PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

बारलाई ओलीको सन्देश : प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान हुँदैन



पहिलोपोस्ट

बारलाई ओलीको सन्देश : प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान हुँदैन

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई मात्रै महाभियोग लगाएर न्यायालयमा देखिएको समस्या समाधान नहुने बताएका छन्।

आज बालकोट पुगेका नेपाल बार एशोसिएशनका पदाधिकारी र सदस्यहरुसँगको छलफलमा ओलीले जबराको राजीनामा वा महाभियोगले मात्रै न्‍यायिक सुधार नहुने बताएका हुन्।

जबराविरुद्ध चरणबद्ध आन्दोलन गर्दै आएको बारले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेतासँग भेटेर अदालतको समस्या र बारको माग बारे अवगत गराएका थिए। आजको भेटमा बार सदस्यहरुले ओलीलाई जबरालाई महाभियोग लगाउन सहयोग मागेका थिए।

 वरिष्ठ अधिवक्ता शम्भु थापाले ओलीलाई जबरालाई महाभियोग लगाउनु पर्ने कारणका बारेमा ब्रिफ गरेका थिए। जवाफमा ओलीले भने, 'प्रधानन्यायाधीशलाई महाभियोग लगाउँदैमा वा उनको राजीनामाले मात्रै न्याय क्षेत्रमा देखिएको समस्या सुधार हुँदैन।'

बारसँग ओलीले आफ्नो पुरानै अडान पनि दोहोर्‍याए। ओलीले महाभियोग लगाउने भए असार २८ मा भएको फैसला गर्ने सबै न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने बताउँदै आएका छन्। बारसँग पनि उनले फैसला गर्ने सबै न्यायाधीशलाई महाभियोग लगाउन पर्ने बताएका थिए।

ओलीले प्रधानन्यायाधीशमाथि महाभियोग नै लगाउनुपर्ने अवस्था भए पहिला सत्तारुढ गठबन्धनले प्रस्ताव ल्याउनपर्ने बताए। गठबन्धनले प्रस्ताव ल्याएमात्रै आफूहरुले त्यसबारेमा राय बनाउने सन्देश ओलीले बार पदाधिकारीलाई दिएका थिए।

'उहाँहरुसँग बहुमत छ। हामीसँग संख्या छैन। उहाँहरुले प्रस्ताव ल्याए हामी छलफल गरेर निष्कर्ष निकाल्छौं' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell