PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

मिनी महाधिवेशन मानिएको वाग्मतीमा किन हार्‍यो पौडेल पक्ष, पदाधिकारीमा बलिया केसी प्यानल कसरी पराजित भए बानियाँसँग?



निशा गुरुङ

मिनी महाधिवेशन मानिएको वाग्मतीमा किन हार्‍यो पौडेल पक्ष, पदाधिकारीमा बलिया केसी प्यानल कसरी पराजित भए बानियाँसँग?

हेटौंडा : नेपाली कांग्रेसको वाग्मती प्रदेश कार्यसमितिको निर्वाचित पदाधिकारीको संख्या हेर्ने हो भने सभापतिबाहेक जगदीश्वरनरसिंह केसी प्यालनका धेरै छन्। निर्वाचित उपसभापति मोहनबहादुर बस्नेत, महामन्त्री कञ्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोलर ऋषिराम घिमिरे केसी समूहकै हुन्।

यता उपसभापति चन्द्र महर्जन, महामन्त्रीराजु श्रेष्ठ र सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ भने सभापतिमा निर्वाचित ईन्द्रबहादुर बानियाँ समूहका हुन्। पदाधिकारीमा चार जनाको जित निकाले पनि केसी बानियाँसँग १८५ मतले पराजित भए।

पहिलोचरणको निर्वाचनबाट भीमसेनदास प्रधान बाहिरिएसँगै भएको दोस्रो चरणमा भएको मतदानमा कुल २ हजार २५ मत खसेकोमा १३ मत बदर भएको थियो। जसमा बानियाँले १ हजार ८५ मत प्राप्त गरेका थिए भने केसीले ९२७ मत प्राप्त गरे। योसँगै वाग्मती प्रदेशको कार्यसमितिको पदाधिकारीमा बानियाँ र केसीको संख्या चार-चार जना देखिन्छ।

किन पराजित भए केसी?

वाग्मती प्रदेशको अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी प्रकाशमान सिंहले पाएका थिए। सिंह आक्रामक रुपमा अघि बढिरहेका छन् सभापति शेरबहादुर देउवाविरुद्ध। यही प्रदेशमा संस्थापनइतरबाट गगन थापा पनि देउवाविरुद्ध खरो उभिने नेता हुन्। दुई नेताको बलियो उपस्थिति, केसी परिवारको लिगेसी र वरिष्ठ नेता रामचन्द्र पौडेलको साथ रहँदा पनि यो साख भने संस्थापनइतरले जोगाउन सकेनन्। प्रदेशको अधिवेशनलाई कांग्रेसको मिनी महाधिवेशनका रुपमासमेत हेरिएको थियो।  

कृष्णप्रसाद सिटौला पक्षको भीमसेनदास प्रधान संस्थापन पक्षमा उभिँदा पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र बानियाँले सहज जित निकालेका हुन्। यो साख जोगाइदिएकोमा देउवा बानियाँसँग खुसी छन्।

संस्थापनइतर बलियो हुँदाहुँदै...

केसीको हार संस्थापनइतरकै कमजोरी भएको एक महाधिवेशन प्रतिनिधिले बताए। संस्थापनइतरका ती प्रतिनिधिले भने, 'यो संस्थापनइतरकै कमजोरी हो। जित्ने अवस्था हुँदाहुँदै केसीको कमजोरीले बानियाँको पक्षमा माहोल बनिदियो।'

संस्थापन पक्षका महाधिवेशन प्रतिनिधि भने यसलाई हारजितको रुपमा लिन नहुने बताउँछन्। कांग्रेसका मतदाताले प्यानलको आधारमा मात्र नभई उम्मेदवारको लोकप्रियता र आवश्यकताको आधारमा मतदान गरेको परिणामबाटै देखिएको प्रदेश प्रतिनिधि नवराज लामाले बताए।

‘सबै एउटै प्यानलबाट पदाधिकारी आउनुपर्छ भन्ने हुँदैन,'अर्कै प्यानलमा पनि सक्षम व्यक्तिहरु हुन्छन् र सबैले प्यानल पनि हेर्दैनन्। उम्मेदवारको योगदान र उसको लोकप्रियतालाई हेरेर कांग्रेसमा मत दिइन्छ,’ लामाले भने।

वाग्मती प्रदेशमा कांग्रेसको पदाधिकारीसहित ९१ सदस्यीय कार्यसमिति बन्नेछ। पदाधिकारीको मतपरिणाम आए पनि सदस्यहरुको भने मतगणना जारी रहेको छ। सदस्यमा पनि मिश्रित परिणाम आउने अनुमान नेताहरुले गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell