनइतरको दोस्रो तहका नेताहरुले दबाव दिइरहेका छन् – छिटो कमान्डर तोक्नु।

महामन्त्रीमा उम्मेद्वारी दिइसकेका गगन थापा पनि दोस्रो पुस्ताको टिममा छन्। महामन्त्रीमै दाबी गरेका तर उम्मेद्वारी घोषणा नगरिसकेका धनराज गुरुङ, चन्द्र भण्डारीहरु यहीँ समूहमा छन्। सहमहामन्त्री दाबी गरेका बद्री पाण्डे, जीवन परियार, दीपक गिरी पनि दबाव दिने टोलीमा छन्। उनीहरुको माग हो – कमान्डर छिटो तोकियोस्।

तर, एमालेमा जसरी ओलीले रावललाई किनारा लगाए, त्यसैगरी आफूलाई किनारामा पुर्‍याउने हो कि भनेर सभापतिका दाबेदारहरु बिच त्रास उत्तिकै छ। प्रदेशको चुनावी परिणाम आउनसाथ वरिष्ठ नेता पौडेलले निरुत्साहित नहुन आग्रह त गरे तर आफैँ भने निराशान्मुख देखिए।

अहिले कांग्रेस वृत्तमा चर्चा छ – ओलीविरुद्ध रावल झैं देउवाविरुद्ध को उभ्याउने? त्यो उम्मेद्वारी कांग्रेसमा देउवाको हप्कीदप्की र निरंकुशताविरुद्ध बलियो उभार भएर आउने हो कि एमालेमा रावलको उम्मेद्वारजस्तो मात्र हुने हो? त्यो हेर्न भने केही दिन पर्खैनैपर्ने हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell